सिने-समीक्षा
‘छक्का पञ्जा ४’ : हल्का रमाइलो, बढ्तै ‘सेक्सिस्ट’
‘छक्का पञ्जा ४’को क्लाइमेक्सनिर एउटा दृश्य छ । सो दृश्यमा रुकमणी बनेकी दीपाश्री निरौलालाई श्रीमान् बनेका दीपकराज गिरीको अर्कै युवतीसँग अनैतिक सम्बन्ध रहेको थाहा हुन्छ, उनी रिसले पार्टीको माहोल छाडेर ढोका बन्द गर्छिन् । श्रीमती रिसाएको देखेर दीपकराज गिरी फकाउन ढोकामा आउँछन् । सँगै उनका छोरा बनेका राज आचार्य पनि । तर, दीपाश्रीलाई फकाउन आएका बाबु–छोरा आफैँ झगडा गर्न थाल्छन् र रहस्य खुल्छ, बाबुभन्दा एक कदम अगाडि बढेर छोराले आफ्नो प्रेमिकालाई गर्भवती बनाएको छ । यो सुनेर दीपाश्रीको प्रतिक्रिया के होला ? दर्शक दीपाश्रीको रणचण्डी स्वरूपको अपेक्षा गर्छन् । तर, झण्डै रमाइलो जस्तो मान्दै दीपाश्री भन्छिन्, ‘बाउ–छोरै बोका पो रैछन् ।’
हल दर्शकको अट्टहासले गुञ्जायमान हुन्छ । तर, संवेदनशील समाजका लागि यो हाँस्न सकिने दृश्य होइन । तर, ‘छक्का पञ्जा ४’ का अधिकांश दृश्य यस्तै हाँस्न नसकिने सन्दर्भमा हँसाउन प्रयास गर्छन् । यस्ता संवेदनशील विषयमा दर्शक हँसाउने उद्देश्य राख्नु स्वयंमा रुँरुँ लाग्ने बात हो । ‘तीतो सत्य’ अर्थात् तीतो औषधी आफू खाँदा वा कसैले खाइरहेको देख्दा यथार्थमा कोही हाँस्तैन, हल्का पनि हाँस्तैन । यदि हाँस्छ भने त्यो हल्का हाँसो होइन, सस्तो हाँसो हो । साढे २ घन्टा लामो फिल्म हेरिरहँदा लाग्छ, दीपकराज गिरी एन्ड कम्पनी, कुनै कथा भन्न होइन यस्तै ‘सेक्सिस्ट’ जोक (अर्थात् बिजोक) भन्नलाई नयाँ शृंखला लिएर आएका हुन् ।
‘छक्का पञ्जा’मा महिलालाई दोस्रो दर्जा र पिटेर तह लगाउनु पर्ने भाष्य निर्माण गर्ने कथानकका कारण आलोचना खेपेका दीपकराज गिरी र उनको समूहले यसपछिका शृंखलामा पनि यस्ता गल्ती सच्याउने खासै कष्ट गरेका थिएनन् । तर, चौथो शृंखलामा यसको मात्रा झन् बढेको छ । उनीहरूले सृजना गरेका लगभग अधिकांश पात्र ‘सेक्सिस्ट’ छन् । बेनिशाले घरिघरि पुरुषको लिंग ताकेर हान्छिन्, केदार घिमिरेको श्रीमती बनेकी सुष्मा निरौला ट्युसन पढ्न भनेर आएकी फर्केर घर नै जान्नन् । उनलाई बाँझोपनको समस्या पनि छ । श्रीमती र छोरा छ भन्ने जान्दाजान्दै बेनिशा दीपकराज गिरीसँग प्रेममा पर्छिन् । फिल्मभित्र महिलालाई कतै आइटम त कतै भागिरहने सहकारीसँग तुलना गरिएको छ । यसैगरी लुनिभा तुलाधार र मलिना जोशीलाई पनि बाझाबाझका लागि राखिएको छ । तर, दुवै सौता हुन् कि के हुन् स्पष्ट चाहिँ हुन्न । हँसाउनकै लागि राखिएको केदार घिमिरे र सुष्मा निरौलाको बाँझोपनको प्रसंगले भने साँच्चिकै बाँझोपनसँग जुधिरहेका महिलालाई दुखाउने सम्भावना छ । कम्तीमा चलचित्रकर्मीले मजाक पनि केमासम्म गर्ने भनेर सचेत हुनुपर्छ ।
स्त्रीद्वेषी संवाद र दृश्यका अलावा यो फिल्मको मुख्य कथा पनि समस्याग्रस्त छ । फिल्ममा चरित्रको लक्ष्य स्थापित छैन र लक्ष्य नभएपछि द्वन्द्वका लागि ठाउँ छैन । लक्ष्य र द्वन्द्व दुवै नभएपछि फिल्मले कथावाचन गर्दैन । दृश्यको थुप्रो देखाउँछ । त्यसैले यो फिल्ममा दीपकराज गिरीको हिरोगिरी मात्र छ । यस्तो हिरोगिरी जसमा न सिलसिलेवार कथा छ, न एम्पेथी जाने चरित्र । फिल्मका हरेक दृश्यमा देखापर्ने गिरीको चरित्रमा घरि रवि लामिछाने बन्ने ह्याङ देखिन्छ त घरि बलिउड सिनेमा ‘नायक’को अनिल कपुर । तर, जे बन्न खोजे पनि पटकथामा यी कुराहरू यति खुकुलो गरी आएका छन् कि तिनले गहिरो प्रभाव पार्नै सक्दैनन् । दीपकराज गिरी स्वयंले लेखेको पटकथा यति छरपस्ट छ कि कुनै पनि कुरा स्थापित छैन । यस्तो लाग्छ, उनले दैनिक समाचारका विषय टिपेर तिनलाई आफ्नो मुखबाट बोलाउनलाई पटकथाको कल्पना गरेका छन् । यसको एउटा नमुना गाउँमा पुल बनाउने प्रसंग हो । पुल बनाइदिने मुद्दामा जितेको दीपकराज गिरीको चरित्रले यसैको फाइलका लागि दुनियाँ डाङडाङडुङडुङ गर्छ तर अन्त्यमा यो विषयको चर्चै छैन । अझ चुनावको समयमा गाउँमा पुल नहुँदाको समस्या के हो भन्ने स्थापित गर्ने त कल्पनै नगरौँ । देखाएको खोला पनि हिउँदे खोला छ, दुई फड्कामा तर्न सकिने । यी सबै लेखकीय–निर्देशकीय समस्या हुन् ।
‘छक्का पञ्जा’ ‘हल्का रमाइलो’ वा ‘हल्काफुल्का रमाइलो’ मात्र हैन ‘सस्तो रमाइलो’ बनेको छ ।
कर्मचारीतन्त्रले देश सखाप पारेको कुरा हरेक चिया गफका विषय हुन् । उनले लोकप्रियताका लागि यो विषय उठाएका छन् । राजनीतिमा नातावाद र कृपावाद छ भन्ने कुरा देखाउनमा पनि उनको ध्याउन्न देखिन्छ । यसैगरी मानिसको विचार निर्माणमा सामाजिक सञ्जालको भूमिका छ र त्यसलाई प्रयोग र दुरूपयोग गर्न सकिन्छ भन्ने कुरा पनि फिल्ममा छ । तर, फिल्मभित्र तिनको प्रस्तुतिले हँसाए पनि तिनले प्रवाह गर्ने सन्देश ठ्याक्कै उल्टो बन्न पुगेको छ । जस्तो कि कर्मचारीतन्त्रभन्दा सांसद ठूलो हो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ जुन सत्य होइन । दुवै एकअर्काका परिपूरक हुन् । अनि कर्मचारीतन्त्रलाई तह लगाउने एउटै उपाय भनेको हिंसा हो भन्ने सन्देश पनि फिल्मले दिन्छ । फिल्मले राजनीतिमा नातावादलाई प्रश्रय गरेकामा व्यंग्य गर्ने आसय राखेको देखिन्छ तर नातावादकै बुई चढेर राजनीतिमा आएको दीपकराज गिरीको चरित्रले उधुम राम्रो काम गरेको स्थापित गर्न खोजिएको छ । अनि फिल्म भित्र के देखिन्छ भने नातावादबाट आउनेले भयंकर राम्रो गर्नेरैछ ।
परस्पर विरोधी विचारको एउटा सानो उदाहरण दीपकराज गिरीको चरित्रले बुद्धि तामाङको छोरालाई सरकारी स्कुलमा पढ्न छाडेर बोर्डिङ स्कुल पढ्ने सपना देखाउनु पनि एक हो । फिल्मले यसरी हाकाहाकी सरकारीभन्दा बोर्डिङ स्कुल राम्रो भन्नु कति जायज हो ? जबकि ‘छक्का पञ्जा ३’ मै दीपक–दीपाले सरकारी स्कुल बोर्डिङ स्कुलको षडयन्त्रले बिग्रिएको कथा वाचन गरेका थिए ।
निर्देशक हेमराज बिसी र लेखक दीपकराज गिरीको फिल्मभित्र यही सत्य सामान्यीकरण गर्ने आसय थियो होला त ? पक्कै थिएन । तर, भएको छ, त्यस्तै । त्यसैले लेखक–निर्देशकले फिल्ममार्फत भन्न खोजेको कुरा सही तरिकाले ‘ल्यान्ड’ गर्न सकेका छैनन् । फिल्ममा मुद्दा उठाउनु ठूलो कुरा होइन । कसरी उठाइयो र त्यसमार्फत दिन खोजेको कुरा के हो भन्ने कुराले अर्थ राख्छ । ‘छक्का पञ्जा ४’मा भन्नलाई अनेक थरी मुद्दा छन् तर न तिनको उठाइ ठीक छ, न बसाइ ।
फिल्मभित्र परम्पर विरोधी सन्दर्भको चाङ नै छ । त्यसमा पनि पर्दामा धेरै बेर देखिने केदार घिमिरे र बेनिशा हमालको चरित्र चित्रणमा राम्रै हेलचेक्र्याइँ छ । सुरुमा संस्कृत बोल्दै अंग्रेजी पढाउने केदार घिमिरे ‘शिक्षक हुँ पार्टीको झोला हैन डस्टर बोक्छु’ भन्दै स्वाभिमानी कुरा गर्छ । तर, बिनाकुनै भरपर्दो दृश्य पार्टीको झोला मात्र हैन, मास्टरमाइन्ड बनेर हिरोइन ल्याएर चुनावको प्रचार गर्ने आइडिया दिन्छ । संस्कृत, अंग्रेजी, तामाङ सब भाषा फरर बोल्न सक्ने संजेल बनेको केदार घिमिरेको यो आइडिया बौद्धिक स्खलनको परिणाम हो । यसमा विद्वानलाई व्यंग्य गर्ने आसय देखिन्न तर भएको छ व्यंग्य ।
अनि उनले बोलेका संस्कृतका श्लोक पनि सन्दर्भ बुझाउने प्रसंगमा आएका छैनन् । श्लोकको अर्थ बुझ्नेले सजिलै चाल पाउँछन्, केदार घिमिरेले हँसाउनकै लागि मात्र ती श्लोक वाचन गरेका छन् । केदार घिमिरेको इन्ट्रोडक्सनमा राखिएको ‘पालयेत पञ्च वर्षाणी दश वर्षाणी ताड्येत’ कक्षा कोठामा हैन दीपकराज गिरीले राज आचार्यलाई झापड हानेको दृश्यमा राखिएको भए उपयुक्त हुन्थ्यो तर राखिएको छ सन्दर्भ नमिल्ने ठाउँमा ।
चरित्र चित्रणको भद्रगोल बेनिशा हमालले निर्वाह गरेको चरित्रमा पनि देख्न सकिन्छ । सुरुमा हक्की र निडर देखिने बेनिशा पैसाको लोभमा सरक्क दीपकराज गिरीको पछि लाग्नु र उनीबिना बाँच्नै नसक्ने अवस्थामा पुग्नु, लेखनको कमजोरी हो । अनि बेनिशाले निर्वाह गरेको युट्युबरको चरित्र दीपकराज गिरीले नै ‘शत्रु गते’मा निर्वाह गरेको राहुल चरित्रको पुनरावृत्ति हो । नयाँ केही छैन । वृद्धनेताको पद अनि कुर्सी र राजनीतिक दाउपेच पनि दीपक–दीपा कम्पनीले नै निर्माण गरेको ‘छ माया छपक्कै’सँग लगभग मिल्दोजुल्दो छ । यस्तै विषयमा धुर्मुस–सुन्तलीले पनि ‘सेन्टिभाइरस’ बनाएका थिए ।
यस्ता धेरै पहिले देखिएका प्रसंग र सन्दर्भ हुँदाहुँदै पनि यो फिल्मले साढे दुई घन्टा बाँधेर राख्छ । ५–१० मिनेट पनि टिक्न नसकिने नेपाली फिल्ममा दर्शक इंगेजमेन्ट गर्न सक्नु ठूलै सफलता हो । यो मानेमा भने यो फिल्म सफल छ । हाँस्नकै लागि भनेर मात्र हलमा पुग्ने दर्शकलाई पनि यो फिल्मले निराश बनाउँदैन । संवादले राम्रैसँग हँसाउँछन् । अधिकांश संवादमा अनुप्रास मिलाइएको छ जुन यो सिरिजका हरेक फिल्मको विशेषता हो । त्यसले दर्शकलाई मज्जै पनि देला । तर, यसमा पनि समस्या के छ भने हरेक चरित्र यसरी नै अनुप्रास मिलाएर बोल्छन् । संवादमा चरित्र अनुरूप विविधिकरण नहुँदा चरित्रको स्वत्व हराउँछ । तिनीहरू एकांगी देखिन्छन् ।
एउटा चरित्रलाई हिरो बनाउन बाँकी सबै चरित्रको दुनियाँ गायब गरेर निर्देशकले बलियो फिल्म बनाउन सक्दैनन् । यस हिसाबले हेमराज बिसीले यो सिरिजकै सबैभन्दा कमजोर फिल्म दर्शकलाई सुम्पिएका छन् ।
तर फिल्मभित्र केही संवादको शैली गज्जबको छ । त्यो मध्ये एउटा हो केदार घिमिरेको चरित्रले दीपकराज गिरीलाई छोरा राज आचार्यको काण्ड सुनाउनु । दीपकराज गिरी र अनुराग कुँवरले निर्वाह गरेको चरित्रका बीच चलिरहेको दन्त बझानमा दीपकराज गिरीको चरित्रले रमेश बुढाथोकीलाई जा नभनी ‘छोराले कुरिरहेछ’ भन्ने संवाद पनि स्वादको छ । अन्य केही प्रसंगमा पनि दीपकराज गिरीले यस्ता संवादको प्रयोग गरेका छन् जसले भन्नुपर्ने कुरा सिधा नभनी घुमाउरो गरी भन्छन् ।
यो फिल्ममा अभिनयको कुरा गर्ने भने सारा कलाकारले औसत अभिनय गरेका छन् । ‘छ माया छपक्कै’मा दीपकराज गिरीले सन्तुलित अभिनय गरेका थिए । तर, यो फिल्ममा जताततै हाबी हुने चक्करमा लय गुमाएका छन् । उनी अधिकांश दृश्यमा कर्कश पनि सुनिन्छन् । उनीबाहेक नीर शाह, दीपाश्री निरौला, बुद्धि तामाङ, राज आचार्य, बेनिशा हमाल, सुष्मा निरौला कसैले पनि उल्लेख्य अभिनय गरेका छैनन् । केदार घिमिरेको चरित्र चित्रणमा वैचारिकी समस्या छ । अभिनय पनि नयाँ छैन तर चिरपरिचित शैली र संवादले पूरा फिल्म उनैले बाँधेर राखेका छन् । उनी देखिने र उनले बोल्ने हरेक संवादले हँसाउँछन् । राज आचार्य स्वाभाविक देखिएका छन् तर उनको भूमिका यति छोटो छ कि केही देखाउनै पाउँदैनन् । लेखक–निर्देशकले उनको भूमिकामा यति कैँची चलाएका छन् कि क्लाइमेक्समा ‘केओस’ सिर्जना गर्ने गर्लफ्रेन्ड र उनी इन्टिमेट देखिनुपर्ने दृश्य कोठामा छिर्नै नपाई सकिन्छ । अनि क्लाइमेक्सको दौडादौड पत्यारिलो छैन । रक्सीको नशामा लरबरिँदै बोल्ने बेनिशाको चरित्र बैकुण्ठ मानन्धर जस्तो कुदेको हजम गर्न गाह्रो पर्छ ।
लभस्टोरी विधाका फिल्म निर्देशन गर्दै आएका हेमराज बिसीले ‘घामड शेरे’बाट धार परिवर्तन गरेका थिए । फिल्म सफल नभए पनि हेमराजको निर्देशनमा परिपक्वता देखिन्थ्यो । तर, यो फिल्ममा हेमराज बिसी थपना मात्र महसुस हुन्छन् । एउटा चरित्रलाई हिरो बनाउन बाँकी सबै चरित्रको दुनियाँ गायब गरेर निर्देशकले बलियो फिल्म बनाउन सक्दैनन् । यस हिसाबले हेमराज बिसीले यो सिरिजकै सबैभन्दा कमजोर फिल्म दर्शकलाई सुम्पिएका छन् । यो सिरिजमा न कथा छ, न भएको कथाको उचित विकासक्रम । न त उचित चरित्र चित्रण नै ।
तमाम कमजोरीका बीच पनि यदि यो फिल्मबाट मलाई मनोरञ्जनबाहेक केही लिनु छैन भन्नुहुन्छ भने यो फिल्मले मनोरञ्जन दिन्छ । तर, मनोरञ्जन सापेक्ष हुन्छ । ‘हल्का रमाइलो’ डाइलग अब ‘हल्काफुल्का रमाइलो’ हुँदै ‘सस्तो रमाइलो’ बनेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया