सिनेमा

चलचित्रको रङ र चित्रकलाको रङमा के फरक छ ?

इकागज |
बैशाख २५, २०८० सोमबार १०:३ बजे

काठमाडौं - नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आइतबार ‘चलचित्र र क्यानभास’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, चलचित्रकर्मी नीर शाह निर्देशक छिरिङ रितार शेर्पा, चलचित्र निर्देशक समाजका निवर्तमान अध्यक्ष तथा सम्पादक, निर्देशक रक्षा सिंह राणा, रङ संयोजक कपिल पराजुली, कला निर्देशक निर्जल श्रेष्ठ, कलाकार अशोकमान सिंह आदिको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ले चलचित्रलाई साहित्य, कला र संगीतको समुच्च विधाको रुपमा व्याख्या गर्दै  आगामी दिनमा चलचित्रमा ललितकलाका विषयलाई पनि समेट्न आग्रह गरेका थिए । 
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले चलचित्रलाई अलिकति फराकिलो दायरामा लैजाने उद्देश्यले कार्यक्रम गरेको जानकारी दिएका थिए ।  
छायाँकार दिपक बज्राचार्यले चलचित्रको एलिमेन्ट्स र चित्रमा प्रयोग गर्ने एलिमेन्ट्स मिल्ने बताएका थिए । चलचित्र निर्देशक रक्षा सिंह राणाले क्यानभासलाई आफूले एउटा भिजन भनेर बुझ्ने बताएकी थिइन् । उनले भनिन् , ‘आर्टिस्टले क्यानभासमा जे गर्नुहुन्छ । चलचित्रमा गर्ने त्यही नै हो । माध्यम मात्र फरक हो ।’


चलचित्रकर्मी नीर शाहले क्यानभास आफैँमा अनेकथरी अर्थ बोकेको वस्तु भएको बताएका थिए ।  ‘ क्यानभासको प्रारम्भिक स्वरुप सेतो हुन्छ । त्यहाँ जसले जे गर्दा पनि हुन्छ । जुन पेन्टिङलाई तपाईहरु अमूर्त भन्नुहुन्छ त्यसको पराकाष्टा नै क्यानभास हो । क्यानभासमा रङ हुँदैन तर क्यानभासमा रङ हुन्छ । रङविहीन हुनु पनि एउटा रङ हो ’उनको भनाइ थियो । प्रत्येक रङकोे प्रतीकात्मक बुझाइ हुने भन्दै उनले चलचित्रकर्मीले रङलाई कोरा रङकै रुपमा मात्र बुझ्न नहुने धारणा राखेका थिए ।  
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली कार्यक्रममा पावर प्वाइन्ट प्रिजेन्टेसन मार्फत ‘चित्रकलामा चलचित्र र चलचित्रमा चित्रकला’ विषयमा आफ्नो धारणा राखेका थिए । 
 


Author

थप समाचार
x