‘जारी’पछि नेपाली फिल्ममा दर्शकको खडेरी, भदौरे फिल्मको प्रतीक्षा
काठमाडौँ - सय हाराहारी फिल्म बन्दा हल रिलिजबाटै लगानी उठाउने नेपाली फिल्मको संख्या एक हातका औँला बराबर पनि पुग्दैन । यस हिसाबले आत्तिनु पर्ने अवस्था छैन तर ‘जारी’ प्रदर्शन भएका नेपाली चलचित्रको अवस्था नाजुक छ ।
‘जारी’सँगै रिलिज भएका ‘बिहे पास’ र ‘बुलाकी’ले दर्शकको साथ पाएनन् । अझ ‘बुलाकी’ले त आफूमाथि अन्याय भएको भन्दै प्रदर्शनको तेस्रो दिन फिल्म उतार्ने निर्णय गरेको थियो । ‘बिहे पास’ले हिम्मत नहारे पनि दर्शकले यो फिल्म हेर्न रुचि देखाएनन् ।
त्यसयता हरेक हप्ता कुनै न कुनै नेपाली फिल्म रिलिज भएकै छन् तर तिनले हलमा आउने जाने धर्म मात्र निर्वाह गरिरहेका छन् । कतिपय फिल्मले त १ लाख ग्रस पनि कटाउन सकेका छैनन् ।
तर यो बीचमा ठूला बजेट र प्रशस्त हल्लाखल्ला भएका फिल्म पनि प्रदर्शन भएका छैनन् । सार्वजनिक भएका धेरै फिल्म नयाँ निर्माता निर्देशककै छन् । नेपालमा नाम चलेकै कलाकार र निर्माता–निर्देशक हुँदा पनि दर्शक आइहाल्छन् भन्ने कुनै ग्यारेन्टी हुँदैन ।
वैशाखपछिका जेठ, असार र साउनलाई फिल्म प्रदर्शनका लागि उपयुक्त महिना पनि मानिन्न । जेठ असारमा गर्मी र पानी दुवैको प्रकोप रहने भएकाले पनि यी महिनामा फिल्म प्रदर्शन गर्ने कुरा निर्माताको रोजाइमा पर्दैन । प्रदर्शन गर्नेहरुलाई भने चमत्कार भइहाल्छ कि भन्ने आश हुन्छ । अहिले प्रदर्शन भइरहेका चलचित्र यही आशमा हलमा आएका हुन् । तर नेपाली चलचित्रमा दर्शक ‘ल न त गइदिऊँ’ भनेर जाँदैनन् । प्रशस्त हाइप भएको मात्र यसरी हेर्न जान्छन् ।
अहिलेका तीन महिना यस्तै उस्तै रहे पनि भदौबाट दर्शक खडेरी टर्ने विश्वास सबैमा छ । भदौदेखि केही प्रतिक्षित फिल्म रिलिज हुँदैछन् । यसमा ‘एैँचो पैँचो’, ‘नांगो गाउँ’ मुख्य छन् । यसैगरी असोजमा ‘भष्मे डन’ प्रदर्शन हुँदैछ भने कात्तिकमा ‘दिमाग खराब’ । यही बीचमा अहिले सुटिङ भइरहेका र पोस्टमा रहेका फिल्म पनि आउने सम्भावना छ । त्यसैले अब सबैको ध्यान भदौका फिल्ममा तानिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया