'आदिपुरुष' प्रकरणमा एक्सनमा बालेन
आपत्तिजनक अंश नहटाए सञ्चार मन्त्रालयलाई हिन्दी फिल्मको प्रदर्शन रोक्न आग्रह
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सञ्चार मन्त्रालयलाई पत्र लेख्दै भारतीय चलचित्र ‘आदिपुरुष’मा रहेको आपत्तिजनक अंश हटाउन पहल गर्न आग्रह गरेका छन् । शुक्रबार सञ्चारमन्त्रालयसँगै प्रधानमन्त्री कार्यालय, चलचित्र विकास बोर्ड र परराष्ट्र मन्त्रालयलाई पनि बोधार्थ दिँदै उनले यथोचित पहल गर्ने आसयको पत्र लेखेका छन् । पत्रमा भनिएको छ, ‘ दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउने सम्बन्धमा यो पत्राचार गरिएको छ । नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।’
पत्रमा अगाडि लेखिएको छ, ‘ नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूति माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
मेयर बालेनले पत्रमा यदि यो चलचित्रलाई देश वा विदेशमा प्रदर्शन गर्न दिने हो भने यसले भ्रामक तथ्य स्थापित गर्ने उल्लेख गरेका छन् । यसका लागि उनले नेपाल सरकारले भारतसँग कूटनीतिक पहल गरी उक्त चलचित्रको आपत्तिजनक दृश्य हटाउन भूमिका खेल्न आग्रह गरेका छन् । योसँगै उनले यदि ‘आदिपुरुष’ले आपत्तिजनक दृश्य नहटाएमा नेपालमा भारतीय चलचित्र निषेध गर्न पहल गर्न पनि सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।
‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले नेपाल सरकारले छिमेकी मित्र राष्ट्र भारतसँग कूटनीतिक पहल गरी उक्त चलचित्रको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ । साथै, उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गर्ने गराउने व्यवस्था गर्न समेत अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया