सिनेमा

दर्शक नचाउन बिहीबारदेखि हलमा ‘ज्याकी’

इकागज |
बैशाख २१, २०८० बिहीबार १०:४५ बजे

 काठमाडौँ – नेपालको पहिलो डान्स ड्रामा दाबी गरिएको ‘ज्याकी : आए ट्वान्टी वन’ले बिहीबारदेखि हल यात्रा सुरु गरेको छ । शुक्रबार रिलिज हुने परम्परालाई अटेर गर्दै विना बिदा पनि यो फिल्म बिहीबार सार्वजनिक भएको हो । 

सार्वजनिक प्रदर्शनमा जानुअघि फिल्मले मंगलबार प्रिमियर गरेको थियो । काठमाडौंको आइ प्लेक्स मलस्थित वान सिनेमाज्मा आयोजना गरिएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को प्रिमियरमा फिल्मीकर्मी र पत्रकारले फिल्ममाथि मिश्रित प्रतिक्रिया दिए ।


२ घन्टा २० मिनेट लामो फिल्मले नेपाली फिल्मले भन्दै आएको एउटै शैलीको कथालाई भत्काएको प्रतिक्रिया निर्देशक प्रदीप भट्टराइले दिए । उनले भने‘नेपाली फिल्ममा जे बिक्छ त्यही बनाउने चलन छ । तर, रिनशा राई रानाले यो ट्रेन्डलाई भत्काइदिनुभएको छ । अब, फिल्म बनाउने मेकरका लागि पनि नयाँ बाटो यो फिल्मले खोलिदिएको छ ।’

नायिका प्रियंका कार्कीले फिल्म हेरेर आफ्नो आँखालाई आनन्द आएको बताइन् । नेपाली फिल्म क्षेत्रको पहिलो डान्स ड्रामाको रुपमा रहेको फिल्मले नयाँ सोच बोकेको अर्की नायिका शिल्पा मास्केको भनाइ थियो । फिल्ममा कलाकारको मेहनत देखिएको यी दुई नायिकाको भनाइ थियो ।नायिका अना शर्माले फिल्म हेरेर आफूले पूर्ण रुपमा मनोरञ्जन लिएको बताइन् । नेपालमा पनि यस्तो उत्कृष्ट काम गर्ने डान्सर रहेको भन्दै उनले खुसी व्यक्त गरिन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष तथा नायक भुवन केसीले फिल्म पूर्ण रुपमा मनोरञ्जनात्मक बनेको र सन्देश पनि दिने खालको रहेको बताए । नेपालमा यो स्तरको फिल्म बन्नु आफैमा सुखद कुरा भएको उनको भनाइ थियो ।

फिल्म हेरेर नायिका केकी अधिकारी र रिमा विश्वकर्माले पनि खुलेरै तारिफ गरे । नेपालमा यस्तो कथामा फिल्म बनाउनु आफैँमा चुनौतीपूर्ण रहेको भन्दै उनीहरुले निर्देशकको काम, कलाकारको काम र प्राविधिकहरुको मेहनेतको खुलेर तारिफ गरे ।

फिल्म हेर्न वान सिनेमाज् पुगेका अधिकांश फिल्मीकर्मीले नेपाली फिल्मको स्तर माथि पुगेको भन्दै खुसी व्यक्त गरेका छन् ।रेनेशा वान्तवा राईको निर्देशनमा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले एउटा २१ वर्षको युवाको हिपहप डान्सर बन्ने सपनाको कथा भन्छ । प्रिमियरबाट पाएको प्रतिक्रियाले आफू अत्यन्त उत्साहित भएको र आफूहरुको मिहिनेत सफल भएको निर्देशक रिनाशाले बताइन् ।

यस्तै, नायिका जसिता गुरुङ फिल्ममा काम गर्दाको मिहिनेत सम्झिएर भावुक भइन् । उनले, फिल्म हेर्न प्रिमियरमा पुग्ने अधिकांशको प्रतिक्रियाले उत्साहित बनाएको बताइन् । नायक धिरज मगरले पनि फिल्मका लागि ३ वर्ष मिहिनेत गरेको र आज सुखद प्रतिक्रिया पाउँदा खुसी लागेको बताए । 
 


Author

थप समाचार
x