सिनेमा

‘परस्त्री’ चलचित्रमा देखिने बोल्ड दृश्य शिल्पाले हैन आव्याले दिएकी हो

इकागज |
असार ७, २०८० बिहीबार १०:२७ बजे

काठमाडौँ- अभिनेत्री शिल्पा मास्के आफूलाई चलचित्रमा फरक शैलीमा प्रस्तुत गर्न रुचाउँछिन् । अभिनय गरेको चलचित्रको सङ्ख्याझैँ भूमिका निर्वाह गरिएका पात्र पनि परिचित होउन् भन्ने आफ्नो चाहना रहेको शिल्पाको भनाइ छ । त्यसैले आफूले फिल्म छनौट गर्दा फिल्म मात्र नभएर आफ्नो भूमिकाको गहिराई पनि हेर्ने गरेको शिल्पा बताउँछिन् । 

 चलचित्र ‘दि ब्रेकअप’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री मास्के पछिल्लो समय ‘परस्त्री’ का कारण चर्चामा छिन् । ट्रेलर सार्वजनिक भएसँगै फिल्ममा शिल्पाले बोल्ड दृश्य दिएको खबर पुष्टि भएको थियो । अहिले सेन्सर बोर्डले समेत चलचित्रका केही दृश्य छोट्याउनु पर्ने बताएपछि शिल्पा थप चर्चामा छिन् ।  चलचित्रमा शिल्पाले रेडियोकर्मीको भूमिका निर्वाह गरेकी छिन्  । 'मेरो पात्रको नाम आव्या हो । उनले आत्मनिर्भर हुँदा पनि परिवारको रोजाइमा विवाह गरेकी हुन्', पात्रको बारेमा शिल्पा बताउँछिन्, 'यद्यपि परिवार र समाजको कारणले आफूभित्र रहेका असन्तुष्टिलाई दबाउँदै विवाहित जीवनलाई निर्वाह गरिरहेकी छन् ।'


 सुरज पाण्डेको पहिलो निर्देशकीय चलचित्रमा अभिनेत्री मास्केलाई सुरुमा यो भूमिकाको प्रस्ताव आउँदा डर लागेको थियो । 'किनकि हामी कहाँ बोल्ड दृश्यको चर्चा धेरै हुन्छ । मैले उक्त पात्रलाई निर्वाह गरे पनि त्यो प्रश्न मलाई नै आउँछ । त्यसैले अभिनय गर्ने सहमति दिनु अगाडि धेरै सोचेकी थिएँ', उनले भनिन् ।  ट्रेलर सार्वजनिक भएसँगैउनलाई ‘बोल्ड दृश्य दिएको ?’ भन्ने पनि छन् तर, अभिनेत्री मास्के पर्दामा देखिएकी आफू नभई ‘आव्या’ रहेको बताउँछिन् ।

चलचित्रमा शिल्पा वैवाहिक जीवनमा  दुःखी भएर परपुरुषको प्रेममा परेकी महिलाको भूमिकामा देखिनेछिन् । तर अविवाहित उनलाई चरित्रमा घुस्न केही कठिन पनि भएको थियो । उनले यसका लागि भएकाले पात्रलाई जीवन्त बनाउन  केही अनुसन्धान गरेको बताइन् ।

' विवाहित महिला अन्यप्रति आकर्षित हुनुको कारण के हुनेरहेछ भन्‍ने कुरा राम्ररी अध्ययन गरेँ । यसपछि भने गाह्रो भएन',उनले भनिन् । पर्दामा देखिनलाई दुई जना वा एक्लै भए पनि सुटिङमा  यिनै दृश्य ४०-५० जनाको अगाडि दिनुपर्छ । यस्ता दृश्य प्रशस्त भएको फिल्मको सुटिङमा गाह्रो नभएको शिल्पा बताउँछिन् ।

'चलचित्रमा हाम्रो समाजको एउटा पाटोलाई देखाइएको छ । यो कथालाई पर्दामा ल्याउँदा केही बोल्ड दृश्य पनि छन्, तर तिनलाई कलात्मक शैलीमा छायाङ्कन गरिएको छ।  निर्माण समूहसँग विश्वास भएन भने ती दृश्य अस्वाभाविक र अपाच्य लाग्न सक्छ तर, मलाई टिमसँग विश्वास थियो,' अभिनेत्री मास्केले बताइन् । यति मात्र नभएर यो विषयमा छायाङ्कनअगावै गरिने कार्यशालामा पूर्णरूपमा स्पष्ट भएको पनि उनको भनाइ थियो ।

उनले निर्माण समूहसँग काम गर्नुमा ‘पशुपति प्रसाद’ जस्ता चलचित्र निर्देशन गर्नुभएका दीपेन्द्रकुमार खनालद्वारा लिखित कथा पनि एउटा कारण बताइन् । 'निर्देशक खनालसँग काम गर्ने इच्छा थियो । समाजकै घटनालाई काल्पनिक पात्रमार्फत प्रस्तुत गर्न किन हिच्किचाउने भनेर आफैँलाई सम्झाएर आव्या बन्न तयार भएँ”, अभिनेत्री मास्केले भनिन् । चलचित्रमा उहाँसँगै अभिनेता कोसिस क्षेत्री, गौरव विष्टलगायतका कलाकारले अभिनय गरेका छन् । 


Author

थप समाचार
x