सिनेमा

पशुपतिमा ‘पशुपतिप्रसाद २’ मुहूर्त

इकागज |
चैत ३, २०७९ शुक्रबार ११:१६ बजे

काठमाडौँ - ७ वर्षअघि प्रदर्शन भएर समीक्षात्मक रुपमा सफल मानिएको ‘पशुपतिप्रसाद’को सिक्वेलको शुक्रबार मुहूर्त गरिएको छ । शुक्रबार पशुपति क्षेत्रमै मुहूर्त गरिएको हो । ‘पशुपतिप्रसाद’मा सबैभन्दा धेरै रुचाइएको पात्र ‘भष्मे डन’लाई लिएर फिल्मको कथा तयार भएको हो ।

फिल्मको शीर्ष भूमिकामा विपिन कार्कीले अभिनय गर्नेछन् । फिल्ममा सौगात मल्ल र स्वस्तिमा खड्का थपिएका छन् । पहिलो भागमा रहेकी वर्षा सिवाकोटी पनि फिल्ममा रहनेछन् । मुहूर्तको समयमा वर्षा पनि देखिएकी थिइन् । उनले आफ्नो भूमिका सस्पेन्स रहेको बताएकी थिइन् । 


स्वस्तिमा खड्काले दोस्रो भागमा आफूले वर्षालाई प्रतिस्थापन नगरेको बताइन् । उनले आफूले गर्न लागेको चरित्र बेग्लै रहेको संकेत गरेकी थिइन् । आगामी चैत १० गतेबाट छायांकन सुरु हुन लागेको सिनेमालाई खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने सिनेमा टुकी आर्टस्को ब्यानरमा निर्माण हुनेछ । आगामी बडा दशैंको फूलपातीबाट सिनेमा प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा विपिन कार्कीले निर्वाह गरेको भष्मे डन मा केन्द्रित रहेर सिनेमा बन्नेछ । लेखक लामिछानेले नाम मात्रको सिक्वेल मात्र नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बन्ने बताएका छन् । ७ वर्षको अवधिमा भष्मे डनको जीवनमा आएका विभिन्न उतारचढावलाई सिनेमामा प्रस्तुत गरिने बताइएको छ । सिनेमाको छायांकन सेड्युल ३० दिनको राखिएको छ ।


Author

थप समाचार
x