सिनेमा

‘फूलबारी’ प्रचार कथा, न निर्देशक छन् साथमा न कलाकार

इकागज |
माघ २८, २०७९ शनिबार १५:३५ बजे

काठमाडौँ - इतिहासकै सर्वाधिक महंगो फिल्म होला रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ । यो फिल्मको निर्देशनका लागि मात्र रामबाबु गुरुङले ७० लाख लिएको चर्चा थियो । अमेरिकाबाट आएका छायांकारको भागमा मात्र ४० लाख परेको चर्चा थियो ।

त्यसैगरि फिल्मको सानोतिनो भूमिका गर्ने कलाकारले पनि यो फिल्मबाट राम्रो पैसा पाएका थिए । यसरी कलाकारदेखि प्राविधिकलाई समेत मन खोलेर खर्च गरेको फिल्मले अपेक्षित उत्सुकता भने जगाउन सकेको छैन । फिल्मका कार्यकारी निर्माता तथा कलाकार मनिष ढकाल कालीप्रसाद बास्कोटा र प्रियंका कार्कीलाई लिएर मोफसल दौडाहामा छन् तर यो दौडाहाले फिल्म दर्शकसम्म पुर्याउन सफल भएको धेरैले महसुस गरेका छैनन् । 


अझ रिलिजको समयमा फिल्मका मुख्य कलाकार विपिन कार्की ‘फूलबारी’ छाडेर ‘भगवत् गीता’को सुटिङका लागि जनकपुर पुगेका छन् । अतिथि भूमिकामा रहेका दयाहाङ राई त फिल्मको प्रचारमा देखिएकै छैनन् । फिल्ममा रहेका बाँकी कलाकार उति चिनिएका छैनन् ।

अझ रिलिजको अन्तिम हप्ता बाँकी रहँदा निर्देशक नै दुबई पुगेका छन् । रामबाबु गुरुङ चलचित्र विकास बोर्डले आयोजना गर्न लागेको सिनेमा फेस्टमा सहभागी हुन दुबई पुगेका छन् । निर्माणमा ४ करोड खर्च गरेको भनिएको फिल्म यसरी रिलिजको समयमा टुहुरो बनेको छ । न निर्देशकले साथ दिएका छन् न कलाकारले । 


Author

थप समाचार
x