सिनेमा

आउँदो सातालाई दुई चलचित्र

इकागज |
जेठ २२, २०८० सोमवार १५:११ बजे

काठमाडौँ- आगामी साता दुई नेपाली चलचित्र  ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन हुने भएका छन् । हाल हलमा नेपाली चलचित्र ‘जारी’ र ‘डाकिनी’ प्रदर्शन भइरहेका छन् । ‘डाकिनी’ सीमित चलचित्र भवनमा प्रदर्शन भइरहेको छ । बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी) का गतिविधि सुनिने दन्त्यकथाका आधारमा तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ ।

बौद्धधर्मका गुरु खिन्से नोर्बु (जोङ्सार खिन्से रिम्पोछे) निर्देशक रहेको  सो चलचित्रमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ । छिरिङ तासी, तेञ्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतको यसमा अभिनय रहेको छ । यस्तै, चलचित्र ‘जारी’ले प्रदर्शनको ५१ दिन पार गरेको छ । यस वर्षको यो पहिलो व्यावसायिक र सफल चलचित्र बनेको छ ।


कवि उपेन्द्र सुब्बा पटकथाकार हुँदै यसै चलचित्रमार्फत निर्देशक बनेका हुन् । लिम्बू संस्कृतिलाई आमदर्शकले बुझ्ने गरी प्रस्तुत गरिएको सो चलचित्रमा पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पति–पत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोह–अवरोहलाई प्रस्तुत गरिएको छ । चलचित्र नाम्साङ (दयाहाङ राई) र हाङ्मा (मिरुना मगर) मा केन्द्रित छ ।


Author

थप समाचार
x