‘बुलाकी’ र ‘जारी’ : उस्तै कथा एकै दिन
काठमाडौँ - सुरक्षा अभीनित ‘बुलाकी’ले कर्णालीको परिवेशमा बाँझोपन खेपिरहेकी महिलाको कथा प्रस्तुत गर्छ । केही दिनअघि सार्वजनिक भएको टिजरमा बाँझोपनसँग जारको सन्दर्भ पनि समेटिएको छ । जार अर्थात् श्रीमतीको नयाँ लोग्ने । टिजरमा यो सन्दर्भले पनि ठाउँ पाएको छ । यो फिल्म वैशाख १ गते सार्वजनिक हुँदैछ ।
यता भर्खरै सार्वजनिक ‘जारी’को टिजर त यही कथामा आधारित रहेको छ । फिल्मको नामैले पनि यो फिल्म श्रीमान्–श्रीमतीको द्वन्द्वमा आधारित रहेको स्पष्ट हुन्छ ।
यसरी दुवै फिल्मको टिजर सार्वजनिक भएसँगै दुवैको कथा एकै भएको भन्दै टिप्पणी सुरु भएको छ । उस्तै कथा भएका दुई फिल्म अझ एकै दिन रिलिज हुने भएपछि दर्शकलाई दुवै फिल्म हेर्ने कि एउटा छान्ने दुविधा हुने चर्चा सुरु भएको छ । किनकि यो फिल्म पनि वैशाख १ मै रिलिज हुँदैछ ।
टिजरमा केही दृश्य दुरुस्त भएको पनि दर्शकको टिप्पणी छ । यसमा पनि पर पुरुषसँगको सम्बन्धका कारण दुवै फिल्मका महिला पतिबाट प्रताडित छन् । जहाँ ‘बुलाकी’की सुरक्षा पतिबाट मानसिक रुपमा पीडित छिन् भने जारीमा शारीरिक हिँसा भएको देखिन्छ । ‘बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् भने ‘जारी’लाई उपेन्द्र सुब्बाले ।
'जार'को कथामा सीमापारि सिक्किमबाट पनि 'जार' नाममै एउटा फिल्म बनेर तयार रहेको छ । इन्द्रबहादुर राईको कथामा आधारित यो सिनेमामा गीताञ्जली थापा,सौगात मल्ल र अनुपविक्रम शाहीको अभिनय रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया