सिनेमा

आउँदो शुक्रबारदेखि फेरि ‘बिहे पास’

इकागज |
असार २६, २०८० मंगलबार १५:५३ बजे

काठमाडौँ - गत वैशाख १ मा प्रदर्शनमा आएको चलचित्र ‘बिहे पास’ फेरि प्रदर्शनमा आउने भएको छ । हलले नयाँ फिल्म प्रदर्शन नभइरहेको अवस्थामा पुनः माग गरेकाले दोहोर्याएर चलाउन लागेको निर्माता तथा वितरक रोहित कट्टेलले जानकारी गराए ।

गत वैशाखमा प्रदर्शन हुँदा यो फिल्म बाँकी दुई फिल्मसाग जुध्न पुगेको थियो । सोही मितिमा ‘जारी’ र ‘बुलाकी’ पनि प्रदर्शन भएका थिए । यसमध्ये ‘बुलाकी’ले पर्याप्त सो नपाएको भन्दै तेस्रो दिन नै हलबाट फिल्म उतार्ने निर्णय गरेको थियो भने ‘जारी’ले ५१ दिन मनाएको थियो । 


‘जारी’ र ‘बिहे पास’ दुवैमा दयाहाङ राई मुख्य भूमिकामा थिए । ‘बिहे पास’ उसबेला ‘जारी’को प्रकोपमा परेको थियो ।  ‘जारी’ हेर्न दर्शक ओइरिएपछि ‘बिहे पास’ छायाँमा परेको थियो । फिल्ममा दयाहाङसँगै प्रकृति श्रेष्ठले जोडी बाँधेकी थिइन् ।

वितरक कट्टेलले चलचित्र क्युएफएफएक्स चेनसहित ५० देखि ५५ वटा हलमा लाग्ने जानकारी गराएका छन् । उनले चितवनको पर्सामा दोहोर्याएर रिलिज गर्दा दर्शकको उपस्थिति उल्लेख्य रहेकाले पुनः रिलिजका लागि प्रेरित गरेको बताए ।

‘वैशाख १ मा राम्ररी रिलिज हुन पाएको थिएन । त्योबाहेक हलले फेरि रिलिज गर्छौँ भनेकाले दोहोर्याएर रिलिज गर्न लागेका हौँ,’ उनले भने । शुक्रबार नै सरोज खनालको डेब्यू निर्देशकीय चलचित्र ‘बगान’ पनि रिलिज हुँदैछ । योबाहेक दुई अंग्रेजी सिनेमा पनि शुक्रबार नै रिलिज हुँदैछन् ।


Author

थप समाचार
x