सिनेमा

सडकदेखि ठूलो पर्दामा उदाएका सागर

इकागज |
बैशाख ५, २०८० मंगलबार ११:५३ बजे

काठमाडौँ- सपना हरेकले देख्छन् । तर, सबै सपना विपनामा परिणत हुँदैनन् । सपना पुरा गर्न अथक प्रयास गर्नेले एकदिन पक्कै सफलता पाउँछ । निरन्तर सपनाको उडान भरिरहेका सागर लामिछानेलाई सडकदेखि ठूलो पर्दासम्म पुर्‍यायो ।

हाल लामिछाने अभिनित चलचित्र ‘बिहे पास’ रिलिज भइसकेको छ । सानो पर्दाबाट बिहे पासको अभिनयसम्म आइपुग्दा लामिछानेलाई आफ्नो कलाकारितामा निखार आउँदै गरेको उनलाई लाग्छ ।


लामिछानेद्वारा अभिनित बिहे पास प्रवेश पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर बाङदेल, रविन्द्र झा र विशाल पहारीको मुख्य भूमिका छ ।

बिहे पासमा नेपाल प्रहरीको ‘सइ’को भूमिका उनी देखिएका छन् । समाजमा देखिने गलत प्रवृती, कमिसन र भ्रष्टाचारीलाई कानुनको दायरामा ल्याउनुपर्ने उनको मुख्य भूमिका छ ।

सुनसरी, रामधुनीका लामिछानेको कथा यतिमा मात्र सीमित छैन । एउटा मानिस थुप्रै कथा लिएर बाँचिरहेका हुन्छन् । उनीसँग पनि नलेखिएका कथाको चाङ छन् ।

उनले सुरुमा निजी बैंकमा जागिर खाए । जागिरको शिलशिलामा देशको भूगोल पनि नापे । आफूभित्रको कलाकारीतालाई भने मर्न दिएनन् ।

'लोकसेवा पास गरेर जागिर खाएको हुनाले फिल्मको कथावस्तुसँग आफ्नो जीवनसँग मेल खाने छ,’  उनी भन्छन्,’ लोकसेवा र सरकारी जागिरमा फोकस भएको हुनाले कथाले आफूलाई मजाले छोएको र आम युवासँग सम्बन्धित भएकोले फिल्म एकदमै व्यवहारिक छ भन्ने लागेको छ ।‘

सौखले डोर्‍याएर कलाकारीतामा पुगेका लामिछाने पेशाले बैंकका कर्मचारी हुन् । नेपाल बैंकको सुनसरीस्थित चक्रघट्टी शाखामा खजान्ची (क्यासियर) रूपमा कार्यरत छन् ।

अभिनयमा रुचि राख्ने सुरुदेखि उनले सडक नाटकबाट कलाकारिता सुरु गरे । सडकमा मानिसले भोगेका प्रत्यक्ष जीवन देखिने भएकाले पनि मैले सुरुवाती स्टेज सडकसँग जोडिएको उनले सुनाए । स्थानीय स्तरमा भएका स्टेज कार्यक्रममा सहभागी हुने गरेको लामिछाने बताउँछन् ।

‘सुरुमा स्टेज प्रोग्राममा देखिन्थे । स्टेजमा अभिनय र क्यारिकेचर गर्न सिपालु थिए जस्तो लाग्थ्यो,’ सुरुवाती चरणको विगत सम्झदै उनले भने,’ आफ्नो टोलमा भएको कुनै पनि सांगीतिक कार्यक्रममा सहभागी भएर प्रस्तुती दिन नपाउँदा पूरै दिन खल्लो महसुस भएको हुन्थ्यो ।‘

लामिछानेले कलाकारितासँगै आफ्नो अध्ययनलाई सँगसँगै लिएर अघि बढे । आफ्नो जागिरे जीवनसँगै कलाकारीतासँगै यात्रा गराएका थिए । त्यहीँ यात्राले आजसम्म अभिनयमा लाग्न प्रेरित गरिरहेको उनी बताउँछन् ।

पूर्वी नेपालमा जन्मे-हुर्केका सागर निजी बैंकको जागिरका क्रममा पूर्वी इलामसम्म पुगेका छन् । कार्यालयको बिदा हुँदा बाहिर भ्रमणमा निस्कदा अभिनय गरेर भिडियो बनाउँथे । सबैभन्दा बढी कलाकारको क्यारिकेचर गर्थे।

कलाकारितालाई मात्र आफ्नो पेशा बनाएनन् लामिछानेले । आफ्नो जीवनयापन सहज बनाउन नयाँ बाटो रोजे । उनले लोक सेवा आयोगको परीक्षा दिए । परीक्षा पास गरेर सरकारी बैंकको सेवामा छन् उनी ।  

पैसाको हिसाबकिताब गर्ने काममा भए पनि २९ वर्षीय सागरले आफ्नो कलामा मोह घट्न दिएका छैनन् । ‘ हरेक मानिसले आफूले बाँचिरहेको जीवनमा कला भेट्छन्,’ उनी गम्भीर सुनिए,’ मैले काम गर्दै गर्दा पनि आफ्नो सपनालाई मर्न दिएको छैन । कलाकारीता सौख भएकाले पनि यो क्षेत्रबाट टाढा जान सकेको छैन ।‘

उनी कलाकारीताप्रति आकर्षण घट्न नदिन सामाजिक सञ्जाल टिकटकमा उत्तिकै सक्रिय छन् । उनले हरिवंश आचार्य र केदार घिमिरे (माग्ने बुढाको) अभियन गरेका भिडियो टिकटकमा चर्चित बनेका थिए । उनी कलामा मात्र सीमित छैनन् । स्थानीय एफएममा कार्यक्रममा पनि चलाउथे ।   फरक-फरक स्वरमा उनले विभिन्न व्यक्तिका आवाज पनि निकाल्न सक्छन् ।


Author

थप समाचार
x