सिनेमा

‘मिराई’ को छायाङ्कनका लागि भारतबाट मोटरसाइकलमै काठमाडौँ आए अजित

इकागज |
बैशाख ५, २०८० मंगलबार १५:४८ बजे

काठमाडौँ- भारतीय अभिनेता अजित कुमार नेपालमा हुने छायांकनका लागि मोटरसाइकल चढेर आएका छन् ।  चलचित्रको छायाङ्कनका लागि अभिनेता कुमार मोटरसाइकलबाटै पूर्वी नेपालको झापा हुँदै काठमाडौँ आइपुगेका हुन् । अजितले चार दिनसम्म काठमाडौँमा छायांकन गर्ने कार्यतालिका रहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिए । छायाङ्कनको स्थानीय व्यवस्थापन  फ्लिकर्स आर्ट्स हेरिरहेको छ ।

अजितको फिल्मको वर्किङ टाइटल  ‘मिराई’  रहेको छ । छायांकनका लागि अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको छ । 'उनीहरूसँगै नेपाली प्राविधिकले काम गरिरहेका छौँ । उपत्यकाको विभिन्न स्थानमा चार दिनसम्म छायाङ्कन गर्ने तालिका तय भएको छ', निर्माण नियन्त्रक जोशीले भने । यही चलचित्रमा अभिनेत्री म्याडीको अभिनय पनि रहेको छ ।


अजित बाइकमा संसार घुम्न शौख राख्ने अभिनेता हुन् । सुटिङको बीचमा अजितले संसार घुम्‍ने गरेका छन् । अघिल्लो साल उनले बाइकमा यसैगरी युरोप भ्रमण गरेका थिए ।

चलचित्रमा विशेषतः दक्षिण भारतीय कलाकार तथा प्राविधिक रहेका छन् । पछिल्लो समय नेपालमा छायाङ्कनका लागि विदेशी चलचित्र आउने क्रम बढ्दो छ । भारतीय चलचित्र उचाइ, शृङ्खला, फर्जीलगायत नेपाल आएदेखि भारतीय निर्माण समूह भित्रिने क्रम बढिरहेको छ ।


Author

थप समाचार
x