सिनेमा

‘बगान’मार्फत सरोज खनालको निर्माता हुन पाउँदा भाग्यमानी महसुस गरेकाे छु

इकागज |
असार ७, २०८० बिहीबार ११:३६ बजे

काठमाडौँ - अभिनेता सरोज खनालको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘बगान’ असार २९ बाट प्रदर्शन हुँदै छ । अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको चलचित्रमा एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यवहारसहितका विषयलाई प्रस्तुत गरिएको छ । यसलाई गीतकार सुरेश वाग्लेले निर्माण गरेका हुन् । यसै चलचित्रमार्फत निर्देशनमा कलाकार सरोज खनालले डेब्यू गर्दैछन् । 

'सरोज दाइ अमेरिका आएको समयमा हाम्रो सहकार्य गर्ने योजना बनेको थियो । म नेपाल आएपछि उहाँले सुनाउनु भएको कथामा कन्भिन्स भएँ', गीतकार वाग्लेले भने,'गीतसंगीतसँगै सामाजिक विषयलाई चलचित्रको ठूलो पर्दाको माध्यमले दर्शकसम्म पुर्याउने कुरामा म सहमत भएँ । सरोज दाइ निर्देशनमा डेब्यू गर्ने र करिश्मा दिदी निर्मात्रीमा रहने भएपछि मैले पनि निर्माताको रुपमा डेब्यू गरेँ ।' 


आफ्नो निर्माण रहेको चलचित्रमार्फत अनुभवी कलाकार सरोज खनालले डेब्यू गर्नु सुखद रहनुका साथै आफू भाग्यमानी निर्माता रहेको वाग्ले  बताउँछन् । 'सर्जक भएकाले सामाजिक दायित्व बहन गरेर कथा रोजेका हौँ । यो कथा र यसमा देखाइएको भावनालाई परिवारले महसुस गर्नु जरुरी छ । यसले सकारात्मक पक्षलाई प्रसार गर्न मद्दत गर्छ', निर्माता सुरेशले भने । 

यसमा एकल महिलाको भूमिकामा प्रस्तुत करिश्माले आफ्नो न्यायोचित भूमिका रहेको बताउँदै आएकी छिन् । 'मैले वर्षौँदेखि खोजिरहेको भूमिका गर्न पाएकी छु । यसलाई दर्शकले सम्झिने बनाउन कुनै कसर छाडेकी छैन ', करिश्माले भनिन् । 

चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालगायतका कलाकारले अभिनय गरेका छन् । स्वप्न नीरवको कथामा आधारित रही बनेको यो चलचित्रमा नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको छ । 

कार्यकारी निर्माता विनोद मानन्धर रहेका चलचित्रमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।

यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले पारिवारिक चलचित्र रहेको जानकारी दिए । 'सरोज दाइको पहिलो निर्देशन रहेको चलचित्र वितरण गर्न पाउनु हाम्रो लागि गौरवको कुरा हो । किनकि उहाँ कलाकारितामार्फत नै चिनुनु भयो र अहिले आफूलाई निर्देशकको रुपमा प्रस्तुत गर्दै हुनुहुन्छ", वितरक श्रेष्ठले भने ।


Author

थप समाचार
x