सिनेमा

अमेरिकाको सनडान्स ल्याबमा ‘लोरी’ निर्देशक अविनाशको नयाँ फिल्म

इकागज |
बैशाख १५, २०८० शुक्रबार १६:१८ बजे

काठमाडौँ - सर्ट फिल्म ‘लोरी’बाट कान्समा जुरी मेन्सन अवार्ड जित्न सफल अविनाशविक्रम शाहको नयाँ फिल्म सनडान्सको स्क्रिप्ट ल्याबमा छनौट भएको छ । सन्डान्स इन्स्टिच्युटले मंगलबार सन् २०२३ को निर्देशन तथा पटकथाको ल्याबमा छनौट भएका फिल्मकर्मीको सूची सार्वजनिक गरेको हो । यसमा अविनाशको नयाँ फिल्म ‘एलिफेन्ट इन दि फग’ स्क्रिनराइटर्स ल्याबमा छनौट हुन सफल भएको हो । 

स्क्रिन राइटर्स ल्याब जुनको २० देखि २३ सम्म अनलाइन चल्नेछ । अनलाइन सेसनमा विज्ञहरूले कथा वाचन र पटकथा लेखनमा रचनात्मक सुझावहरू दिनेछन् ।
नेपाल र फ्रान्सको सहनिर्माणमा तयार भएको अविनाशको ‘एलिफेन्ट इन दि फग’ले चितवनको पृष्ठभूमिमा ट्रान्सजेन्डर महिलाको कथा भन्छ । समलिंगीे समुदायको नाइके मानिने पिरती आफूले मनपराएको मान्छेसँग साधारण जीवन बिताउने सपना देखिरहेकी हुन्छे । तर एक दिन अचानक समुदायको एक सदस्य गायब हुन्छे । पिरतीले आफ्नो स्वार्थ हेरेर प्रेमीसँग जीवन बिताउने कि समुदायका लागि लड्ने दुविधाको कथा फिल्मले प्रस्तुत गर्छ । 


सर्ट फिल्म बनाएर सार्क फिल्म फेस्टिभलदेखि अन्य धेरै ठूला फेस्टिभलमा अवार्ड जितेका शाहको यो अर्को फिचर फिल्म हो । उनले नै लेखेको ‘झ्यालिन्चा’ले पनि विदेशबाट फन्डसहित केही ल्याबमा जाने मौका पाएको थियो । तर यो फिल्म सुटिङमा भने जान सकेको छैन । अमेरिकामा प्रतिष्ठित मानिने सनडान्स इन्स्च्यिुटले हरेक साल सनडान्स फिल्म फेस्टिभलको पनि आयोजना गर्ने गरेको छ । 


Author

थप समाचार
x