सिनेमा

हलमा चलिरहेका चलचित्रको व्यापार

'जारी'ले कमायो १५ करोड, ‘ज्याकी' ले दुई दिनमा कमायो जम्मा २० लाख

इकागज |
बैशाख २३, २०८० शनिबार १२:३५ बजे

काठमाडौँ- चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छन् ।  तर वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ अरुमाथि भारी छ । ‘जारी’पछि वैशाख १५ मा ‘नाइँ नभन्नु ल ६’ , ‘प्रसाद २’  र 'कैदीको पत्र' रिलिज भएका थिए । जसमा  'कैदीको पत्र' र 'नाइँ नभन्नु ल ६’ हलबाट लगभग उत्रिसकेका छन् भने ‘प्रसाद २’ हलमा टिक्न संघर्ष गरिरहेको छ ।

 चलचित्र विकास बोर्डमा बक्सअफिसको विवरणअनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ ले रु १५ करोडभन्दा बढीको व्यापार गरेको छ । शुक्रबार र शनिबार हुने व्यापारकोसमेत अन्य चलचित्रको तुलनामा ‘जारी’ कै राम्रो छ । वैशाख १५ गतेदेखि प्रदर्शनरत ‘प्रसाद २’ र ‘नाईँ नभन्नु ल ६’ को सो सङ्ख्या घट्नाका साथै दर्शक पनि घटेका छन् ।


प्रदर्शनको एक साता पार गर्दा ‘नाईँ नभन्नु ल ६’ ले रु २५ लाख र ‘प्रसाद २’ ले रु ७० लाखको व्यापार गर्न सफल भएका छन् । उल्लिखित विवरणमा १८ प्रतिशत कर कट्टा गरी प्राप्त रकम चलचित्र भवन र वितरकले सहमतिअनुसार भागबन्डा लगाउने गर्दछन् ।

यस्तै वैशाख २१ गतेदेखि प्रदर्शनरत चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ ले दुई दिनमा रु २० लाखको हाराहारीका व्यापार गरेको छ । यो निकै न्यून व्यापार हो । नयाँ वर्षपछि प्रदर्शनमा ल्याइएका अन्य चलचित्र पनि दर्शकको रोजाइमा पर्न नसकेको व्यापारले स्पष्ट पारेको छ ।

चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले चलचित्र ‘जारी’ ले थप व्यापार गर्ने संकेत गरे । । “जारीले गरिरहेको व्यापारलाई मध्यनजर गर्ने हो भने यसको   व्यावसायिक अङ्क अझै बढ्ने देखिन्छ, अन्य चलचित्रको व्यापार सार्वजनिक भएका विवरणकै आसपासमा छ”, बोर्डका सदस्य अधिकारीले भने ।


Author

थप समाचार
x