सिनेमा

जलवायु परिवर्तनका मुद्दा बुझाउन सिनेमाको भूमिका

शिव पुरी |
फागुन १, २०७९ सोमबार १३:२ बजे

ओहो स्थिति त निकै भयावह भैसकेको रहेछ, दोलखाको फिल्म स्टुडियो निर्माणको प्रोजेक्ट छोडेर जलवायु परिवर्तनको मुद्दालाई पो अगाडि बढाउनु पर्ला जस्तो लाग्यो त... । जलवायु परिवर्तनको विषयलाई चलचित्रमा कसरी समावेश गराउन सकिन्छ भन्ने विषयमा भएको २ दिने कार्यशालामा बोल्दै वरिष्ठ चलचित्रकर्मी नीर शाहले उक्त भनाई राखेका थिए । 

विश्वका दुई विशाल विकसित देशको बीचमा च्यापिएको हाम्रो जस्तो सानो देशमा बसेर यस्तो कुरा गर्नु भनेको सयौं हेक्टरमा विषादी प्रयोग गरेर व्यवसायिक खेती गरिएको ठाउँको बीचमा बसेर सानो भूभागमा अर्गानिक खेती गर्छु भनेजस्तो भएन र भनी प्रतिप्रश्न गरे, निर्देशक प्रदिप भट्टराइले ।


विश्वमा भइरहेको जलवायु परिवर्तनमा चीन एक्लैले ३३ प्रतिशत र भारतले ७ प्रतिशत कार्बन उत्सर्जन गरिरहेको ठाउँमा हामीजस्तो ०.०२ प्रतिशत कार्बन उत्सर्जन गर्ने देशको यो मुद्दामा के नै भूमिका रहन्छ र भन्ने प्रसंगमा उनले यो भनाइ राखेका थिए । सोही कार्यक्रममा निर्माता खगेन्द्र लामिछानेले निर्माण गर्न गइरहेको चलचित्र ‘पशुपतिप्रसाद २’ मा प्लास्टिक बोटलको प्रयोग नगर्ने घोषणा गरे भने यसबाट कम्तिमा पनि ३००० देखि ३५०० प्लास्टिक बोटलको बचत हुने प्रारम्भिक अनुमान प्रस्तुत गरेका थिए ।

यसको साथै तयार भैसकेको चलचित्रको स्क्रिप्टमा पुनः वातावरणीय प्रभावलाई मध्यनजर गरी चरित्रको आनीबानीमा परिवर्तन वा सुधार गर्ने प्रतिवद्धता जनाएका थिए ।  निर्देशक दीपेन्द्र के. खनालले कार्यशालामा बसेर जलवायु परिवर्तनको कारण, असर र आफूले गर्नुपर्ने व्यवहार परिवर्तनको विषयलाई मनन गर्दा चलचित्रमा धेरैकुरा सम्बोधन गर्न सकिने रहेछ भनेर अनुभुत भएको अवगत गराएका थिए ।  कार्यशालामा करिब ४० जना देशकै अब्बल निर्देशक, निर्माता तथा लेखकहरूको सहभागिता रहेको थियो ।

चलचित्र ‘महापुरुष’लाई नेपालको पहिलो कार्बन न्युट्रल फिल्मको रुपमा चर्चा गरिएको थियो । यसका निर्माता मध्येका एक दीपेश खत्रीले आफूहरूले सुटिङको समयमा सकभर कार्बन उत्सर्जन गर्ने सामाग्री प्रयोग नगरेको तर सुटिङमा यो सबै कुरा सम्भव नहुँदा उत्सर्जन भएको कार्बनको हिसाब किताब गरी सो बराबरको सोलार प्यानल र रुख रोप्ने काम गर्न लागिएको जानकारी गराएका थिए । 

निर्माता खत्रीले यो सब काम गर्न  कस्तो अप्ठ्यारो स्थिति आउनेरहेछ  भनेर यसको अनुभव तथा वातावरणीय लेखापरिक्षण कसरी भयो र आउँदा दिनमा अन्य चलचित्र निर्माण गर्दा कसरी थप व्यवहारिक ढंगले यसमा भूमिका खेल्न सक्छन भनेर अनुभवको विषयमा पनि आफ्नो अनुभव सुनाएका थिए । 

कार्यक्रममा लेखक तथा पत्रकार सामीप्यराज तिमल्सेनाले चलचित्र भनेको मनोरन्जनको विधा हो यसको पहिलो प्राथमिकता मनोरन्जननै हुनुपर्छ, प्रोपोगाण्डालाई समात्यो भने यसले दर्शकको साथ पाउन सक्दैन भन्दै कुशलतापुर्वक जलवायु परिवर्तनको विषयलाई चलचित्रमा कसरी समावेश गर्न सकिन्छ भनेर उदाहरणसहित कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यशालामा दीपेन्द्र लामा, मिलन चाम्स, शिवम अधिकारी, लक्ष्मन सुवेदी, प्रदिप भारद्घाज, ऋषी लामिछाने, मनोज बाबु पन्त लगायतले जलवायु परिवर्तनलाई सिनेमामा सम्बोधन गर्ने विषयमा धारणा राखेका थिए भने ओस्कार कलेज अफ फिल्म स्टडिजका विद्यार्थीहरूले समेत सुक्ष्म तरिकाले जलवायु परिवर्तनको विषयलाई कसरी लेखन कार्यमा समावेश गर्न सकिएला भनेर आफ्नो विचार प्रस्तुत गरेका थिए ।

सहभागी सबैको निचोड यहि थियो कि हामीले आप्mनो व्यक्तिगत आचरण परिवर्तन गर्नुका साथै आप्mनो परिवार, समाज गर्दै देशैभरि र अन्तराष्ट्रिय स्तरमा समेत यस बारेमा सचेत गराउन आवश्यक रहेको छ । अहिले हामी नगन्य कार्बन उत्सर्जन गर्ने देश भनेर चिनिएता पनि आखिरमा यसको सवैभन्दा पहिला असर भोग्नुपर्ने देशमा पर्दोरहेछौं ।

यसबारेमा हामीले अहिले नबोले भोलि हाम्रा पुस्ताहरूले हामीलाई प्रश्न गर्ने सक्छन्– यस्तो भयावह बन्दै गएको जलवायु परिवर्तनको मुद्दामा तपाईँको भूमिका के थियो ? भोलि आउने यस्ता प्रश्नहरूको उत्तर दिन नसकेर नाजवाफ बन्नुभन्दा अहिलेदेखि नै आफ्नो तर्फबाट प्रयास गर्नुपर्ने धेरैको धारणा थियो ।  चलचित्र जस्तो सामाजिक सचेतना तथा व्यवहार परिवर्तनको सशक्त माध्यमको क्षेत्रमा काम गरिरहँदा चलचित्रकर्मीले खेल्ने भूमिका महत्वपूर्ण हुने सबैको निचोड थियो । नेपाल चलचित्र निर्देशक समाजको आयोजना तथा यूएनडीपीको सहयोगमा ‘कोडिङ क्लाइमेट चेन्ज इनटु फिल्मस्’ नामक दुई दिने कार्यशाला पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठमा गत माघ २४ र २५ गते सम्पन्न भएको थियो ।


Author

शिव पुरी

पुरी प्रशिक्षार्थी पत्रकार हुन् ।


थप समाचार
x