सुटिङ सेटबाट फर्किएकै दिन अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या
काठमाडौँ- अभिनेता सारुक ताम्राकारको निधन भएको छ । उनले रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेको पारिवारिक स्रोतले जनाएको छ ।
अभिनेता सारुकले बिहीबार बिहानसम्म ह्यासट्याग मायाको सुुटिंग गरेका थिए । बुधबार रातभर चलेको सुटिंग बिहीबार बिहान ५ बजेसम्म चलेको थियो । सेटबाट हाँसीखुसी बिदा भएका सारुकले बिहीबार साँझ बुबा आमा घरमा नभएको मौका छोपी आत्महत्या गरेको हुन सक्ने फिल्मका प्रडक्सन म्यानेजर अरुण रेग्मीले जानकारी गराए ।
‘बिहीबार परिवारसँगै पार्टीमा जाने कुरा रैछ । उनले बुबा आमालाई तपाईहरु जाँदै गर्नु म पछि आउँछु भनेका रैछन् । तर नगईकन यस्तो अनर्थ गर्न पुगेछन्,’अरुणले भने ।
अभिनेता सारुक सानु ताम्राकारका एक मात्र छोरा हुन् । भारतमा अभिनयको कोर्स गरेका सारुकले दयाराम दाहाल निर्देशित रानी फिल्मबाट डेब्यु गरेका थिए ।
यो फिल्मपछि उनले मेरी मामु, इन्टु मिन्टु लन्डनमा आदि फिल्ममा काम गरेका थिए । योबाहेक उनले केही लघु चलचित्रमा पनि अभिनय गरेका छन् ।
बिहीबार बिहानसम्म हाँसीखुसी बिदा भएका सारुकको मृत्युको खबरले आफू स्तब्ध भएको ह्यासट्याग मायाका निर्देशक राजीव गुरुंगले जनाएका छन् । उनले छुट्नुअघिसम्म पनि शुक्रबार बिहान सुटिंग हुने दृश्यको बारेमा छलफल गरेको तर अचानक ११ बजे आत्महत्याको खबर सुन्दा पत्यार नै नलागेको बताएका छन् ।
‘ऊ सेटमा असाध्यै सक्रिय थियो । हरेकचोटि इम्प्रोभाइज गरेर यसरी गर्छु है राजीव दाइ भन्दै नयाँ नयाँ कुरा गर्ने कोशिस गरिरहन्थ्यो । हामीबीच योपछिको अर्को फिल्म गर्ने बारेमा पनि छलफल भइरहेको थियो’ राजीवले भने, ‘ फिल्ममा पनि उसले साँच्चै राम्रो काम गरेको थियो । अचानक यस्तो निर्णय कसरी लियो ? मैले अनुमान पनि गनृ सकेको छैन ।’
राजीवले फिल्मको प्रोटागोनिस्ट नै सारुक रहेको जानकारी गराउँदै उनको निधनपछि के गर्ने भन्ने विषयमा टिमसँग छलफल गर्ने बताए । राजीवले फिल्ममा सारुकको २५ प्रतिशत काम सकिएको जानकारी गराए ।
‘हिरो भएको हुनाले उसको रोल धेरै नै थियो । तर पनि फिल्मको ३० प्रतिशत र उसको २५ प्रतिशत काम सकिएको थियो । अब ऊ नभएपछि रिसुट गर्ने कि के गर्ने भन्ने कुरा पछि निर्णय गर्छौँ । फिल्म चाहिँ हामी बनाउँछौँ,’राजीवले भने ।
सारुकको नाम बलिउड अभिनेता शाहरुख खान प्रेरित जस्तो लागे पनि उनको यो नाम बाबु सानु ताम्राकार र आमा रुकमणी ताम्राकारको अगाडिका अक्षरबाट जुरेको थियो । ३१ वर्षका सारुकले भविष्यमा निर्देशक बन्ने सोच रहेको अन्तर्वार्तामा बताउने गरेका थिए ।
सारुकको शवलाई बिहीबार राति नै पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया