सिनेमा

चलचित्र विकास बाेर्डमा मुद्दा​को चाङ लागेपछि ‘प्रसाद २’ निर्माता भन्छन् – रिलिजपछि पैसा तिर्छु, सहयोग गर्नुस्

इकागज |
चैत २०, २०७९ सोमबार १०:४३ बजे

काठमाडौँ - ‘प्रसाद २’का निर्माता सुवास थापाले चैत्रको २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रसाद २’ सहज रुपमा प्रदर्शन गरिदिन आग्रह गरेका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेका छन्–‘मैले माघ मै चलचित्र रिलिज गर्ने तयारीको कारण तिर्नुपर्ने रकम माघ पछिको भाखामा तिर्ने वचनवद्धता प्रकट गरेँ । तर, समयमा रिलिज हुन नसक्दा मेरो बचनवद्धतामा म चुकेँ । तथापि, अब रिलिजको सम्पूर्ण तयारीमा रहेको हुँदा चलचित्र प्रदर्शनमा सहयोग गरिदिनु हुन सबैमा अनुरोध गर्दछु । मेरो नियत खराब होइन । नियतिको कारण मैले वचन पुरा गर्न नसकेको हुँ । चलचित्र रिलिजपछि सबै रकम पहिला तिर्नुपर्नेलाई तिरेर मात्र म आफ्नो भागको रकम लिनेछु । हलबाट आउने रकम सबै चलचित्रसँग सम्बन्धित कुनै संस्थामा रहने र सबैको हिसाब त्यहीबाट तिर्नुपर्नेलाई दिई बाँकी रहेको रकम मलाई वुझाउने गरी गरेमा मेरो मन्जुरी छ । यो चलचित्रमा धेरैको मिहिनेत छ । तसर्थ, सबै मिलेर चलचित्र रिलिज हुने वातावरण बनाई सबैको रकम चलचित्र प्रदर्शनपछि प्राप्त हुने गरि गरिदिन हुन सबै सरोकारवाला संघ संस्था, व्यक्तिमा आग्रह गर्दछु ।’

उनले, सबैसँग सहयोगको अपेक्षा गर्दै आफ्नो नियत गलत नभएको समेत उल्लेख गरेका छन् ।सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् । चलचित्रको कथा सुशिल पौडेलले लेखेका हुन् । 
प्राविधिकदेखि कलाकारसम्मको पैसा नतिरेपछि निर्माता सुवास थापाविरुद्ध निर्माता संघदेखि चलचित्र विकास बोर्डसम्म मुद्दा परेका छन् । सुटिङ भएको कास्कीका ल्वाङ गाउँका बासिन्दाले समेत सुटिङको पैसा नतिरेको भनेर विकास बोर्डमा मुद्दा परेको खबर आएका थिए । 


चलचित्र विकास बोर्डले सोमबार बेलुकी प्राविधिकसँग राखेर निर्माता सुवास थापासँग सहमतिको प्रयास गर्ने बताइएको छ । तर निर्माता सम्पर्कमा नरहेको एक प्राविधिकले बताए । वितरक गोपालकाजी कायस्थले जिम्मा लिएर रिलिज गराउने प्रयास भइरहेको ती प्राविधिकले बताए । 


Author

थप समाचार
x