सिनेमा

महानगर भन्छ –भोलिदेखि आदिपुरुष चल्दैन, हल भने बेचिरहेछन् टिकट धमाधम

इकागज |
असार ३, २०८० आइतबार १६:५६ बजे

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शुक्रबार भारतीय फिल्म ‘आदिपुरुष’मा रहेका विवादास्पद संवाद नहटाए सोमबारबाट ‘आदिपुरुष’को प्रदर्शन रोक्ने चेतावनी दिएका थिए । यसका लागि उनले शुक्रबार नै फिल्मको प्रदर्शन रोक्न सञ्चारमन्त्रालयलाई पत्र पठाएका थिए । प्रधानमन्त्री कार्यालय, विकास बोर्ड र परराष्ट्र मन्त्रालयलाई समेत बोधार्थ दिएको पत्रलाई कसले के जवाफ दिए सार्वजनिक भएको छैन ।

तर महानगरले सोमबारदेखि चलचित्र प्रदर्शन नगराउन काठमाडौँका हललाई मौखिक सूचना जारी गर्न थालेको छ । महानगरका सचिवालय सदस्यले भोलिबाट फिल्म प्रदर्शन नगराउन खबर गरिसकिएको बताएका छन् ।‘हामीले मौखिक रुपमा नगर प्रहरीमार्फत खबर पठाइरहेका छौँ । हाम्रो क्षेत्रभित्र रहेका हलमा चलचित्र प्रदर्शन हुँदैन,’ ति सचिवालय सदस्यले इकागजसँग कुराकानी गर्दै भने । महानगरसँग चलचित्र घरसँग कर उठाउनेबाहेक अरु अधिकार नभएको चर्चा भइरहँदा सचिवालय सदस्यले आफूहरूलाई प्रदर्शन रोक्ने अधिकार पनि रहेको जिकिर गरेका छन् । 
यही बीच बालेनले फेसबुकमा स्ट्याट्स लेख्दै नेपालको संविधानको धारा ५ र ५६ को उपधारा ६ ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने अधिकार दिएको जिकिर गरेका छन् । लेखिएको छ, ‘ नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।  


काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ ।’ बालेनले चलचित्रको प्रदर्शन रोक्ने घोषणा गरे पनि सिनेमा हलले भने भोलिका टिकट बिक्रि गरिसकेका छन् । हलले पनि आफूहरुलाई अहिलेसम्म कुनै सूचना नआएको बताएका छन् । 
 


Author

थप समाचार
x