सिनेमा

डीसिने अवार्डमा पल र पूजालाई उत्कृष्ट नायक–नायिकाको अवार्ड

इकागज |
असार १९, २०८० मंगलबार १०:५८ बजे

काठमाडौँ-  डीसिने अवार्डको १३ औं र चौधौं संस्करण सम्पन्न भएको छ । सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो । कोभिड १९ का कारण उक्त वर्षहरु अवार्ड आयोजना गर्न नसकिए पनि उत्कृष्ट चलचित्र निर्माणका लागि चलचित्रकर्मीहरुलाई निरन्तर प्रोत्साहित गर्नु पर्छ भन्ने मान्यता अनुरुप यसलाई निरन्तरता दिइएको अवार्ड अध्यक्ष शान्तिप्रियले जनाएका छन् ।

चलचित्रकर्मीहरुको बाक्लो उपस्थितिका बीच सम्पन्न अवार्ड समारोहमा कलाकारद्वय अर्जुन श्रेष्ठ र दिपाश्री निरौलालाई छायाँछवि रजत सम्मान र चलचित्र पत्रकार कुबेर गिरीलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।


समारोहमा १३ औं संस्करण अन्र्तगत वर्ष २०७७ मा प्रदर्शनमा आएका सातवटा चलचित्रबाट बिभिन्न पाँच बिधामा अवार्ड प्रदान गरिएको थियो । डिसिने अवार्ड २०७७ अन्र्तगत सर्वोत्कृष्ट चलचित्रको अवार्ड चलचित्र ‘श्री’बाट सूर्य बाहोराले प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट अभिनेताको अवार्ड ‘हिरो रिटन्स्’बाट सविन श्रेष्ठ, सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड ‘लक्ष्मी पूजा’बाट जाहन्वी बस्नेत, नृत्य निर्देशकको अवार्ड चलचित्र ‘गुड फ्रेण्ड’अजय स्याङताङ, र सह अभिनेताको अवार्ड ‘हिरो रिटन्स’बाट रोशन श्रेष्ठले प्राप्त गरेका छन् । समारोहमा कोभिड १९ को विषम परिस्थितिमा पनि चलचित्र प्रदर्शन गरेर चलचित्र क्षेत्रलाई चलायमान गराएको भन्दै उक्त वर्ष प्रदर्शनमा आएका ७ वटै चलचित्रलाई कदरपत्र समेत प्रदान गरिएको छ ।

यस्तै चौथौं संस्करणको डिसिने अवार्ड २०७८ अन्र्तगत १३ विद्यामा अवार्ड प्रदान गरिएको छ । यसवर्षको अवार्डमा चलचित्र ‘म यस्तो गीत गाउँछु’ले उत्कृष्ट चलचित्र सहित छ विधामा अवार्ड प्राप्त गरेको छ । उत्कृष्ट चलचित्र सहितयसै चलचित्रबाट सुदर्शन थापाले उत्कृष्ट निर्देशक, पल शाहले उत्कृष्ट अभिनेता, पूजा शर्माले उत्कृष्ट अभिनेत्री, बनिष शाह र मिलन श्रेष्ठले उत्कृष्ट सम्पादक र अर्जुन पोखरेलले उत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गरेका छन् ।

यस्तै चलचित्र ‘चिसो एष्ट्रे’बाट दीन्स पाल्पालीले उत्कृष्ट लेखक, चलचित्र ‘हेल्लो जिन्दगी’बाट सम्राट बस्नेतले उत्कृष्ट द्वन्द्व निर्देशक, चलचित्र ‘आकाशे खेती’बाट रामजी लामिछानेले उत्कृष्ट नृत्य निर्देशक, चलचित्र ‘लप्पन छप्पन २’ बाट पुरुषोत्तम प्रधानले सर्वोत्कृष्ट छायाँकार, चलचित्र ‘हेल्लो जिन्दगी’बाट राजनराज सिवाकोटीले उत्कृष्ट गायक र चलचित्र ‘हेल्लो जिन्दगी’बाटै निर्देशक सूर्य बोहराले जुरी अवार्ड प्राप्त गरेका छन् ।

समारोहमा कलाका विभिन्न माध्यमबाट नेपाली चलचित्र, गीतसंगीत, कला तथा साहित्यका क्षेत्रमा योगदान पु¥याएका कलासाधकहरुलाई पनि छायाँछवि सम्मान प्रदान गरिएको छ । कार्यक्रममा अभिनेता तथा मोडल दिनेश के.सी., चलचित्र निर्देशक चेतनाथ दंगाल, चलचित्र निर्देशक समुन्द्र भट्ट, अभिनेत्री सानिया खान, प्राबिधिक प्रकाश मिश्र, मोडल रुपा राना, निर्माता तथा निर्देशक सन्तोष सुवेदी, गायिका मञ्जु थापा र गीतकार किरण केसी क्रोधीलाई छायाँछवि सम्मान अर्पण गरिएको हो ।

वरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेती, अभिनेत्री तथा लेखिका सोभिता सिम्खडा र संगीतकार सन्तोष श्रेष्ठ निर्णायक रहेको अवार्डको चलचित्र छनौट समिति निर्णायकका रुपमा निर्देशक तथा सम्पादक सुरेन्द्र पौडेल, मोडल मञ्जिता केसी, गायक तथा संगीतकार ओम सुनार, सम्पादक तथा कलरिष्ट जीवन थापा, मोडल सुदिप श्रेष्ठ र गायक तथा संगीतकार राज सागर रहेका थिए । 


Author

थप समाचार
x