सिनेमा

सय करोड क्लबमा सलमानको १६ औँ फिल्म

इकागज |
बैशाख १८, २०८० सोमबार १२:१० बजे

मुम्बई - बलिउडमा सय करोड क्लबको सुरुवात गर्ने श्रेय आमिर खानलाई जान्छ । उनको अभिनय रहेको ‘गजनी’ भारतमा सय करोड कमाउने पहिलो फिल्म थियो । तर, बक्स अफिसमा कोसेढुंगो मानिने सय करोड क्लबको राजा भने सलमान मानिन्छन् । आइतबार ‘किसीका भाइ किसीका जान’ सय करोड क्लबमा प्रवेश गरेसँगै सलमान अभीनित १६ औँ फिल्म यो क्लबको सदस्य बनेको छ । 

यो क्लबमा प्रवेश गर्ने ‘दबङ’ पहिलो फिल्म थियो । त्यसयता सलमानका ‘रेडी’, ‘बडीकार्ड’, ‘एक था टाइगर’, ‘दबङ २’, ‘जय हो’ ‘किक’, ‘बजरंगी भाइजान’, ‘प्रेमरतन धन पायो’, ‘सुल्तान’, ‘ट्युबलाइट’, ‘टाइगर जिन्दा है’, ‘रेस ३’, ‘भारत’ र ‘दबङ ३’ले सय करोड कमाएका छन् । 


सलमान अभीनित पछिल्ला फिल्मले गतिलो समीक्षा पाएका छैनन् । सय करोड कमाए पनि ‘ट्युबलाइट’ ‘रेस ३’, ‘भारत’ र ‘दबङ ३’ले गतिलो समीक्षा पाएका थिएनन् । तर कमजोर फिल्मले सय करोड कमाउने मामलामा पनि सलमान अगाडि छन् ।

त्यसैले उनले आफ्ना फ्लप फिल्मले पनि सय करोड कमाउने दाबी गर्दै आएका छन् ।‘किसीका भाइ किसीका जान’ ले ध्वस्त समीक्षा पाउँदा पनि सय करोड कमाएसँगै सलमानको उक्ति चरितार्थ भएको छ । वर्षको अन्त्यमा सलमान ‘टाइगर’ सिरिजको तेस्रो फिल्ममा देखिनेछन् । 


Author

थप समाचार
x