करिष्माले आमा सम्झेर गरेकी थिइन् ‘बगान’मा अभिनय
काठमाडौं - अभिनेत्री करिश्मा मानन्धरको सुन्दरताको चर्चा धेरै नै हुने गर्छ । सयौं चलचित्रमा अभिनय गरिसकेकी करिश्मा निर्मात्री पनि हुन् । आफ्नो करिअरको उचाइकै समयमा निर्माता बनेकी करिश्मा आउँदो असार २९ मा प्रदर्शन हुने चलचित्र ‘बगान’ मा दुवै भूमिकामा छिन् । उनले अभिनयसँगै निर्माणमा समेत सहभागिता हुनुमा कथालाई कारक मानेकी छिन् ।
‘हामीले काम गर्दै जाँदा निर्माणमा समेत सहकार्य गर्यौं । सरोज (सरोज खनाल)को डेब्यु निर्देशन र कथावस्तु राम्रो भएकाले निर्माणमा समेत जोडिएँ’, उनले भनिन् । उनले चलचित्रमा एकल आमाको भूमिका निर्वाह गरेकी छिन् । विशेषत चलचित्र नै उनी र उनको छोरी (प्रमिला कार्की) कै वरिपरि घुमेको छ । एकल महिलाको कथा, संवेदना र शिक्षाको महत्वलाई प्रस्तुत गरिएको भूमिकालाई महसुस गर्न करिश्माले आमालाई नै सम्झिएको बताइन् ।
‘मेरो आमामार्फत बुझेको कुराहरुलाई यसमा प्रयोग गरेकी छु । यो एकल महिलाको जीवन, उसले समाज र परिवारमार्फत राख्ने अपेक्षामा केन्द्रित छ । केही अव्यक्त तथ्यलाई समेत यसमा प्रस्तुत गरिएको छ’, करिश्माले भनिन् ।
सार्वजनिक गीतसङ्गीतमार्फत करिश्माले चर्चा बटुलिरहेकी छिन् । निर्देशक सरोज खनालले पनि अभिनेत्री मानन्धरको सुन्दरता अभिनयमार्फत व्यक्त भएको बताए । उनले भने,‘करिश्मा निकै राम्रो कलाकार हुन् । म उनको को–स्टार भएर काम गरेकाले उनको अभिनय क्षमतासँग परिचित थिएँ । त्यसैले यसमा उनको क्षमतालाई बाहिर ल्याउने कोसिस गरेको छु ।’
अभिनेत्री मानन्धरले पनि धेरै चलचित्रमा कमर्सियल रुपमा प्रस्तुत भएको बताइन । ’निर्देशककै अनुसार कलाकार प्रस्तुत हुने गरेका छन् । हामीले काम गर्दा त्यही अनुरुप गरेका थियौं’, करिश्माले भनिन्,’बगानमा कालाकार र मेरो को–स्टार रहिसकेका सरोज निर्देशक भएपछि झनै सहज भयो । उनले अभिनयको दुवै पाटोलाई बुझेकोले पनि पात्रमा जीवन भर्ने कोसिस गर्यौँ ।’
चलचित्र ‘बगान’ परिवारका सबैले हेर्नु पर्ने चलचित्र बनेको करिष्माको भनाइ छ । ‘हामीले यसलाई परिवारले एकसाथ हेर्नुहोस् भनेर तयार गरेका छौँ । एउटा परिवारले अन्य सदस्य र समाजबाट के कस्तो अपेक्षा राख्दछन् भन्ने यसमा देखाएका छौँ’, करिश्माले भनिन्,’यसमा समस्या मात्र होइन समाधान पनि देखाउने कोसिस गरेका छौँ । त्यसैले स–परिवारले हेर्दा आफूलाई महसुस गर्नुहुनेछ ।’
‘बगान’ मा निर्देशक खनाल र करिश्मासँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेकाछन् । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया