‘नीरफूल’ नेपालको अनुहार देखिने नेपाली फिल्म हो
फूलमान वलका अनेक परिचय छन् । कान्तिपुर दैनिकमा लामो समय कला बिटमा रिपोर्टिङ गरेका वलका ‘महाभारतकी मैच्याङ’ कविता संग्रह र ‘काजोल खातुन’ शीर्षकका कथा संग्रह प्रकाशित छन् । उनले ‘सेलफोन’ नामको लुघ चलचित्र पनि निर्देशन गरेका छन् । काठमाडौँका थिएटरमा मञ्चित केही नाटकका नाटककार वल अहिले नेपाल टेलिभिजनको महाप्रबन्धक पनि हुन् । आउँदो शुक्रबारबाट वल ‘नीरफूल’मार्फत् फिचर फिल्म निर्देशकको पनि परीक्षा दिँदैछन् । उनको लेखन तथा निर्देशन रहेको फिल्म यही शुक्रबार प्रदर्शन हुँदैछ । यही सन्दर्भमा निर्देशक बलसँग इकागजले गरेको कुराकानीको सार संक्षेप :
अभिव्यक्तिका धेरै माध्यममा सक्रिय र स्थापित पनि हुनुहुन्थ्यो । फेरि फिचर फिल्म निर्देशन गर्ने सोच कसरी आयो ?
हो, मैले कथा कविता समाचार, लघु फिल्म सबैतिरबाट समाजका कथा भनिरहेकै थिएँ । यसमा पनि मैले लामो समय पत्रकारिता गरेँ । तर पत्रकारिताका सीमा छन् । कथा, कविता, नाटक र लघु चलचित्रका पनि आफ्नै सीमितता छन् । फिचर फिल्ममा चाहिँ सीमा नहुने होइन तर यदि यो सीमा चिरेर राम्रो कथा वाचन गर्न सकियो भने यसले पार्ने प्रभाव वृहत छ । मैले मात्र होइन, संसारका धेरै मान्छेले नै चलचित्रलाई अभिव्यक्तिको सबैभन्दा सशक्त माध्यमको रुपमा व्याख्या गर्दै आएका छन् । समयसँगै हिँड्नु पर्छ भन्ने कुराले प्रेरित भएर नै निर्देशन गर्ने सोचेको हो । तर यो साहस गर्नमा ‘नीरफूल’को कथाको पनि योगदान छ ।
भन्न मिल्छ कि ?
मज्जाले मिल्छ । पहिला त निर्देशन गरिहालुँला भन्ने त सोचेको थिइँन तर भूकम्प गएको साल आफू काम गर्ने कान्तिपुर दैनिककै धरानका सहकर्मी प्रदीप मेयाङ्बोले लेखेको एउटा समाचारले मलाई भावुक बनायो । ‘आमा खोई’ शीर्षकको यो समाचारमा पहिरोमा बाँच्न सफल ८ वर्षीय बालकले पहिरोमा परी बितेकी आमा खोजिरहेको समाचार थियो ।
असारको महिनामा संखुवासभाको पाथिभरा थाप्राङमा गएको पहिरोमा परी आमा र उनको ३ वर्षको भाइको मृत्यु भएको थियो । घाइते उनलाई उद्धार गरेर धरान ल्याइएको थियो । तर नेपाली भाषा बोल्न नजान्ने उनी ‘आमा निभा?’‘आमा निभा?’ भन्दै आमा खोजिरहेका थिए । चिकित्सक उनको कुरा बुझिरहेका थिएनन् । बल्ल तल्ल गाउँकी दिदी आएपछि ‘आमा निभा?’ भनेको ‘आमा खोई’ भनेर सोधेको अस्पताल र चिकित्सकले मेसो पाएका थिए । तामाङ भाषा नबुझ्दा भएको समस्या आफू पनि त्यही समुदायको भएकोले रोचक लाग्यो । यही कुरालाई भूकम्पसँग जोडेर प्रस्तुत गराउन पायो भने रमाइलो हुन्छ जस्तो लागेर ‘नीरफूल’ जन्मिएको हो । किनकि यही समयमा भूकम्पका कारण् ७ सय ५० बालबालिका हराइरहेको समाचार पनि आएका थिए ।
नाम चाहिँ ‘नीरफूल’ राख्नुभाको छ ? कथा र पृष्ठभूमि सुन्दा त चलचित्रको शीर्षक अरु नै केही हुनुपथ्र्यो कि जस्तो लाग्यो । कि केही सार्थकता छ यो शीर्षकमा ?
खासमा यो अन्तिम ड्राफ्टमा जन्मिएको नाम हो । सबैभन्दा पहिला मैले यो फिल्मको स्क्रिप्ट लेखिरहँदा उही ‘आमा निभा’ भनेर नै राखेको थिएँ । पछि फेरि ‘लस्ट इन काठमाडौँ’ शीर्षकमा पनि केही ड्राफ्ट बने । ‘नीरफूल’ अन्तिममा जुरेको नाम हो । तर दयाहाङ राईलाई भने यो नाम खासै जँचेको थिएन । उहाँले त ‘आमा निभा’ नै राखुँ भनेर कर गर्नु भएको थियो । तर गर्दै जाँदा यो नाम जुर्यो । तर नीर रङ पनि दुःखको रङ रैछ । हाम्रो कथामा पनि त्यो रसको प्राधान्यता रहेकाले एकैदमै कथाबाहिरको नाम चाहिँ होइन ।
अहिले चलचित्रमा कथा, संस्कृति र जातीय समूहको बहुलताको कुरा चलिरहेको छ । खासगरी ‘जारी’को सफलतापछि यो खालको बहस सुरु भएको छ । तपाईँका लागि कथा, कथा नै हो कि यसरी विविधिकरण हुनुले अर्थ राख्छ ?
चलचित्र क्षेत्रको आयतन बढाउने हो भने त तपाईँले बहुल कथा, जात र समुदायलाई नेपाली चलचित्र उद्योगसँग जोड्नै पर्छ । हिजोका दिनमा चलचित्र उद्योगमा खास मानिसका कथा भनिन्थे त्यो पनि उही शैलीमा । यसले नेपाली चलचित्रलाई कहीँ पनि पुर्याएन । तर व्यक्तिगत रुपमा मलाई के लाग्छ भने कथामा त हामीले विविधता ल्याउनु छँदैछ तर त्यसलाई प्रस्तुतिमा पनि त्यसरी नै निखार्न जरुरी छ । तामाङ वा लिम्बू भाषामा फिल्म त बनेकै छन् तर तिनको प्रस्तुतिमा परिवक्ता छैन कि ? त्यसैले हामीले कथासँगै शिल्प पनि विकास गर्नुपर्नेछ । ‘नीरफूल’मा हामीले यो पक्षलाई पनि ख्याल गरेका छौँ । किनकि आदिवासी जनजातिको भाषा र संस्कृतिले मात्र पनि फिल्म बन्दैन । भन्ने तरिका पनि चाहिन्छ । योसँगसँगै म के पनि स्पष्ट गर्न चाहान्छु भने यो कुनै तामाङ जातिको कथा होइन । त्यो समुदायको परिवारको मिलन–विछोडको कथा हो .।
अहिले त नेपाली फिल्मको अनुहारको कुरालाई लिएर पनि बहस चलिरहेको छ । कस्तो फिल्मलाई नेपाली भन्ने ? भन्ने कुरा पनि उठिरहेका छन् । यो बहसमा ‘नीरफूल’ कतै छिराउन सकिन्छ ?
अब यो सर्जकको रुपमा आफैँ मपाईँ गर्ने कुरा त होइन तर मलाई ‘नीरफूल’ नेपाली फिल्मको अनुहार देखिने फिल्म चाहिँ बनेको छ भन्ने लाग्छ । आजभोलि ‘भिज्युवल सोभरजिनिटी’को कुरा पनि सतहमा छन् । हाम्रो कथा, हाम्रो जनजीवनलाई हामी हाम्रै हिसाबले भन्ने कुरा पनि छन् । त्यसैले हामीले फिल्म खिच्न निकै कठिन मानिने रुबी भ्यालीमा दोब्बर दिन लगाएर सुटिङ गरेका छौँ ।
के यहाँ सुटिङ गर्न गाह्रो थियो ?
भने जस्तो गरी सुटिङ गर्न गाह्रै भयो । किनकि पहिला त त्यहाँसम्म पुग्ने राम्रो बाटो नै थिएन । दुःखले सामान र मान्छे पुग्यौँ । बास बस्ने घर र होटल दुवै थिएनन् । चिसो थियो । हामीले टेन्टमा बसेर सुटिङ गर्यौँ । त्यसैले १५ दिनमा सक्ने भनेको सुटिङ २८ दिनमा बल्ल सकियो ।
त्यही ठाउँमा नजाँदा पनि हुन्थ्यो होला नी ?
हैन त्यो कथाकै माग थियो । हामीलाई आफ्नै भाषा, संस्कार , संस्कृतिमा रमाइरहेको परिवारको कथा भन्नु थियो जो खस भाषासँग परिचित नहोस् । यस हिसाबको तामाङ गाउँ खोज्दै जाँदा रुबी भ्याली पुगेका हौँ । किनकि चलचित्रको मुख्य अवरोध नै भाषा हो । फिल्म भित्र हराएकी बच्चीले खस भाषा बोल्न नजानेपछि नै कथा अगाडि बढ्ने हो ।
मौलिक कथा भन्दै गर्दा पनि आइटम गीत राख्ने मोह त्याग्नु भएको छैन । फिल्ममा रेखा थापाको आइटम गीत पनि छ क्यारे ?
हैन त्यो आइटम हैन । दोहोरी गीत टाइपको सिक्वेन्स हो । कथासँग जोडिएरै आउँछ । फिल्म हेर्दा त्यो कुरा बिझाउँछ जस्तो लाग्दैन ।
अन्तिममा, लामो समय टेक्स्टमा काम गर्नुभयो । लामो भूमिका बाँधेर आफ्नो कुरा राख्ने अभ्यास हुन्थ्यो । त्यसबाट भिज्युवलमा काम गर्दा, गाह्रो सजिलो के हुँदोरहेछ ?
निर्देशन गर्ने कुरा सजिलो हैन । तर माध्यमका हिसाबले एप्रोच फरक होलान् तर मिहिन रुपमा हेर्ने हो भने के देखिन्छ भने टेक्स्टमा पनि भिज्युवल हुन्छ र भिज्युवल भित्र पनि नदेखिने टेस्क्स्ट हुन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया