सिनेमा

‘राधा’को ब्ल्याक एन्ड ह्वाइट भर्सन निफमा प्रिमियर हुने

इकागज |
फागुन २७, २०७९ शनिबार १४:५७ बजे

काठमाडौँ - सुवर्ण थापाले निर्देशन गरेको ‘राधा’को ब्ल्याक एन्ड ह्वाइट भर्सन नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)मा  प्रिमियरमा हुने भएको छ । निर्देशक थापाले रिलिज पूर्व नै फिल्म कलर र ब्ल्याक एन्ड ह्वाइट गरी दुई भर्सनमा तयार गरिएको जानकारी गराएका थिए । कलर भर्सन हल रिलिजका लागि र ब्ल्याक एन्ड ह्वाइट भर्सन फेस्टिभलका लागि तयार गरेको उनको भनाइ थियो ।

सोहीअनुसार उनले निफबाट यसको सुरुवात गरेका हुन् । निर्देशक सुवर्ण थापाका अनुसार ‘राधा’ चरित्र केन्द्रित फिल्म भएकाले चरित्रको दुनियाँ र मनोविज्ञान दर्शकसम्म सिधै सम्प्रेषित गर्न यो शैली अपनाइएको हो । थापा भन्छन्, ‘ ब्ल्याक एन्ड ह्वाइट बनाउनलाई पोस्ट प्रडक्सनमा रङ परिवर्तन गरेर मात्र हुँदैन, खिच्दा नै यसको तयारी हुनुपर्छ । यसका लागि मानोक्रोममा खिच्नेदेखि अरु टेक्निक पनि हुन्छन् जुन हामीले ख्याल गरेर खिचेका थियौँ । तर, यसको परिणाम के हुन्छ, अबको प्रदर्शनले देखाउनेछ । म आफैँले पनि हलमा यो भर्सन हेरेको छैन । फेस्टिभलमै हेर्ने योजना छ ।’


दुई महिनाभन्दा बढी समय अष्ट्रेलियामा फिल्मको प्रदर्शन गरेर फर्किएका सुवर्ण थापा अहिले यही भर्सन निकाल्ने तयारीमा छन् । उनले पहिले हलमा देखाइएको भर्सनमा भन्दा पाश्र्व संगीतमा पनि काम गरेको बताएका छन् । यसैगरी फेस्टिभलमा देखाइने फिल्म १५ मिनेट छोटो पनि रहनेछ । हल रिलिजको समयमा फिल्मको लम्बाइ १ घन्टा ५० मिनेट रहेको र अहिले फिल्मका केही दृश्य छाँटकाँट र अन्त्य परिवर्तन गरेर १ घन्टा ३५ मिनेट बनाएको पनि उनको भनाइ छ । 

अन्तर्राष्ट्रिय फेस्टिभलमा चाहिँ फिल्मको ब्ल्याक एन्ड ह्वाइट भर्सनलाई लिएर सुवर्ण थापालाई थोरै दुविधा छ । फिल्मलाई  ब्ल्याक एन्ड ह्वाइट बनाउँदा सृष्टिको चरित्रले लगाउने सिन्दुर र गहना रङहीन बनेका छन् । यसले गर्दा चरित्रको पृष्ठभूमि बुझिन्न कि भन्ने उनलाई लागेको छ । त्यसैले निफमा प्रदर्शन हुने यो कटलाई उनले ट्रायलको रुपमा पनि हेर्न खोजेका छन् । ‘कालो बनाउँदा धेरै कुराहरूको सन्दर्भ छुटेको महसुस भएको छ । तर दर्शकसँग बसेर हेर्दा यो कमी महसुस भएन भने यही फिल्म अरु फेस्टिभलमा पठाउने योजना छ । नत्र भने चाहिँ यसैको कलर भर्सन जान्छ,’उनले भने । 

सुवर्ण थापा केही दिनपछि नै फिल्म लिएर युरोप र अमेरिका जाने तयारीमा छन् । सुवर्ण थापाकै लेखन रहेको फिल्ममा सृष्टि श्रेष्ठ र सौगात मल्ल मुख्य भूमिका छन् । फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, दिव्यदेव, बुद्धि तामाङ, पशुपति राई आदि कलाकारले अतिथि भूमिका निर्वाह गरेका छन् । प्रदर्शनको समयमा हलले पर्याप्त सो नदिए पछि यो फिल्मलाई निर्माताले उतार्ने निर्णय गरेका थिए । आउँदो २ देखि ६ गतेसम्म चल्ने निफमा यो फिल्म शनिबार क्यूएफएक्सको सिभिल मलमा ३.३० बजे देखाइनेछ । 


Author

थप समाचार
x