सिनेमा

नेपालमा ऐतिहासिक चलचित्र : बन्दै बन्दैनन्, बनेका फिटिक्कै चल्दैनन्

इकागज |
चैत १९, २०७९ आइतबार १५:८ बजे

काठमाडौँ - चैतको पहिलो साता काठमाडौँमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भएको विभिन्न छलफलमा चलचित्रकर्मीले चलचित्र प्रदर्शनीबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवद्र्धन भइरहेको निष्कर्ष निकालेका थिए । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ ।

 अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले यसलाई  समयको दस्तावेजको रूपमा समेत बुझ्ने गरिन्छ । अहिले निर्माण भइरहेका चलचित्रमा परिस्थितिसँगै भेषभूषा र त्यो समयको पनि चित्रण गरिएको हुन्छ । विदेशमा विगतमा भएका घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्ने प्रचलन बढ्दो छ । कुनै समय वा घटनालाई लिएर बनाइने चलचित्र त्यो समयलाई अहिलेको पुस्तासम्म पुर्याउनाका साथै इतिहासका लागि  दस्तावेजको कामसमेत गर्छ  तर नेपालमा भने त्यस्ता कथामा कमै चलचित्र बन्ने गरेका छन् । सीमित बनेका चलचित्रले दर्शकको साथ पाउँदैन । 



यसैवर्ष प्रदर्शन भएको चलचित्र ‘नालापानी’ समीक्षात्मक र व्यावसायिक दुवै हिसाबले असफल रह्यो । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरको ऐतिहासिक लडाइँमा ‘नालापानी’ आधारित थियो । निर्माता तथा निर्देशक रिमेश अधिकारीले यो चलचित्रको सार्वजनिक प्रदर्शनको समयमा निर्माणका लागि ९ वर्ष खर्चिएको दाबी गरेका थिए । तर हलमा प्रदर्शन हुँदा न दर्शकले यसमा चासो राखे न सरकारले नै केही गर्यो । 

‘हामीकहाँ ऐतिहासिक विषयवस्तुमा बनेको चलचित्रलाई प्रोत्साहन वा प्रवद्र्धन गर्ने नीति नै छैन । हाम्रो कथा देखाउन कसैको साथ नपाउँदा लगानीसमेत सुरक्षित हुँदैन्”, निर्देशक अधिकारी भन्छन् ,‘चलचित्रको विकासका लागि  विभिन्न संस्था खुले पनि निर्मातालाई प्रोत्साहन गरिदिने र सहज महसुस गराउने कुनै निकाय छैन । ठूलो लगानी चाहिने यस्ता चलचित्र एक्लो निर्माताको प्रयासले सम्भव हुँदैन ।’

अधिकारीले यसो भने पनि ऐतिहासिक विषय वस्तुमा फिल्म बनाउने प्रयास नभएका भने हैनन् । धेरै वर्ष पहिले किशोर रानामगरले लिगलिगका मगर राजाले छिमेकी राजासँग गरेको लडाइँमा आधारित रहेर ‘सीमारेखा’ भन्ने सिनेमा बनाएका थिए । यो फिल्मले व्यावसायिक सफलता पनि पाएको थियो । त्यसयता भने लामो समय ऐतिहासिक कथामा फिल्म बनाउने आँट नेपाली निर्माता तथा निर्देशकले गरेका छैनन् । तर पछिल्लो समय यो क्रम बढेको छ ।

गोर्खालीको वीरगाथालाई पर्दामा उतार्ने गरी अहिले निर्माता तथा निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर’को सुटिङ गरिरहेका छन् । आफैँ पूर्वगोर्खा सैनिक रहेका चाम्स दश वर्ष अगाडिदेखि नै गोर्खालीको वीरताको कथालाई पर्दामा उतार्ने प्रयासमा रहेको बताउँछन् । ‘चलचित्रको छायाङ्कनमै तीन वर्षभन्दा बढी समय खर्चिसकेँ । यसको प्राविधिक कार्यका लागि नेपालदेखि भारतसम्मका प्राविधिको प्रयोग गरेको छु’, निर्देशक चाम्सले भने । उनले गोर्खालीको वीरताको कथा देखाउने विषय भने मलाया युद्धलाई बनाएको बताए । 

 भूतपूर्व गोर्खालीसँगै अहिले सेवामा रहेकासम्मलाई भेटेर मलाया युद्धको बारेमा बुझी  कथा तयार गरेपछि चलचित्रमा त्यो समयलाई पर्दामा देखाउन भने निकै सकस भएको अनुभव छ, चाम्ससँग । उनले प्रविधिक सहयोग बाहेक सम्बन्धित निकायबाट सङ्ग्राहालयमा भएका पुराना सामान पाउनसमेत नसकेको दुःखेसो सुनाए । ‘आजभन्दा ८० वर्ष अगाडिको समय देखाउनुपर्ने भएकोले बेलायत र भारतबाट केही सामग्री पाए पनि त्यो पर्याप्त थिएन । मलाई समान जुटाउन नै एकवर्ष लाग्यो’ निर्देशक चाम्सले भने । उनले कथा छान्नमा पनि सुटिङको सजिलो मुख्य कारण थियो । चाम्सका अनुसार मलायाको युद्ध जंगलमा भएकाले जंगलमै मात्र सुटिङ गरे पुग्ने र धेरै खर्च नलाग्ने अनुमानमा यो कथा छानिएको थियो । चाम्सले यसको छायाङ्कन अठार दिन मलेसिया र पचास दिन सिन्धुलीमा गरेको जानकारी गराए । 

 देशले गर्व गर्नसक्ने कथालाई पर्दासम्म ल्याउने क्रममा नीतिगतसँगै संस्थागत सहयोगको आवश्यकता रहेको चाम्स बताउँछन् ।  ‘व्यासायिक चलचित्रमा लगानी गर्ने जति पनि पाइन्छ तर जोखिमयुक्त ऐतिहासिक विषयमा लगानी गर्ने लगानीकर्ता पाउन गाह्रो छ । त्यसैले यस विषयमा सम्बन्धित सङ्घ संस्थासँगै राज्यले समेत सोच्नुपर्छ’, उनको भनाइ छ ।  

निर्देशक तथा समीक्षक प्रकाश सायमीले ऐतिहासिक घटनाक्रमलाई आधार बनाएर तयार गरिएका चलचित्रले विश्वसनीयता नकमाएकाले यस्ता फिल्म बन्ने वातावरण नबनेको धारणा राखे । ऐतिहासिक चलचित्र बन्नुपर्छ । हामीले प्रोत्साहन पनि गर्नुपर्छ  तर दर्शक विश्वस्त भएको पाइदैन’, उनले भने । तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा कीर्तिपुरमा गर्नुभएको आक्रमणलाई लिएर बनाइएको चलचित्र ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ का वितरक करण श्रेष्ठले व्यावसायिक रूपमानै यस्ता चलचित्र तयार गरिनुपर्नेमा जोड दिनुभयो  । 

‘ऐतिहासिक घटनाक्रम समेटिएको पछिल्लो केही चलचित्रमा स्थापित अनुहार  भने देखिएन । त्यसको असर व्यापारमा परेको हुनसक्छ । दर्शकलाई परिचित अनुहारमा बढी विश्वास नभएको पनि हुनसक्छ’, वितरक श्रेष्ठले बुझाइ छ ‘कलात्मकरूपमा अब्बल रहँदै बन्ने त्यस्ता चलचित्रलाई व्यावसायिक रूपमा तयार गर्नु नै चुनौती रहेको छ ।’ पछिल्लो समय नेपालमा कृति र ऐतिहासिक घटनाक्रमबाट चलचित्र बन्नेक्रम विस्तारै बढे पनि त्यस्ता चलचित्रले व्यावसायिक सफलता नपाउँदा सोचे जस्तो संख्यामा बन्न नसकेको धेरैको बुझाइ छ । 

(भेषराज कार्की\रासस)


Author

थप समाचार
x