सिनेमा

‘छक्का पञ्जा’का मालामाल शृंखला : कमाइ सय करोड, हरेक प्रदर्शनमा रेकर्ड

इकागज |
बैशाख ९, २०८० शनिबार १७:० बजे

काठमाडौँ - ‘छक्का पञ्जा ४’को चौथो शृंखलाले पनि ५१ औँ दिन मनाएसँगै ‘छक्का पञ्जा ४’ यस्तो फिल्म बनेको छ जसका चारै शृंखला ५१ दिन मनाउने फिल्म बनेका छन् । ‘छक्का पञ्जा ४’ले शनिबार मात्र १६ वटा हलमा ५१ दिन मनाएको निर्माता दीपाश्री निरौलाले जनाएकी छिन् ।

चारै फिल्मको सफलताले फिल्म क्षेत्रलाई व्यावसायिक मात्र बनाएको छैन बजारको आयतन पनि बढाएको छ । घाटाको व्यापारको रुपमा स्थापित चलचित्र क्षेत्रलाई यी शृंखलाको सफलताले नाफाको व्यापारमा परिणत गर्न मद्दत गरेको छ । यी शृंखलाको सफलता कतिसम्म छ भने यी फिल्मले ७ वर्षको अन्तरालमा १ करोड अर्थात् अर्ब हाराहारी कारोबार गरेका छन् ।


२०७३ सालको भदौको २५ गते यसको पहिलो शृंखला प्रदर्शनमा आएको थियो । यसअघिका सिरिजमा कलाकार र निर्माताको रुपमा देखिँदै आएकी दीपाश्री निरौलाले यो फिल्मबाट निर्देशन यात्रा थालेकी थिइन् । तर पहिलो निर्देशन यात्रा नै दीपाश्रीका लागि चिठ्ठा पर्यो । फिल्मले बक्स अफिसमा कमाइको नयाँ रेकर्ड कायम गर्यो र लगभग नेपाली सिनेमाबाट विलुप्त भएको सिल्भर जुब्ली परम्परा कायम राख्यो । यो फिल्मले काठमाडौँका विभिन्न हलमा सय दिने चलेर नयाँ रेकर्ड राखेको थियो । २४ वटा हलमा फिल्मले ५१ दिन मनाएको थियो भने यसको आधा संख्याका हलमा सय दिन पुर्याएको थियो । उसबेला सार्वजनिक भएका तथ्यांकअनुसार फिल्मले १८ करोड हाराहारी ग्रस व्यापार गरेको थियो । फिल्मले विदेशबाट पनि तीन चार करोड हाराहारीको व्यापार गरेको थियो । खासमा ‘लुट’पछि सुस्ताएको डायस्पोरा बजारलाई यही सिनेमाले सञ्जिवनी बुटी पिलाएको थियो ।

यसको दोस्रो भाग २०७४ सालको असोज ११ मा प्रदर्शनमा आएको थियो । यो फिल्म पहिलो भागको कमाइभन्दा थोरैले कम थियो तर मनाउनलाई यसले पनि ५१ दिन मनायो । फिल्मले १५ करोड ग्रस गरेको निर्माताको दाबी थियो । यो फिल्मले दर्जन बढी हलमा ५१ दिन मनाएको थियो । 

‘छक्का पञ्जा ३’ पनि बक्स अफिसमा दर्शक लोभ्याउने मामलामा पहिलाका दुई शृंखलाभन्दा अब्बल ठहरिएको थियो । २०७५ सालको असोज २४ गतेदेखि प्रदर्शनमा आएको फिल्मले पुराना दुई शृंखलालाई कमाइमा उछिन्दै १८ करोड ग्रस गरेको थियो । यो भागले पनि राजधानीका १३ वटा हलमा ५१ दिन मनाउँदै लामो समय चल्ने परम्परालाई निरन्तरता दिएको थियो ।  

२०७९ सालको फागुन १९ देखि प्रदर्शन थालेको यसको चौथो भागले पनि शनिबार ५१ दिनको यात्रा तय गरेको छ भने फिल्मले लगभग २० करोड ग्रस गरेको छ । वैशाख १ गतेदेखि रिलिज भएको ‘जारी’का कारण यसको सो र कमाइ दुवै खुम्चिएको थियो तर पनि प्राप्त सोमा फिल्मले उल्लेख्य दर्शक पाइरहेको छ । 

हलको कमाइबाहेक फिल्मले डायस्पोरा बजारबाट पनि राम्रो पैसा उठाउने गरेको छ । यसका हरेक शृंखलाले विदेशको बजारबाट मात्र ३ करोड हाराहारी कमाइ गर्ने गरेका छन् । यो निर्माताको भागमा आउने कमाइ मात्र हो । विदेशको बजारमा निर्मातासँग फिक्समा किनेर कमाइ गर्ने वितरकको आँकडा लगभग दोब्बर हुन्छ । 

‘छक्का पञ्जा’ले डिजिटल अधिकार बेचेर पनि राम्रो कमाइ गर्ने गरेको छ । पहिलो शृंखला यताका हरेक भागले ७० देखि करोडसम्म कमाउने गरेका छन् । योबाहेक फिल्मले ओटीटी र डिसहोमका च्यानलमा प्रदर्शन गरेर पनि राम्रै रकम जम्मा गरेका छन् । यसमा केही हिस्सा आईएमई जस्ता कर्पोरेट कम्पनीको पनि छ । फिल्मले ब्रान्डबाट मात्र पनि करोड हाराहारी उठाउने गरेको छ ।

यो सबै रकम एकमुस्ट हिसाब गर्ने हो फिल्मका चार भागले मात्र सय करोड हाराहारी ग्रस गरेका छन् । 


 
 


Author

थप समाचार
x