सिनेमा

हलमा आक्रामक ‘जारी’ : पहिलो दिन नै कमायो २ करोड १५ लाख

इकागज |
बैशाख २, २०८० शनिबार १५:२३ बजे

काठमाडौँ - नयाँ वर्षको दिन प्रदर्शन थालेको ‘जारी’ले पहिलो दिन ऐतिहासिक कमाइ गरेको छ । सिनेमाले कमाइमा नयाँ रेकर्ड कायम गर्दै पहिलो दिन नै २ करोड १५ लाख माथिको व्यापार गरेको वितरकको दाबी छ । फिल्मले पहिलो दिन शतप्रतिशत अकुपेन्सीका साथ प्रदर्शन यात्रा सुरु गरेको थियो ।

सोमबार बुकिङ खुलेसँगै पूर्वका सहरमा आक्रामक देखिएको फिल्म शुक्रबार एक सिट नछाडी हाउसफुल रहेको वितरकले बताएका छन् । फिल्मको काठमाडौँ बाहिर वितरण गरेका मनोज राठीले फिल्मको पूरा व्यापारको आँकडा आउने क्रम जारी रहे पनि फिल्मले २ करोड १५ लाखको ग्रस गरेको बताएका छन् । उनले केही हलबाट हिसाब आइनसकेकाले यो आँकडामा ५÷१० लाख हेरफेर हुन सक्ने बताएका छन् ।


‘२ करोड १५ लाखभन्दा बढी नै छ । हामीले हामीसँग प्राप्त डाटा मात्र उल्लेख गरेका हौँ । राति सम्पन्न सोको अझै हिसाब आइसकेको छैन ,’उनले भने । वितरक राठीले हिजो दिनमा सुख्खा मानिने स्टेसनमा पनि ‘जारी’ले हाउसफुल व्यापार गरेको बताएका छन् । उनले शनिबार पनि दर्शकको चाप उस्तै रहेकाले दोस्रो दिन पनि सोही हाराहारी व्यापार हुने बताएका छन् ।पूर्वतिर रहेका हलले राति दस बजेसम्मका सो राखेका छन् । धरान इटहरीका हल हाउसफुल भएपछि दर्शक फिल्म हेर्नकै लागि विराटनगरसम्म पुग्न थालेको समाचार छ । 

जनजाति समाजमा रहेको जारी प्रथालाई लिम्बू समाजको आँखाबाट प्रस्तुत गरेको फिल्मले प्रिमियरमा औधी प्रशंसा पाएको थियो । फिल्मले मनोरञ्जनसँगै लिम्बू संस्कृतिलाई कलात्मक हिसाबले प्रस्तुत गरेको छ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । फिल्ममा लेखनसमेत उनकै रहेको छ । 


 


Author

थप समाचार
x