सिनेमा

नम्रताको ‘ग्रहण’ बन्यो ‘ह्यासट्याग माया’, आगामी सातादेखि छायांकन

इकागज |
बैशाख २२, २०८० शुक्रबार १४:५७ बजे

काठमाडौँ-  बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा चलचित्र ‘ह्यासट्याग माया’ (#माया) को मुहूर्त गरिएको छ । राजीव गुरुङको निर्देशनमा बन्ने चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको अभिनय रहने छ । शुक्रबार विहान सम्पूर्ण कलाकारको उपस्थितिमा मुहूर्त गरिएको हो । 

पहिला यही फिल्म ‘ग्रहण’नाममा बन्ने गरी सिक्किममा औपचारिक घोषणा भएको थियो । उसबेला फिल्ममा विनय श्रेष्ठ पनि थिए । नयाँ नामसँगै यो फिल्मबाट विनय बाहिरिएका छन् । उनको ठाउँमा रोय श्रेष्ठले अिभनय गर्नेछन् ।


निर्माण समूहले शुक्रबार विहान पूजा गर्दै चलचित्रको छायांकन आउँदो साताबाट सुरु गरिने जानकारी दिएको छ । निर्देशक गुरुङ चलचित्रको छायांकन काठमाडौंबाट सुरू भई पोखरा, बर्दिया हुँदै धरानमा सकिने जानकारी दिए । ‘पैँतालीस दिनको सेड्युल तय गरेर छायांकन सुरु गर्दैछौं । थ्रिलर विधामा निर्माण हुने चलचित्रमा प्रेमकथा पनि देख्न पाइनेछ’, निर्देशक गुरुङले भने । विदेशबाट फिल्म सम्बन्धी अध्ययन गरेर फर्किएका गुरुङले यो कथामा काम गरेको लामो समय भएको बताए ।  

शर्मिला थापाको निर्माण रहने चलचित्रको कथा मायामै केन्द्रित रहनेछ । अभिनेत्री श्रेष्ठ यसमा शीर्ष भूमिकामा छिन् । उनले एरियल योगा इन्स्टक्टरको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी थिइन् । ‘निर्माण समूहको मेहनत र लगाव देखेर नै मैले चरित्र निर्माणमा समय खर्चिएकी हुँ। चलचित्रलाई लिएर उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौँ’,अभिनेत्री श्रेष्ठले भनिन् । 

चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृङ्गार रहनेछ । यसको कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन  म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेका छन् ।


Author

थप समाचार
x