सिनेमा

१५ वर्षपछि चिम्पान्जीलाई लिएर ‘पापी मान्छे ३’

इकागज |
असार २८, २०८० बिहीबार १२:२२ बजे

काठमाडौँ - ‘पापी मान्छे २’ प्रदर्शन भएको १५ वर्षपछि यसको तेस्रो शृंखला बन्ने भएको छ । यो शृंखलाको निर्देशन निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले गर्नेछन् । उनले बुधबार जन्मदिनको अवसर पारेर फिल्मको रफ पोस्टर सार्वजनिक गर्दै फिल्म बन्न लागेको जानकारी दिएका हुन् ।

पोस्टरमा चिम्पान्जीलाई प्राथमिकता दिइएको छ । निर्देशक पराजुलीले ‘पापी मान्छे’का दुवै शृंखलामा जनावरको महत्वपूर्ण भूमिका रहेकाले तेस्रोमा पनि निरन्तरता पाउने बताए । यही अनुरुप चिम्पान्जीलाई महत्वपूर्ण भूमिकामा खेलाउन लागेको उनको भनाइ छ ।


‘यसअघिका दुवै शृंखलामा कुकुर र बाँदरको भूमिका थियो । यसमा चिम्पान्जी हाम्रो महत्वपूर्ण चरित्रको रुपमा रहनेछ,’ उनले भने । जनकले चिम्पान्जी निर्माणका लागि भारत तथा क्यानडाका प्राविधिकसम्म पनि कुरा भइरहेको जानकारी गराए ।

चलचित्रको अहिले स्क्रिप्ट लेखनको काम भइरहेको छ । स्क्रिप्टपछि कलाकार छनौटको काम अघि बढ्ने जनकले बताएका छन् । फिल्मलाई आरसी पिक्चर्सका लागि राजकुमार राईले निर्माण गर्न लागेका हुन् । उनले यसअघि ‘संगम’, ‘त्रिवेणी’, ‘प्रोड्युसर’, ‘वन वे’ आदि फिल्म निर्माण गरेका छन् । 
 


Author

थप समाचार
x