सिनेमा

चलचित्र 'हल्कारा'को चिठ्ठी लेखन प्रतियोगिता घोषणा, पहिलो हुनेलाई ५० हजार

इकागज |
बैशाख १०, २०८० आइतबार १०:४९ बजे

काठमाडौँ- वैशाख २९ गते रिलिज हुने नेपाली चलचित्र 'हल्कारा'ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । यस प्रतियोगितामा सहभागी हुन आफ्नो जीवनबाट टाढा भइसकेका, आफूले अत्यन्तै चाहेका, आफुले चाहेर पनि नपाएका अथवा आफुले सँधै सम्झिरहने व्यक्तिलाई पत्र लेख्नुपर्नेछ । उत्कृष्ट पत्र लेख्ने मध्ये पहिलो हुनेले रु. ५०,०००।-, दोस्रो हुनेले रु. ३०,०००।- र तेस्रो हुनेले रु. २०,०००।- प्राप्त गर्नेछन् ।


यस प्रतियोगिताको निर्णायकहरुमा विप्लव प्रतिक (कवि तथा साहित्यकार), मनोजबाबु पन्त ( चलचित्रकर्मी) र महेश त्रिपाठी (अभिनेता) रहेका छन् । प्रतियोगिताको मापदण्डमा रहेका पत्रहरुको रचनात्मकता, मौलिकता, विषयवस्तुको पालना, व्याकरण र हिज्जे र समग्र प्रभावलाई समीक्षा गरी उत्कृष्टता मापन हुनेछ ।

पत्र पठाउँदा २०८० बैशाख १० गतेदेखि चलचित्र 'हल्कारा' रिलिजको मिति बैशाख २९ गते भन्दा ९ दिन अगाडि वैशाख २० गते सम्म पठाइसकेको र वैशाख २५ गते सम्म पोस्ट बक्समा प्राप्त भैसकेको हुनुपर्नेछ । 'हल्कारा' रिलिजको मिति वैशाख २९ गतेभन्दा २ दिन अगाडि वैशाख २७ गते पुरस्कार घोषणा हुनेछ ।

आफ्ना भावनाहरू र तपाईंको हृदयले व्यक्त गर्न चाहेका अलिखित कुराहरुलाई व्यक्त गर्ने माध्यमको रुप हुनसक्छ भन्ने पत्र लेखन प्रतियोगिताको प्रमुख उद्देश्य रहेको चलचित्रका निर्देशक बिक्रम सापकोटाले बताए । सापकोटाले भने, "हामी तपाईंका पत्रहरु पढ्नको लागि पर्खिरहेका छौँ । उत्कृष्ट पत्र लेख्न सक्ने ३ जनालाई पुरस्कार पनि प्रदान गर्दैछौँ ।"

 गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई यस चलचित्रले प्रस्तुत गर्छ । चलचित्रमा अभिनेता महेश त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गरेका छन् । यो चलचित्रलाई कालीपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ । यो चलचित्रले विभिन्न प्रतिष्ठित अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागिता जनाई उत्कृष्ट अभिनेता, सिनेमाटोग्राफी एवं उत्कृष्ट चलचित्र बनिसकेको छ ।

महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।



Author

थप समाचार
x