सिनेमा

लगातारका दुई फ्लपले दबाबमा साम्राज्ञी : पुनरागमन सम्भव छ ?

इकागज |
फागुन ४, २०७९ बिहीबार १५:१७ बजे

काठमाडौँ - हुन त नेपालमा फिल्म हिट हुनु चाहिँ अचम्मको कुरा फ्लप हैन । किनकि वर्षमा रिलिज हुने १ सय हाराहारी सिनेमामध्ये मुस्किल ५ वटा फिल्म हिट हुन्छन् । तर पनि कलाकारलाई यही ५ भित्र पर्ने दबाब हुन्छ । अझ बजारमा स्टारडम भएका मानिएका कलाकारका फिल्म फ्लप हुँदा चाहिँ दबाब बढ्छ । अहिले साम्राज्ञीराज्य लक्ष्मी शाह यही दबाबमा छिन् । 

हुन त साम्राज्ञी अभीनित पहिलो र दोस्रोबाहेक कुनै पनि सिनेमाले हिट लेख्न पाएका छैनन् । त्यसयता रिलिज भएका साम्राज्ञीका सबै फिल्म फ्लप नै हुन् । यसमा ‘इन्टु मिन्टु लण्डनमा’लाई शंकाको सुविधा छ । यो फिल्म हिट र फ्लपको बीचमा थियो । तर त्यसयताका फिल्मलाई भने फ्लपकै श्रेणीमा राख्ने गरिएको छ । 
पछिल्लो महिना साम्राज्ञी अभीनित दुई फिल्म एक महिनाका कमको अन्तरालमा प्रदर्शनमा आए । दुवै फिल्मबाट साम्राज्ञी आशावादी थिइन् । आफूले अभिनय गरेको फिल्ममध्ये कुनैले साम्राज्ञी स्वयंलाई रुवाएको थियो भने भावुक पनि बनाएको थियो । तर साम्राज्ञीको यो इमोसन दर्शकले भने महसुस गरेनन् । फलत ः उनका पछिल्ला दुई फिल्म ‘तिम्रो मेरो साथ’ र ‘ह्यारीकी प्यारी’ बक्स अफिसमा कमजोर रहे । 


साम्राज्ञीले एउटा फिल्ममा काम गरेको १५ लाख रुपैँया लिने गरेकी छिन् । नेपालको सन्दर्भमा कलाकारले लिने यो पारिश्रमिक बढी भएको धेरैको टिप्पणी छ । बढी पैसा माग्ने कलाकारलाई आफ्नै बलबुतामा निश्चित दर्शक हलमा ल्याउनुपर्ने अदृश्य चुनौती हुन्छ । साम्राज्ञीलाई पनि यो चुनौती थियो । तर दुवै फिल्ममा उनको उपस्थितिको असर देखिएन । यसले साम्राज्ञीको आगामी यात्रा कठिन बनेको छ । दुइटा फिल्म नचलेपछि नयाँ फिल्मको प्रस्ताव लिएर जाने निर्मातालाई उनले फिल्म खेल्न मन लाग्न छाडेको बताउने गरेकी छिन् । सम्भवतः साम्राज्ञीमा यो भावना आउनमा फ्लपको श्रेणीमा थुप्रिँदै गएका फिल्मको योगदान पनि छ ।

यसले पनि साम्राज्ञी दबाबमा रहेको स्पष्ट गर्छ । तर यसका निकाल्नलाई पनि साम्राज्ञीलाई एउटा जबर्जस्त हिट चाहिन्छ । तर तत्कालै उनीसँग त्यस्ता फिल्म छैनन् । काम गरेका मध्ये ‘लन्डन टु पेरिस’ रिलिजका लागि बाँकी छ जुन फिल्म निर्माणको क्रममा नै रोकिएको चर्चा छ । यो हिसाबले हेर्दा अब साम्राज्ञीसँग दुइटा विकल्प छन्, अहिले गरे जस्तै फिल्म गरिरहने वा ब्यानर या टप हिरोसँग सहकार्य गर्ने । उनले के छनौट गर्छिन्, हेर्न बाँकी छ । 


Author

थप समाचार
x