सिनेमा

‘आदिपुरुष’ सेन्सर विवादपछि विकास बोर्डको सक्रियता, १५ दिन अगाडि सेन्सर गराउने नियम लागू गराउन सञ्चार मन्त्रालयलाई पत्राचार

इकागज |
असार १२, २०८० मंगलबार १३:१४ बजे

काठमाडौँ - ‘आदिपुरुष’ सेन्सर विवादको मौका छोपी चलचित्र विकास बोर्डले विदेशी चलचित्रको सेन्सर गर्ने समय बढाउन सञ्चार मन्त्रालयलाई अनुरोध गरेको छ । 
बोर्डका तर्फबाट भुवन केसीले सञ्चार मन्त्रालयलाई पत्र लेख्दै राष्ट्र, राष्ट्रियता र संस्कृति लगायतका विषयमा विदेशी फिल्म संवेदनशील नदेखिएकाले प्रदर्शनलाई व्यवस्थित बनाउन सेन्सरको समयावधि बढाउन माग गरिएको हो ।

बोर्डले ‘आदिपुरुष’को नाम उल्लेख नगरीकन प्रदर्शन व्यवस्थित गर्ने तर्क गर्दै समयसीमा बढाउन आग्रह गरेको हो ।भुवन केसीले इकागजसँग कुरा गर्दै भोलि कुनै पनि विदेशी फिल्मका कारण नेपाली धनजनको क्षति नहोस् भन्नका लागि यस्तो सिफारिस गरिएको बताएका छन् ।‘नेपाली समाज धर्म, राष्ट्र र राष्ट्रियताका सम्बन्धमा संवदेनशील रहेको विगतका घटनाले पनि देखाएका छन् । भर्खरैको आदिपुरुष विवादले पनि यो संवेदनशीलता उजागर गरेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा विदेशी फिल्म बेलैमा सेन्सर गर्ने हो भने सबै पक्षले फिल्मले पार्ने प्रभावका बारेमा चिन्तन गर्न पाइन्छ । यति भयो भने हल वितरक र राष्ट्र कसैले पनि क्षति बेहोर्न पर्दैन भन्ने हाम्रो मान्यता हो ।’


बोर्ड अध्यक्ष भएलगत्तै भुवन केसीले सेन्सर प्रक्रियामा समय लिनुपर्ने जिकिर गर्दै ७ दिनको समयसीमा राखेका थिए । यो समयसीमा कार्यान्वयन नआउँदै सञ्चारमन्त्रालयले घटाएर ४ दिनमा पुर्याएको थियो । यसमा पनि ४ दिन अगाडि कागजपत्र बुझाउनु पर्ने र सेन्सर भने अघिल्लो दिन वा रिलिजको बिहानै पनि गर्न सकिने अभ्यास थियो । 

तर भुवन केसी आफूहरूले १५ दिन अगाडि कागजपत्र बुझाउने नभई विदेशी फिल्म सेन्सर नै गर्नुपर्ने मान्यतामा रहेर पत्राचार गरेको बताउँछन् ।
‘ हामीले सञ्चार मन्त्रालयलाई १५ दिन अगाडि कागजपत्र बुझाउने होइन कि सेन्सर नै गर्नुपर्यो भन्ने अनुरोध गरेका हौँ । सञ्चार मन्त्रालयले यो कुरालाई त्यही अनुसार लिओस् भन्ने हाम्रो आग्रह छ,’ केसीले भने ।

यता बोर्डले सञ्चारमन्त्रालयलाई लेखेको चिठ्ठी सार्वजनिक भएसँगै वितरक तथा प्रदर्शनको संस्था नेपाल चलचित्र संघ सेन्सरको समयसीमा नबढाउने आग्रह गर्दै मन्त्रालय पुगेको छ । उनीहरूको आग्रहलाई सञ्चार मन्त्रालयले कसरी लिन्छ ? त्यो भने हेर्न बाँकी नै छ । यदि बोर्डले भनेझैँ सेन्सर प्रक्रिया लम्बिने हो भने अहिले अघिल्लो दिन सेन्सर गरेर भोलिपल्ट रिलिज हुँदै आएका विदेशी चलचित्रलाई अप्ठेरो पर्ने निश्चित छ ।

 किनकि चलचित्रको काम संसार भर नै प्रदर्शनको अन्तिम समयमा सकिने गरेको छ । त्योबाहेक हिन्दी फिल्म वितरण गर्ने नेपाली वितरकले चलचित्रको दाम घटाउन अन्तिम समयसम्म मोलतोल गर्ने गर्छन् । अन्तिम समयमा आइपुग्दा पहिलेको दामभन्दा सस्तोमै पाइने भएकाले पनि उनीहरू रिलिज हुने समयमा मात्र फिल्म किन्ने नकिन्ने निर्णय गर्छन् । यो सुविधा खोसिने भएकाले पनि वितरकले पहिलेदेखि नै यो निर्णयको विरोध गर्दै आएका छन् ।


Author

थप समाचार
x