सिनेमा

कस्तो छ ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ बुकिङ ?

इकागज |
फागुन १८, २०७९ बिहीबार १६:४८ बजे

काठमाडौँ - वर्षकै ठूलो भिडन्त मानिएको ‘छक्का पञ्जा ४’ र ‘छड्के २’को प्रारम्भिक फुटफल कमजोर देखिएको छ । हप्ता दिनअघि बुकिङ खुलाएका दुवै फिल्मले रिलिजको पूर्व सन्ध्यामा पर्याप्त टिकट बेच्न सकेका छैनन् । दुई फिल्ममध्ये ‘छक्का पञ्जा ४’ले देशभरका मल्टिप्लेक्समा बढी सो पाएको छ । तर यही सिरिजका पूर्व फिल्मको तुलनामा फिल्मको बुकिङ कमजोर देखिएको छ ।

अघिल्ला सिरिजले बुकिङ खुले लगत्तै आक्रामक व्यापार गर्ने गरेका थिए । फिल्मले काठमाडौँका मल्टिप्लेक्समा साँझतिरका सोमा राम्रो अकुपेन्सी कायम गर्ने संकेत देखाएको छ तर बिहानी र दिवा सोमा यो फिल्मले पनि दर्शक भेला गर्न संघर्ष गरिरहेको छ । त्योबाहेक काठमाडौँबाहिरका हलमा त यो फिल्मले पनि खाता खोल्न सकेको छैन । 


‘छड्के २’ त बुकिङमा झनै कमजोर देखिएको छ । ‘छक्का पञ्जा ४’ भन्दा हल संख्यामा पछि परेको यो फिल्म बुकिङमा पनि पछाडि छ । अहिलेकै लय कायम रहने हो भने ‘छड्के २’ अनमोल केसीको अहिलेसम्मकै कमजोर ओपनिङ गर्ने फिल्मको रुपमा यो फिल्म दर्ज हुनेछ । काठमाडौँबाहिर वा भित्र कतै पनि दर्शकले यो फिल्म हेर्न टिकट काटेका छैनन् ।

ढिला गरी ट्रेलर सार्वजनिक गरेका दुवै फिल्मका टिजर–ट्रेलरले युट्युब ट्रेन्डिङमा ठाउँ बनाएका थिए । तर डिजिटल भ्युज थियाट्रिकल भ्युजमा परिणत नहुने समस्या दुवै फिल्ममा टड्कारो देखिएको छ । दुवै फिल्मले यो पटक प्रचार प्रसारमा पनि समय दिएका थिएनन् । दुवै फिल्मको मिडिया उपस्थिति न्यून रहेको थियो । 


Author

थप समाचार
x