सिनेमा समीक्षा
ताजा हैन बासी फूलको फूलबारी
समाजशास्त्रीहरू परिवर्तनलाई सामाजिक संस्थाका माध्यमबाट उधिन्न रुचाउँछन् । यसमा परिवार र विवाह उनीहरूले गहिरो गरी हेर्ने संस्था हुन् । खासगरी एसियाली समाजमा परिवारिक मूल्य मान्यताको विशिष्ट ठाउँ छ, पश्चिमा समाजको तुलनामा । यसैलाई मियो बनाएर सन् ७० को दशकसम्ममा बलिउडले थुप्रै मर्मस्पर्शी फिल्म बनाएको थियो । ८० को दशकमा अमिताभ बच्चनको प्रवेशसँगै परिवार छाडेर बलिउड फिल्म साहु महाजन र मजदुरबीचको द्वन्द्वमा केन्द्रित भयो । यसमा इन्दिरा गान्धीले लगाएको संकटकाल उत्पन्न निराशाले पनि उत्पे्ररकको भूमिका निर्वाह गरेको थियो ।
यसको दुई दशकपछि अमिताभ बच्चन ‘बागवान’मा देखिए, एउटा रियायर्ड बैंकरको भूमिकामा । आर्थिक उदारीकरणको लाभ लिएर तीव्र गतिमा उकालो लागिरहेको भारतीय अर्थतन्त्रमा यो फिल्मले यस्तो परिवारको कथा पेस गथ्र्यो जसका लागि बाबुआमा आफ्नो भएभरको जायजेथा लुटाउँछन् तर जब छोराहरूले बाबुआमाको जिम्मेवारी लिने बेला आउँछ, उनीहरू नराम्ररी छड्किन्छन् । रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’को पहिलो हाफमा यही कथाको रमरम पाइन्छ तर दोस्रो हाफमा फिल्म अचानक अनमोल केसी मोडमा जान्छ । अनमोल केसी मोड मतलब कुनै रोग वा भवितव्य परेर मुख्य चरित्रको निधन हुने कथा । ‘फूलबारी’को प्रिमाइस यही फिल्मबाट प्रभावित रहेको कुरा मेकरले लुकाएका पनि छैनन् । पहिलो त नाम नै लिँदा हुन्छ । ‘बागवान’को नेपाली अनुवाद ‘फूलबारी’ नै हुन्छ । दयाहाङको चरित्रलाई टिभीमा ‘बागवान’ देखाउनु, विपिनलाई चियाको लती बनाउनु र छोराहरूलाई बेकामे देखाउनु यस्ता धेरै समानता दुवै फिल्ममा देख्न सकिन्छ । ‘ओल्ड एज रोमान्स’को मिठास त भइहाल्यो । तर ‘बागवान’को जे शक्ति थियो अथवा त्यो फिल्मले जे भन्न खोज्थ्यो त्यसबाट ‘फूलबारी’ नराम्ररी बहकिएको छ । ग्रिन टी खाइरहेकोलाई दूधको चिया खुवाउँदा साइड इफेक्ट त हुन्छ नै ।
परम्परागत सामाजिक मूल्य–मान्यताका तोडिँदै गएका कारण पारिवारिक संरचनामा आएको परिवर्तनले उत्पन्न हुने अपेक्षा र यथार्थको द्वन्द्व पर्दामा सही क्राफ्टका साथ प्रस्तुत गर्ने हो भने कलाकार मात्र होइन, दर्शक पनि उद्धेलित हुन्छन् । फिल्मी भाषामा यसलाई मेलोड्रामा भनिन्छ । रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ यस्तै मेलोड्रामाले भरिएको छ । यही कारण फिल्म हेरुन्जेल हामी लेखक उपेन्द्र सुब्बासँग मिलेर निर्देशक गुरुङले सिर्जना गरेको संसारमा मज्जाले हराउन सक्छौँ । तर रामबाबु गुरुङका पछिल्ला फिल्मझैँ तृप्त हुने अवसर भने पाइँदैन । किनकि एउटा कथा भन्ने अभिप्रायले सुरु भएको फिल्म अर्कै कथा भन्दै सकिन्छ । अनि जे भनिएको छ, त्यो असाध्यै बासी छ । उपेन्द्र सुब्बा लिखित पटकथाका अधिकांश दृश्यहरू अग्र्यानिक र सुन्दर छन् तर तीमध्ये धेरै दृश्यले मूलकथालाई अगाडि बढाउन मद्दत गर्दैनन् ।
रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ यस्तै मेलोड्रामाले भरिएको छ । यही कारण फिल्म हेरुन्जेल हामी लेखक उपेन्द्र सुब्बासँग मिलेर निर्देशक गुरुङले सिर्जना गरेको संसारमा मज्जाले हराउन सक्छौँ । तर रामबाबु गुरुङका पछिल्ला फिल्मझैँ तृप्त हुने अवसर भने पाइँदैन ।
रामबाबु गुरुङ निर्देशित पूर्व फिल्मदेखि ‘फूलबारी’ सम्मको साझा विशेषता के हो भने उनले सिर्जना गरेको फिल्मको दुनियाँ विश्वसनीय हुन्छ । चरित्रहरू आफ्नै लाग्छन् । स्वभाविक संवाद बोल्छन् । तर पटकथाको सवालमा भने उनका प्लट दाइँको गोरुझैँ एकै ठाउँमा घुमिरहन्छन् । प्लटभित्रका घटनाले हैन चरित्रले कथा घिसार्छन् । यसले दर्शकका लागि कौतुहल,चकित र चमत्कृत बनाउने ठाउँ बाँकी रहन्न । ‘फूलबारी’ पनि दर्शकमा यस्ता कुनै भाव पैदा नगरी धिमा गतिमा सकिन्छ ।
स्कुले शिक्षकबाट भर्खरै अवकाश पाएका जयनारायण सर (विपिन कार्की) र गृहिणी लक्ष्मी (अरुणा कार्की)का तीन छोरा छन् । जसमध्ये जेठो छोरा विशाल (सोमनाथ खनाल) बुहारी अमृता (प्रियंका)सँग बस्छ भने माइलो (अनुपम) र कान्छो (मनीष ढकाल)अविवाहित हुन् । अनुपम गीत–संगीतमा रुचि राख्छ भने कान्छो विदेश जाने ध्याउन्नमा छ । रिटायर्ड जीवन आनन्दसँग बिताइरहेका जयनारायणका बलिहाङ (दयाहाङ राई) जस्ता सहयोगी छिमेकी पनि छन् । तर जयनारायण र लक्ष्मीको जीवनमा एक दिन रोगको अर्घेलो आइलाग्छ । यसपछि उपचारका लागि बुढेसकालको प्रेमिल जोडी काठमाडौँ हानिन्छ । तर काठमाडौँमा उपचारका क्रममा छोराको घरमा जेजस्ता घटना घट्छन् त्यसले यो जोडी परम्परागत अपेक्षा र यथार्थको भूमरीमा फस्न पुग्छ ।
कमल किशोर मालपानी सिर्जित कथाले दुई धारको कथा समातेको छ । एउटा धारले बाबुआमा र छोराछोरीको कर्तव्य र जिम्मेवारीको कुरा गर्छ भने अर्को कथा भने ‘ओल्ड एज रोमान्स’को छ । यसरी दुई धार पटकथामा नउनिनु चाहिँ संरचनागत हिसाबले ‘फूलबारी’को समस्या बनेको छ । छोराहरूलाई लेखनले ग्रे चरित्रका रूपमा प्रस्तुत गर्ने आसय राखेको छ तर पर्दामा छोराहरू आफ्नो मान्यतामा सही महसुस हुन्छन् । अनि फिल्मको अन्त्यमा जे हुन्छ, त्यसमा पर्दामा देखिने चरित्रको कुनै दोष देखिन्न । जे हुन्छ, भवितव्यले हुन्छ । यही कारण पहिलो हाफमा हुने सारा ‘सासू–बहु’ दन्तबझान पनि निरर्थक लाग्छन् । हार हराएको निहुँमा प्रियंका कार्कीको चरित्रले गर्ने उधुमदेखि चकलेट र बेलुन दिएको निहुँमा गर्ने छड्के गाली पनि यही श्रेणीमा पर्छन् । तर तार्किक रूपमा हेर्ने हो भने प्रियंकाले भनिरहेको कुरामा दम देखिन्छ । अर्थात् लेखक चरित्रलाई छुच्चो देखाउन चाहन्छन् तर सोही अनुरूपका विश्वसनीय दृश्य निर्माण गर्न चुकेका छन् । हारवाला दृश्यलाई त कमजाेर लेखनको नमुना नै मान्दा हुन्छ । एक त महंगो हार जतिसुकै धनी मानिसको घरमा पनि फिल्ममा देखाएझैँ लतरखाजी गरेर राखिन्न अनि एउटा कोठामा राखेको हार खुट्टा लागेर त्यसरी सोफामा पनि आउँदैन । यस्ता हजम नहुने दृश्य फिल्मभरि बग्रेल्ती देख्न पाइन्छ ।
फिल्मले परोक्ष रूपमा ‘आफ्नो मान्छे आफ्नो हुँदैन, बरु पराइ आफ्ना हुन्छन्’ भन्ने सिद्धान्तलाई पक्षपोषण गर्न खोजेको छ । यसका लागि लेखकले घरमा काम गर्ने केटीदेखि, पुशपतिमा भेटेर सहयोग गर्ने लोकेन्द्र लेखकसम्मका पात्र सिर्जना गरेका छन् । यसैमा दयाहाङले निर्वाह गरेको बलिहाङको चरित्र पनि पर्छ । तर यिनलाई निकाल्यो भने पनि कथालाई उस्तो फरक पर्दैन । मनोरञ्जनका लागि दयाहाङका दृश्य मीठा छन् तर दर्शकको रूपमा कथा अगाडि बढाउन पनि उनको योगदान भइदिएको भए हुन्थ्यो भन्ने लाग्छ । दया पर्दामा मिस भइरहन्छन् । भएका दृश्य दयाले जमाएका छन् तर यहाँ डिटेलमा हेर्ने हो भने उनको भूमिका नभएको भए पनि कथामा केही फरक पर्थेन । लोकेन्द्र लेखक, शिल्पा मास्के र गौमाया गुरुङको चरित्र पनि लगभग यही कोटीमा पर्छन् । नचाहिने दृश्य र चरित्र फिल्म र निर्माता दुवैका लागि हानिकारक हुन् ।
पटकथा खुकुलो भए पनि माथि भनिए जस्तै फिल्म मेलोड्रामाटिक संरचनामा बनेकाले फिल्म हेरुन्जेल अल्छी लाग्दैन । यो नेपाली फिल्मका हकमा ठूलो उपलब्धि हो । यसका लागि निर्देशक गुरुङ र प्राविधिक टिम बधाइका हकदार छन् । प्राविधिक कामको हिसाबले हेर्ने हो भने यो फिल्म केही वर्ष यताकै प्राविधिक रूपमा सशक्त फिल्म हो । अमेरिकी छायांकार जोस हेरमले छायांकनको एउटा ‘स्ट्यान्डर्ड’ सेट गरेका छन् । उनको खिचाइ सुन्दर मात्र छैन, अर्थपूर्ण पनि छ । फ्रेमिङ र ब्लकिङमा उनले गरेको मेहनत पर्दामा महसुस हुन्छ । उनले सजेसन सट पनि उत्तिकै सुन्दरताका साथ खिचेका छन् । छायांकनका विद्यार्थीका लागि जोस हेरमको छायांकन एउटा राम्रो क्लास हुनसक्छ ।
छायांकनबाहेक यो फिल्मको सम्पादन, पाश्र्व संगीत र साउन्ड डिजाइन पनि बलियो छ । निमेष श्रेष्ठको सम्पादन स्मुथ छ भने रोहित शाक्यले उस्तै मीठो संगीत तयार गरेका छन् । उत्तम न्यौपानेको साउन्ड डिजाइन पनि उम्दा छ । उदाहरणका लागि अरुणा कार्की बिरामी पर्ने दृश्य अभिनयमा बरु उति खुलेको छैन तर साउन्डले त्यो कमजोरी पुरिदिएको छ ।
प्राविधिकपछि यो तारिफ गर्ने काम कलाकारले पनि गरेका छन् । फिल्मका मुख्य पात्रको रूपमा विपिन कार्की र अरुणा कार्कीको अभिनय नबिझाउनेछ । छोरा बनेका सोमनाथ खनाल, अनुपम र मनीषले पनि राम्रो अभिनय गरेका छन् । तर विपिन र अरुणा यति लाठे छोराहरूका बाउ हुन् त भन्ने कुरा दिमागमा आउने सम्भावना भने निमिट्यान्न भएको छैन । यसमा विपिनको बोल्ने शैली पनि कता कता नक्कली जस्तो लाग्छ ।
पछिल्लो समय सौगात मल्ल र विपिन कार्की जस्ता अभिनेताले ‘एक्सर्टनल अपेरियन्स’मा जोडबल लगाउने गरेको देखिन्छ । तर इन्टरर्नल्ली त्यो रुपान्तरण भएको हुँदैन । यो फिल्ममा पनि विपिनको चरित्रमा त्यो गहिराई महसुस हुन्न । त्योबाहेक विपिन भर्सटाइल अभिनेता हुन् भन्ने कुरामा त कुनै दुविधा छैन । तर ‘नुआन्स्ड’ अभिनयको कुरा गर्ने हो अरुणा कार्कीले सबैलाई उछिनेकी छिन् । श्रीमान्सँग ठट्टा गर्ने दृश्य हुन् वा बुहारी प्रियंकासँग ठाकठुक गर्ने दृश्य, शृंगार र भयानक दुवै रस उनले बिझ्ने गरी प्रवाह गरेकी छिन् ।
‘कबड्डी’ सिरिजका निर्देशकका रूपमा सफलता चुमिरहेका रामबाबु गुरुङ यो नामबाहिर भने असफल रहँदै आएका छन् । कथा र उनले पाएको स्रोतको हिसाबले यो फिल्म उनका लागि ‘कबड्डी’ सिरिजबाहेक सफल हुन नसक्ने ‘डेडलक’ तोड्ने फिल्म हुनसक्थ्यो । तर कथावाचनमा देखिएको द्विविधाले उनको चाहाना लम्बिने सम्भावना प्रवल छ । तर भयो भने पनि यत्तिको फिल्मले दर्शक पाउनु अनपेक्षित भने मान्न मिल्दैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया