सिनेमा

‘हल्कारा’को ट्रेलर सार्वजनिक

इकागज |
चैत ३०, २०७९ बिहीबार १५:३६ बजे

काठमाडौँ- वैशाख २९ गते रिलिज हुने  चलचित्र ‘हल्कारा’को अफिसियल ट्रेलर रिलिज भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर रिलिज गरिएको हो ।

हरेक नेपालीको घरको कथा भन्ने यस चलचित्रको २ मिनेट ४४ सेकेण्ड लामो ट्रेलरमा हुलाक सेवाको सरकारी जागिरमा रहेको युवकको कथा देख्न सकिन्छ । ट्रेलरले रोजगारीको लागि विदेशिएको पुरुष र उसलाई पर्खेर बस्ने एक नारीको कथा समेत प्रस्तुत गरेको छ । गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई ट्रेलरमा देखाउने कोशिस गरिएको छ । चलचित्रमा अभिनेता त्रिपाठीले हल्काराको चरित्र निर्वाह गरेका छन् ।


महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।

चलचित्र मनोरञ्जक रहेको निर्देशक सापकोटाले बताए । 'यो चलचित्रलाई हामीले पूर्ण ‘मेनस्ट्रिम’मा रहेर बनाएका छौँ । यसको कथा भन्ने क्रममा पूर्ण मनोरञ्जनात्मक र व्यावसायिक दृष्टिकोणबाट बनाएका छौँ”, निर्देशकले भने ।

“यो चलचित्र मेरो लागि एक महत्वपूर्ण अवसर हो । यसमा कलाकारले आफ्नो चरित्रमार्फत नितान्त कलाकारिता देखाउने मौका पाएका छन् । मैले पनि यसमा साँच्चिकै अभिनय गर्ने मौका पाएको छु”, अभिनेता त्रिपाठीले भने । अभिनेत्री थापाले आफूले वर्षौँ लगाएर सिकेको अभिनयको अनुभव यो चलचित्रमा देखाउने मौका पाएको  बताइन् । 

यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक रहेको छ भने प्रोडक्सन साउण्ड ज्योति रानाको रहेको छ । ‘हल्कारा’का कलरिस्ट लियोनार्डो क्यान्डियन हुन् । काठमाडौँ उपत्यकामा जिजिए ग्रुपले वितरण गर्ने यो चलचित्रको एफडी कम्पनीले वितरण गर्नेछ । 

 


Author

थप समाचार
x