सिनेमा

खगेन्द्र र मेनुकाको ‘गुराँस’लाई चेक रिपब्लिकमा जुरी अवार्ड

इकागज |
असार २४, २०८० आइतबार ११:४३ बजे

काठमाडौँ - चेक रिपब्लिकमा चलिरहेको दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रिमियर भएको नेपाली चलचित्र ‘गुराँस’ले जुरी अवार्ड जितेको छ । 
गत बुधबार वल्र्ड प्रिमियर भएको फिल्मले प्रोक्सिमा स्पेसल जुरी प्राइज जितेको हो । 

हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको चलचित्रले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ । दुई पुस्ताका चरित्रमार्फत् छोरी र आमाबुबाको फरक फरक चिन्तालाई उजागर गर्ने फिल्मलाई सौरभ राईले निर्देशन गरेका हुन् । उनले युरोपको प्रतिष्ठित अवार्ड जित्नु आफ्ना लागि गर्वको क्षण भएको बताएका छन् । इकागजसँग चेक रिपब्लिकबाट कुरा गर्दै उनले भने, ‘ स्क्रिनिङमा पनि दर्शक तथा जुरीले रुचाएको महसुस गरेका थियौँ । अन्तमा अवार्ड जित्दा साँच्चिकै खुसी लागेको छ ।’


यही फिल्मको वल्र्ड प्रिमियरमा सहभागी हुन मेनुका प्रधान पनि चेक पुगेकी थिइन् । उनले अन्तर्राष्ट्रिय फेस्टिभलमा आफ्नो यो पहिलो अनुभव हुने बताउँदै फेस्टिभलमा धेरैभन्दा धेरै फिल्म हेर्ने योजना रहेको बताएकी थिइन् । ‘गुराँस’लाई लोआइक्यू प्रडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गरेका हुन् । फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय रहेको छ । 

फिल्मको प्राविधिक काम मुम्बईमा गरिएको थियो । फिल्मको छायांकन सुबल केआरले गरेका हुन् भने सम्पादन सौरभ राई र अंकिता पुरकायस्थले गरेका हुन् । अंकिता फिल्मको साउन्ड डिजाइनर पनि हुन् । उनले यसअघि नेटफ्लिक्स सिरिज ‘बेताल’, ‘टाइपराइटर’, ‘कोटा फ्याक्ट्री’ र अमेजन प्राइमबाट प्रसारण भएको ‘पञ्चायत’ मा पनि काम गरेकी छिन् ।


Author

थप समाचार
x