सिनेमा

'नीरफूल'को लिरिकल भिडियो 'जिन्दगीकै ढुङ्गा' सार्वजनिक

इकागज |
जेठ ९, २०८० मंगलबार १५:१८ बजे

यही जेठ २६ गते प्रदर्शन गरिने चलचित्र ‘नीरफूल’ को 'लिरिकल भिडियो' सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको प्राकृतिक दृश्यसँगै विपत्तिपछि एउटा परिवारमा आएको हलचल प्रस्तुत गरिएको छ । चलचित्रमा विसं २०७२ को भूकम्पमा परेर परिवारका सदस्य गुमाएको कथाबस्तु समेटिएको छ ।

गीतमा राजेश पायल राईको स्वर र चन्द्रकुमार दोङको संगीत रहेको छ । सेलो सङ्गीतमा आधारित गीतको लिरिकल भिडियोमा दयाहाङ राई आफ्नो परिवारसँग रमाइरहेका देखिन्छन् तर भूकम्पपछि परिवारका सदस्य गुमाउनुपर्दाको दुःख र पीडाहरु पनि प्रस्तुत गरिएको छ । दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकीको अभिनय रहेको यस चलचित्रको निर्देशन फूलमान वलले गरेका हुन् ।


पटकथा लेखकसमेत रहेका  निर्देशक वल चलचित्र भूकम्पले तोडेको सम्बन्धलाई जोड्न गरिएको प्रयत्नको रुपमा तयार गरेको बताउँछन् ।  धादिङको रुवीभ्याली र रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौँमा छायाङ्कन गरिएको यस चलचित्रमा अभिनेत्री रेखा थापाको विशेष भूमिका रहेको छ ।

प्रमोद कार्कीले खिचेको  चलचित्रमा सचिन घिमिरे एशोसिएट निर्देशक, निमेष श्रेष्ठको सम्पादन एवं अर्जुन पोखरेल तथा चन्द्रकुमार दोङको सङ्गीत रहेको छ । नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको यस चलचित्रमा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको पनि अभिनय छ ।

सोनाम डोमा कार्यकारी निर्माता रहेको यस चलचित्रमा निर्माताका रुपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा र ईन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा र विके श्रेष्ठलगायत रहेका छन् ।

 


Author

थप समाचार
x