Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सिनेमा

चलचित्र 'बगान'को प्रिमियरमा सेलिब्रेटीको प्रतिक्रिया : चलचित्र मात्र नभई 'क्रान्ति' हो यो

इकागज |
असार २८, २०८० बिहीबार १०:४३ बजे

काठमाडौँ - यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र 'बगान'को काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । बुधवार साँझ बानेश्वरस्थित वन सिनेमाजमा भएको प्रिमियरमा पत्रकारहरूसँगै कलाकर्मी, शुभचिन्तक र राजनीतिज्ञहरूको बाक्लो उपस्थिति रहेको थियो ।

 चलचित्र हेर्ने अधिकांशले केहि दृश्य र संवादले भावुक बनाएको प्रतिक्रिया दिए भने यसै चलचित्रबाट चलचित्रमा प्रवेश गरेकी प्रमिला कार्कीको अभिनयको तारिफ गरे । सँधै चुलबुले भूमिकामा अभिनयमा देखिने करिश्मा मानन्धरले गम्भीर भूमिकामा अभिनय गरेको अब्बल अभिनेत्री प्रमाणित गरेको भन्दै प्रशंसा भएको छ ।

चलचित्र हेरिसकेपछि छोरी सानो हुँदा उसले 'बजारमा बुवा किन्न जाम न' भन्ने गरेको सम्झना गर्दै उपसभामुख इन्दिरा रानाले त्यस प्रकारका समस्याबाट गुज्रेका सबै छोराछोरीले 'बगान'बाट धेरै कुरा सिक्न सक्ने बताइन् । एकल आमा उनले चलचित्रमा छोरीले आमाको लागि जे गरेकी छन्, त्यही काम छोराले पनि गर्न सक्यो भने समाज उत्तम हुने बताइन् ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले यो चलचित्र मात्र नभई क्रान्ति भएको प्रतिक्रिया दिइन् । "यस्तो प्रकारको विषयवस्तु उठाउनलाई ठूलै मुटु चाहिन्छ । सरोज खनाल जस्तो अभिनेता हुनुहुन्छ, त्यस्तै अब्बल निर्देशन गर्नुभएको छ", निरौलाले बताईन् । उनले अभिनेत्री मानन्धरले आफुलाई अब्बल नै हुँ भनेर प्रमाणित गरेको जनाईन् । उनले 'बगान'का प्रत्येक संवादका शब्द शब्दले मुटु छोएको बताइन् ।

अभिनेता रमेश उप्रेतीले कम रुने आफुलाइ यो चलचित्रले रुवाएको बताए । 'म पुरुष हुँ, कम रुन्छु । म यत्तिकै पक्कै रोईन होला । 'बगान' हेर्दा तपाईंको आँखामा आँशु आएन भने मेरो नाम रमेश उप्रेती नै होइन', उनले प्रतिक्रिया दिए । उनले कथा, निर्देशन र सबैको अभिनय पक्षको प्रशंसा गरे । 'सरोज खनाल जस्तो राम्रो कलाकार हो, उस्तै राम्रो चलचित्र बनाउनु भएको छ । सबै कलाकारले अब्बल काम गरेका छन् । यो चलचित्रले नेपाली समाजलाई परिवर्तनको बाटो देखाउने छ । हामी सबैले खुशी भएर बाँच्न पाउनुपर्छ भन्ने धारणा सहित यो चलचित्र बनेको छ । समाजमा पुरुषको साथबीना परिवर्तन सम्भव छैन, चलचित्रमा त्यो साथ देखाईएको छ', उप्रेतीले भने ।

गायिकाद्वय देविका बन्दना र सुनिता दुलालले निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर, नवनायिका कार्कीसहित सबै कलाकारको खुलेर तारिफ गरे । उनीहरुले समाजमा एकल आमाले बाँच्न पाउने अधिकार भएको तर निकै चुनौती रहेको बताउँदै चलचित्रले त्यसलाई उजागर गरेकोमा प्रसन्न देखिए । पत्रकार बबिता बस्नेतले नेपाली चलचित्रको क्षेत्रमा 'बगान'ले फरक धार स्थापित गरेको बताइन् । कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठले एकल आमाले कति चाहनाहरुलाई हत्या गर्दै जीवन चलाइरहेको हुन्छ, त्यस्तो होइन हरेक महिलाले खुसी हुन पाउनु पर्छ भन्ने भावना बोकेको जनाइन् ।

निर्देशकद्वय ज्ञानेन्द्र देउजा र नरेश पौडेलले यो चलचित्रले गहन विषयको उठान गरेको बताए । समाजलाई नयाँ मोड दिन सक्ने यो चलचित्रलाई राज्यले पनि साथ दिनुपर्ने बताउँदै पुरुष निर्देशकले महिलाको कथालाई समाज परिवर्तन हुनुपर्‍यो भन्ने उद्देश्यसहित बनाएकोमा निकै खुशी लागेको उनीहरुले बताए । निर्देशक शोभित बस्नेतले यो चलचित्र पूर्ण पारिवारिक रहेको बताउँदै करिश्मा मानन्धर सुन्दरी नायिका मात्र नभएर पक्का कलाकार पनि हो भन्ने प्रमाणित भएको बताए ।

अभिनेता कृष्ण मल्लले 'बगान'ले हाम्रो समाजमा परिवर्तनको लहर दिन सफल भएको बताउँदै चलचित्रको सबै पक्षको प्रशंसा गरे । अभिनेता तथा निर्माता अशोक शर्माले विषयवस्तु अत्यन्त मजबुत रहेको प्रतिक्रिया दिँदै दर्शकले हेरेर सार्थक बनाउनुपर्ने जिकिर गरे । 


अभिनेत्री मानन्धरले पहिलोपटक पूरा चलचित्र हेरेपछि आत्मसन्तुष्टि मिलेको बताइन् । उनले भनिन्, 'एक कलाकारलाई आफ्नो काम मन पर्दैन, तर 'बगान' हेर्दा म सन्तुष्ट भएँ ।' निर्देशक तथा अभिनेता सरोज खनालले चलचित्र हेरेर प्रतिक्रिया दिने सबैलाई धन्यवाद दिँदै अब दर्शकको हातमा चलचित्र जिम्मा लगाएको बताए । अभिनेत्री प्रमिला कार्कीले आफूले आफुलाई पर्दामा दर्शकसँग बसेर हेर्नु निकै गाह्रो रहेको महसुस गरेको बताइन् । कार्कीले भनिन्, 'प्रिमियरमा प्राप्त प्रतिक्रियाबाट म नयाँ आउँदै गरेको कलाकारको हिसाबले उर्जा प्राप्त भएको छ ।' निर्माता तथा गीतकार सुरेश वाग्लेले दर्शकलाई चलचित्र कस्तो लाग्छ त्यो प्रमुख रहेको बताउँदै आफूले यस चलचित्रमा राम्रो गीत लेखेछु जस्तो पनि लागेको बताए ।

यो चलचित्रले देशभरनै एकल आमाहरूलाई निशुल्क चलचित्र देखाउने घोषणा गरिसकेको छ । यसको लागि चलचित्र हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ ।

यस चलचित्रमा खनाल, मानन्धर, कार्कीसँगै, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् । नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने  कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । 'बगान'को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।


Author

थप समाचार
x