Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सिनेमा

कसरी एकै मितिमा आउने अड्डीमा बसे ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ ?

इकागज |
फागुन ११, २०७९ बिहीबार १७:५ बजे

काठमाडौँ - ‘छड्के २’को ट्रेलर सार्वजनिक भएपछि यो साल दुई ठूला फिल्मको बक्स अफिस भिडन्त पक्का भएको छ । ट्रेलर नआउँदासम्म ‘छड्के २’ सर्न लागेको हो कि भन्ने गाइँगुइँ चलेको थियो । यस्तो हल्ला चल्नु पछाडिको कारण थियो, ट्रेलर ढिला रिलिज हुनु । सामान्यतया नेपाली फिल्का ट्रेलर १ महिनाअघि सार्वजनिक हुन्थे ।

तर महामारीपछि यो ग्याप तीन हप्ताको हुने गरेको थियो । यसको पहिलो कारण त फिल्म निर्माताको असुरक्षा नै थियो । कारण धेरै अगाडि रिलिज गर्दा फिल्मको चर्चा सेलाउने डर । तर ‘छक्का पञ्जा ४’ले १५ दिन र ‘छड्के २’ ८ दिनको ग्याप राखेर बल्ल ट्रेलर जारी गरे । यी दुवैको ट्रेलर नआउँदासम्म कुनै एक फिल्म सरिहाल्छन् कि भन्ने दुवै फिल्मका निर्माता सोचिरहेका थिए । तर बुधबारबाट त्यो सम्भावना टरेको छ । 


‘छक्का पञ्जा ४’ र ‘छड्के २’ को रिलिजलाई दर्शकले कति उत्सुकताका साथ कुरिरहेका छन्, त्यो दुवै फिल्मको बुकिङले बताउनेछ । तर बाहिरबाट हेर्दा अहिले न ‘छक्का पञ्जा ४’को सोचेजस्तो हाइप छ न ‘छड्के २’को । युट्युबमा आएको भ्युजलाई आधार मान्ने हो दुवै फिल्मले बम्पर व्यापार गर्छन् तर युट्युबको भ्युज यस्तो भ्रम हो जुन थोरै खर्चले पनि तलमाथि गर्न सकिन्छ । जुन तलमाथि गर्ने काम चलचित्रकर्मीले इमानदारीपूवर्क गर्ने गरेका छन् । 

‘छक्का पञ्जा ४’ र ‘छड्के २’ भिड्ने मुख्य कारण चाहिँ निर्माताको ‘इगो’ नै हो । ‘छड्के २’ का वितरक सुनिल मानन्धरका अनुसार ‘छड्के २’ले सर्वप्रथम फागुन १९लाई प्रदर्शन मिति घोषणा गरेको हो । तर यही मितिमा ‘छक्का पञ्जा ४’ आएपछि आफूहरूले पहिला घोषणा गरेको मितिबाट दायाँबायाँ नलाग्ने निर्णय गरेको मानन्धरले बताउँदै आएका छन् ।

उता दीपकराज गिरी भने त्यो मितिमा ‘छड्के २’ आउने कन्फर्म नभएका कारण आफूहरू सो मितिमा आएको बताउँछन् । आफूहरूका लागि पनि दोस्रो मितिको विकल्प नभएकाले फागुन १९ मा आउने बाध्यता रहेको उनको भनाइ छ । त्यसो त ‘छक्का पञ्जा ४’ले दसैँदेखि तिहारसम्मको मिति पनि ताकेको थियो । तर पहिला सुटिङ र पछि प्राविधिक काम नसकिएका कारण यो फिल्म प्रदर्शन मिति तोकेको थिए । तर ‘छक्का पञ्जा ४’ यो मितिमा आउने घोषणा गर्ने पछिल्लो फिल्म थियो । योभन्दा अघि ‘परस्त्री’, ‘वर एन्ड वधु’ र ‘बुलाकी’ले फागुन १९ मै आउने घोषणा गरेका थिए ।

बाँकी फिल्म तितरबितर भए पनि ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ भने टसमस भएनन् । दुवै फिल्मका निर्माता आफ्नो लगानी रिलिजपूर्व नै सुरक्षित रहेको भन्दै एक अर्कालाई डुबाउने मनस्थितिसाथ मैदानमा छन् । यसमा रोचक के छ भने यी दुवै फिल्मलाई वितरकले ‘मिनिमम ग्यारेन्टी’ (एमजी) दिएर लिएका छन् । ‘छक्का पञ्जा ४’लाई मनोज राठीको कम्पनी बैंकटेस फिल्मले अढाई करोड एमजी दिएको चर्चा छ भने यता ‘छड्के २’लाई सुनिल मानन्धरले डेढ करोडमा किनेको खबर छ ।

त्यसैले यो रिलिज निर्माताको लडाइँबाट बढेर वितरकको लडाइँमा परिणत भएको छ । दुवै फिल्मका वितरक कलाकारको काँध चढेर एकअर्कालाई देखाइदिने मुडमा रहेका कारण पनि यी दुई फिल्म एकै मितिमा रिलिज हुन लागेका हुन् । किनकि रिलिजको समयमा निर्माताभन्दा पनि वितरक हाबी हुने परम्परा रही आएको छ । निर्माताको लगानी जेहोस् प्रतिस्पर्धी वितरकलाई ठेगान लगाउनलाई पनि एकै मितिमा फिल्म आउने गरेका छन् । तर यो पटक भने वितरकको पनि पैसा परेको छ । यो पालि कसले कसलाई ठेगान लगाउँछ वा ठेगान लाग्छ, हेर्न फिल्म जत्तिकै रमाइलो हुनेछ । 
 


Author

थप समाचार
x