Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सिनेमा

'हुक्का' मा नयाँ फ्लेभर ल्याउने तेज

इकागज |
बैशाख २५, २०८० सोमबार १६:१ बजे

पोखरा - अभिनेता तेज गिरी काभ्रेमा जन्मिएर हेटौंडामा हुर्किएर हाल काठमाडौंमा बसे पनि १० वर्षदेखि पोखरासँग नजिक छन् । उनलाई चिन्नेले ‘पोखरेली’ नै भनेर चिन्दछन् । यिनै तेज पोखराकै फिल्मकर्मीले निर्माण गरेको फिल्म ‘हुक्काः एन एब्जर्ड ड्रिम्स’मा विशेष भूमिकामा देखिँदैछन् । फिल्म आगामी जेठ १२ गतेबाट रिलिज हुँदैछ ।

फिल्ममा तेज उनकै भनाइमा ‘ट्विस्ट’ ल्याउने चरित्रमा छन् । यसअघि ‘धौली’ र ‘प्रेमगन्ज’मा दमदार अभिनय गरि चर्चा कमाई सकेका तेज ‘हुक्काः एन एब्सर्ड ड्रिम’बाट आशावादी छन् । यो फिल्म उनको “प्रेमगन्ज“ भन्दा पहिले नै छायांकन भएको फिल्म हो । विविध कारण रिलिज भने “प्रेमगन्ज“ भन्दा पछि हुन गयो ।
‘धौलीमा मेरो चरित्र माया लाग्दो थियो । आमाको संघर्षमा साथ दिइरहेको पात्रको भूमिका निभाएको थिएँ । जो आफ्नो दाईलाई भेट्नका अतेन्तै भौतारिन्छ्न’, तेज भन्छन्, ‘हुक्काः एन एब्सर्ड ड्रिममा चाहिँ अलिक फरक टाइपको चरित्र छ । म पूर्ण सकारात्मक र पूर्ण नकारात्मक भन्दा पनि अलिक मध्यम किसिमको चरित्रमा देखिएको छु । फिल्मको कथामा ‘ट्वीस्ट’ ल्याउने पात्रको भूमिका निभाएको छु ।’

फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम्स’ फिल्म ‘धौली’को टिमले निर्माण गरेको हो । ‘धौली’मा अभिनय गरेपछि यो टिमसँग एक दशकदेखि नजिकिएका तेज ‘हुक्काः एन एब्सर्ड ड्रिम’मा जोडिएका हुन् । ‘फिल्मको स्क्रिप्ट इन्टरटेन किसिमको छ । पश्चिम क्षेत्रको माटो, हावापानीसँगै पोखरा आसपासको भाषालाई अत्यन्त सुन्दर ढंगले फिल्ममा प्रस्तुत गरिएको छ’, तेज खुल्छन् ।

तेजको बुझाईमा ‘हुक्काः एन एब्सर्ड ड्रिम्स’ले हुक्काको परिभाषालाई फेरेको छ । ‘हामी हुक्का भन्नासाथ हुक्का तान्ने, धुँवा नै उडाउने भन्ने सोच्छौं । तर फिल्मले पुर्खाले प्रयोग गर्ने हुक्कालाई देखाउन खोजेको छ । हुक्काको परापूर्वकालमा छुट्टै महत्व थियो । फिल्मले हुक्का वा अन्य कुनै पनि वस्तुको लतले मान्छेले केकेसम्म गर्छ भन्ने कुरालाई देखाउन खोजेको छ’, उनी भन्छन्,‘हुक्कालाई सिम्बोलिक माध्यम बनाइएको छ । हुक्कालाई एक प्रतीष्ठासंग जोडिएको छ । त्यसमा प्रेम, धोका पनि हुनसक्छ । त्यो लतले मानिसलाई कहाँसम्म पु¥याउन सक्ने भन्ने कुरालाई उठान गरेको छ ।’

तेजको अनुभवमा नेपालमा बनेका अधिकांश फिल्ममा पुरुषलाई प्राथमिकता दिए पनि ‘हुक्काः एन एब्सर्ड ड्रिम्स’ले महिला चरित्रलाई ‘हिरो’को रुपमा प्रस्तुत गरेको छ । ‘फिल्मको कथाले समाजको पात्रलाई रिलेट गर्छ । निम्न वर्गीय र मध्यम वर्गीय संघर्षको कुरालाई उठान गरेको छ’, तेज भन्छन्, ‘घरको समस्याभन्दा पनि जीवनमा आउने उतारचढावलाई कसरी समाधान गर्न सकिन्छ भन्ने र एउटा पारिवारिक कलहलाई कसरी शान्त मोड दिन सकिन्छ भन्ने हुक्काले देखाएको छ ।’

शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।



Author

थप समाचार
x