सिनेमा

बंगलादेशमा रिलिज हुँदै ‘पठान’, ५२ वर्षपछि भारतीय फिल्मलाई रिलिजको अवसर

इकागज |
बैशाख २२, २०८० शुक्रबार ११:३२ बजे

मुम्बई – बलिउड फिल्म ‘पठान’ बंगलादेशमा रिलिज हुने भएको छ । सन् १९७१ मा बंगलादेशको स्वतन्त्रतापछि रिलिज हुन लागेको यो पहिलो भारतीय फिल्म हो । नयाँ देश बनेसँगै देशको फिल्म उद्योगलाई स्थापित गर्ने भन्दै बंगलादेशले भारतीय फिल्मलाई प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध हटाउने बारम्बारका प्रयासका बावजुद बंगलादेश सरकार भारतीय फिल्म रिलिज गर्न राजी भएको थिएन ।

लगभग ५२ वर्षपछि बंगलादेश सरकार ‘पठान’ रिलिज गर्न दिने निर्णयमा पुगेको छ । सन् २००९ मा अर्को बलिउड फिल्म ‘वान्टेड’ रिलिज भएको थियो । तर ५० हलमा लाग्ने तरखरमा रहेको फिल्म स्थानीय फिल्मकर्मीको विरोधका कारण हलबाट निकालिएको थियो । गत फ्रेब्रुअरीमा बंगलादेशमा रहेका १९ वटा फिल्मी संघसंस्थाको सामूहिक बैठकले वर्षमा १० वटा हिन्दी फिल्मलाई रिलिज गर्न दिने निर्णय गरेको थियो ।


‘पठान’यो निर्णयको फाइदा लिने पहिलो फिल्म बन्न पुगेको छ । गत जनवरीमा रिलिज भएको ‘पठान’ यशराज फिल्मको स्पाई युनिभर्सको पहिलो फिल्म हो । फिल्ममा शाहरुख खान, जोन अब्राहम र दीपिका पादुकोनको मुख्य भूमिका रहेको छ । फिल्मले घरेलु बजारमा मात्र ५ सय करोडको कमाइ गरेर कीर्तिमान बनाएको थियो । विश्वभरबाट कमाउने मामलामा भने ‘पठान’ ५ औँ स्थानमा छ । योअघि ‘दंगल’, ‘बाहुबली’, ‘बाहुबली’ र ‘केजीएफ २’ छन् । ‘पठान’ यही मे महिनाको १२ तारिख रिलिज हुनेछ । 


Author

थप समाचार
x