‘ऐना झ्यालको पुतली’ सँगै नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण सुरु भएको छ । बिहीबार साँझबाट वासिङ्टन डिसी मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ प्रदर्शनसँगै महोत्सवको उद्घाटन गरिएको हो ।
महोत्सवमा महा–नायक राजेश हमाल विषेश अतिथिको रुपमा उपस्थित भएका थिए । हमालले आफू चलचित्र महोत्सवमा उपस्थित भएर नेपाली डायस्पोरालाई भेट्न पाउँदा पाउँदा खुशी व्यक्त गरेका थिए । उनले यो महोत्सवले नेपाली समुदायलाई जोड्न र चलचित्रकर्ममा ठूलो महत्व राख्ने बताए ।
‘फिल्म फेस्टिभलले नेपाली समुदायलाई जोड्ने माध्यम हो । नेपाली डायस्पोरालाई अनुरोध गर्छु, यसलाई सहयोग गर्नुस्, यसलाई हातेमालो गर्नुस् । किनभने फिल्मले तपाईको भावना र मतिष्कमा कहिकही सम्बोधन गर्छ । तपाईको दैनिकी वा जीवनलाई कुनै न कुनै हिसाबबाट सम्बोधन गर्छ, उत्पे्ररणा दिन्छ । त्यसैले यस्तो कलालाई नेपाली डायस्पोराले साथ र सहयोग गर्नुपर्छ’, उनले भने ।
चलचित्र महोत्सवको निरन्तरता दिनका लागि सहयोग गर्न हमालले नेपाली डायस्पोरालाई समेत आग्रह गरे । जुन २२ देखि २५ सम्म चल्ने चलचित्र महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन गरी ११ देशका ३७ चलचित्र प्रदर्शन हुँदैछ । महोत्सव छनोट भएका चलचित्र ओल्ड ग्रिनवेल्ट थिएटरमा पनि प्रदर्शन हुने जनाइएको छ ।
महोत्सवमा निर्देशक सुवर्ण थापाको उपस्थितिमा ‘द सेक्रेट अफ राधा’ को विशेष प्रदर्शन हुने आयोजकले जनाएको छ । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । त्यस्तै महोत्सवको दौरानमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल हुनेछ । म्यारिल्याण्ड राज्यको ‘पाक्र्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुने जनाइएको छ । महोत्सवका निर्देशक युवाकार राजकर्णिकार अनुसार अमेरिकी निर्देशक न्यन्सी स्भेंन्डसेनको निर्देशनमा बनेको ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया