सिनेमा

२५ वर्षपछि करण जोहरको फिल्ममा काम गर्दै सलमान खान

इकागज |
बैशाख १४, २०८० बिहीबार १४:५ बजे

मुम्बई - बलिउडमा यशराज फिल्मपछि ठूलो संख्यामा फिल्म बनाउने करण जोहर र सलमान खान २५ वर्षपछि फिल्ममा सँगै काम गर्ने भएका छन् । सन् १९९८ मा रिलिज भएको ‘कुछ कुछ होता है’मा दुवैले पहिलो पटक सहकार्य गरेका थिए । शाहरुख खान र काजलको मुख्य भूमिका रहेको फिल्ममा  सलमान खान अतिथि भूमिकामा थिए । थुप्रै हिरोले अतिथि भूमिका गर्न अस्वीकार गरेको समयमा सलमानले भने स्क्रिप्ट पनि नहेरी फिल्म खेल्न राजी भएको करण जोहरले बताउने गरेका छन् । 
त्यसयता शाहरुखलाई लिएर लगातार फिल्म बनाएका करण जोहरले शाहरुखलाई अतिथि भूमिकामा भए पनि छुटाउने गरेका छैनन् । करण जोहरको पछिल्लो रिलिज ‘ए दिल है मुस्किल’मा  पनि शाहरुखले छोटो भूमिकामा अभिनय गरेका छन् ।

तर सलमानसँग भने करण जोहरको काम गर्ने संयोग न आफूले निर्देशन गरेको फिल्ममा जुरेको थियो न निर्माण गरेको फिल्ममा । अब भने जुर्ने भएको छ । आउँदो वर्षको यही समयमा रिलिज हुने गरी फिल्मको काम अगाडि बढिरहेको छ ।आउँदो वर्षको इदमा रिलिज हुने गरी निर्माणको तयारी भइरहेको फिल्मको बाँकी जानकारी भने गोप्य राखिएको छ । फिल्मको निर्देशक र बाँकी कलाकार सार्वजनिक भइसकेका छैनन् । 



Author

थप समाचार
x