सिनेमा

नवल खड्काको 'काँडेतार' शिवरात्रीमा

इकागज |
असार ३, २०८० आइतबार १२:२० बजे

काठमाडौँ - निर्माता तथा निर्देशक नवल खड्काले आइतबार आफ्नो जन्मदिनको अवसर पारेर  ‘काँडेतार’को प्रदर्शन मिति घोषणा गरेका छन् । पोस्टर सार्वजनिक गर्दै उनले फागुन २५ गतेलाई प्रदर्शन मितिको रुपमा तय गरेका हुन् । यो दिन शिवरात्रीको सार्वजनिक बिदा परेको छ ।

नेपाल र भारतको सीमामा काँडेतार लगाएर सीमा व्यवस्थित गर्नुपर्छ भन्ने सन्देश दिने यो फिल्मलाई खड्काले नै निर्माण तथा निर्देशन गरेका हुन् । उनले आफूले सीमाको कुरा उठाएकाले सरकारले कर छुट लगायतका अनुदान दिन पनि आग्रह गरेका छन् ।‘चलचित्र काँडेतारलाई राज्यद्वारा आर्थिक अनुदान, करमा छुट, स्वदेशमा सिङ्गल प्रर्दशन गर्नै वातावरण र विदेशमा प्रदर्शन गर्न कुटनैतिक पहल होस्,’ उनको माग छ । 


सेन्सर बोर्डले केही दृश्य र संवादमा आपत्ति जनाउँदै केही समय रोकिएको फिल्म  केही दृश्य हटाएपछि सेन्सर पास भएको थियो । यो फिल्म राष्ट्र र राष्ट्रियताको कथा पेश गर्ने उनको  जिकिर छ ।  फिल्ममा नवलसँगै गौरव पहारी, रेविका गुरुङ, सुरबिना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीको अभिनय छ । श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको नृत्य छ ।

नवलसँगै माकिको राई र अञ्जु केसी फिल्मको निर्मातामा छन् भने कार्यकारी निर्माता सत्यकला राई हुन् । फिल्ममा मणि थापा र दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन छ ।
 


Author

थप समाचार
x