‘मनसँग मन’ले पनि टारेन पुष्पको हिटको खडेरी, वर्षका तीनै फिल्म असफल
काठमाडौँ -म्युजिक भिडियो हुँदै सिनेमामा प्रवेश गरेका पुष्प खड्का अनमोल केसी र प्रदीप खड्कापछिको ठाउँ लिने तयारीमा थिए । यसका लागि उनले पारिश्रमिक बढाउनेदेखि व्यक्तिगत प्रचार प्रसारमा पनि मिडियामा जोड लगाएका थिए । तर फिल्म छनौटमा उत्तिकै मेहनत नगर्दा, एकै साल उनले तीन तीनवटा फ्लप फिल्मको चाङ लगाएका छन् ।
त्यसो त पुष्पले अहिलेसम्म आफ्नै बलबुतामा हिटै फिल्म त दिएका छैनन् । ‘अझै पनि’मा सहायक भूमिका हुँदै ‘दर्पणछायाँ २’बाट सोलो हिरो भएका पुष्पले त्यसयता खेलेका फिल्म बक्स अफिसमा हिट मानिएका छैनन् तर म्युजिक भिडियोमा भने पुष्प चलेका कलाकार हुन् । यसैका आडमा फिल्मतिर छिरेका उनले फिल्ममा म्युजिक भिडियोमा जस्तो सफलता चाख्न पाएका छैनन् ।
यो साल उनका ‘कृष्ण लीला’, ‘तिम्रो मेरो साथ’ र ‘मनसँग मन’ गरी तीन फिल्म आए । ‘कृष्ण लीला’मा नयाँ अभिनेत्री श्रद्धा क्षेत्रीसँग जोडी बनाए पनि यो फिल्मको गीत संगीत र प्रचार प्रसारले राम्रै छनक देखाएको थियो । तर भदौ ३ मा रिलिज भएको फिल्मले अपेक्षित दर्शक पाएन ।
योपछि साम्राज्ञीराज्य लक्ष्मी शाहसँग जोडी बाँधेको ‘तिम्रो मेरो साथ’बाट पुष्पलाई ठूलो आश थियो । यो फिल्म हिट बनाउन पनि निर्माताले कुनै कसर बाँकी राखेका थिएनन् । तर यो फिल्मले पनि पुष्पलाई निराश नै बनायो । ‘मनसँग मन’सम्म आउँदासम्म त पुष्पले आशै मारिसकेका थिए त्यसैले यो फिल्मको पुष्पले खासै प्रचार पनि गरेनन् । पुष्पसँगै दर्शकले पनि यो फिल्ममा मनोरञ्जनको कुनै आशा राखेनन् । फलतः दर्शक पनि हल गएनन् । परिणाम पुष्पको यो फिल्मले पनि उनको संख्या मात्र बढायो । एक वर्षमै तीन तीनवटा फिल्म नचलेपछि पुष्पले के सोचिरहेका होलान्, सोचनीय छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया