सिनेमा

नेपालमा सोचेझैँ चलेन ‘आदिपुरुष’ : विवादले खाली खाली छन् सो

इकागज |
असार ३, २०८० आइतबार १२:४८ बजे

 काठमाडौँ - दोहोरो विवादमा परेको भारतीय फिल्म ‘आदिपुरुष’ले तेस्रो दिनसम्म आइपुग्दा नेपालमा कमजोर व्यापार गरेको छ । प्रशस्त हाइपबीच भारतसँगै नेपालमा पनि रिलिज भएको फिल्मले पहिलो दुई दिन डेढ करोड ग्रस गरेको छ । यो जस्तो हाइप भएका भारतीय फिल्मले यसअघि दिनको करोड डेढ करोडका दरले ग्रस व्यापार गर्ने गरेका थिए ।

तर शुक्रबारको बिहानी सो विवादका कारण रद्द भएका थिए । काठमाडौँ महानगर पालिकाका मेयर बालेन शाहले फिल्म भित्र रहेको एउटा संवादलाई लिएर तीन दिने अल्टिमेटम दिएपछि उनको घोषणालाई लिएर दुविधा भएको थियो । यही कारण वितरक तथा हलको छाता संस्था नेपाल चलचित्र संघले बिहानीको सो नचलाउन निर्देशन जारी गरेको थियो । 


तर दिउँसोदेखि भने नियमित रुपमा फिल्म चलेको थियो । यसका बावजुद फिल्मले पहिलो दोस्रो दिन नै हाउसफुल दर्शक पाएको थिएन । शनिबार फिल्मका संवाद लेखक मनोज मुन्तसिरले सन् १९०४ अघि नेपाल भारतकै अंश भएको विवादास्पद अभिव्यक्ति दिएपछि यसले फिल्मको व्यापार थप प्रभावित पार्ने लक्षण देखिएको छ । बिहानी र मध्यान्नका सोमा दर्शकको अकुपेन्सी ५० प्रतिशत पनि कटेको छैन । यसले पहिलो हप्ता नै फिल्म तीन करोड ग्रस हाराहारीमा खुम्चने अनुमान गरिएको छ ।

नेपालमा यो फिल्म दुई करोड २० लाख नेपाली रुपैँया बराबरमा भित्रिएको चर्चा छ । यस हिसाबले नेपाल वितरकले यो फिल्मबाट लगानी उठाउन ५ करोड ग्रस गर्नुपर्ने छ । अहिले बनिरहेको फिल्म विरोधी माहोल र घट्दो सोले यसको छेउछाउ पुग्न कठिन देखिएको छ । 


Author

थप समाचार
x