सारुकले न्याय पाउनु पर्ने भन्दै रोइन् सृष्टि श्रेष्ठ
काठमाडौँ - दिवंगत अभिनेता सारुक ताम्राकारलाई ट्रिब्युट गर्ने भन्दै चलचित्र ‘ह्यास ट्याग माया’ मायाको टिमले बनाएको म्युजिक भिडियो सार्वजनिक कार्यक्रम अश्रुपूर्ण बन्यो । मञ्चमा बसेका अभिनेत्री सृष्टि श्रेष्ठ र सारुक ताम्राकारकी आमा रुकमणि ताम्राकारले साथी र छोरालाई सम्झने क्रममा भक्कानिए पछि कार्यक्रममा उपस्थित धेरैका आँखा ओभाना रहेनन् ।
सारुकले ‘ह्यास ट्याग माया’का लागि भन्दै तीन वर्षदेखि मेहनत गरिरहेका थिए । तर सुटिङको क्रममा नै गत असार २१ गते उनले आत्महत्या गरे । एक चौथाइ मात्र सकिएको फिल्मको काम अलपत्र पर्यो । तर फिल्मका निर्देशक राजीव गुरुङले सारुकको अन्तिम काम कुनै न कुनै रुपमा आउनुपर्छ भनेर फिल्मका लागि खिच्न ठिक्क परेको गीतलाई सारुकको फुटेज राखेर म्युजिक भिडियोको रुपमा सार्वजनिक गर्ने निर्णय गरे । बिहीबार यही गीतको भिडियो सार्वजनिक कार्यक्रम राखिएको थियो, मञ्चमा थिइन्, सृष्टि । सारुकसँगै थिएटर कक्षा लिएकी सृष्टि सारुकलाई सम्झने क्रममा आँशु रोक्न सकिनन् । उनले सारुक यो दुनियाँमा छैन भन्ने कुरा पत्याउन गाह्रो भइरहेको बताउँदै उनको मृत्युको सत्यतथ्य भने बाहिर आउनुपर्ने माग गरिन् ।
‘मलाई नेपाल प्रहरीमाथि विश्वास छ । भगवानमाथि पनि विश्वास छ । म सारुकले न्याय पाउनुपर्छ भन्ने कुरामा कटिवद्ध छु । कहिले न कहिले पाइन्छ भन्ने कुरामा पनि आशावादी छु,’ उनको भनाइ थियो । सृष्टि सारुक साथीहरूमध्ये सबैभन्दा बलियो मन भएको मान्छे भएको र अरुलाई गाह्रो साह्रो पर्दा उसैले सम्हाल्ने गरेको स्मरण गर्दै सानो चोटले उसले यस्तो कदम लिन नसक्ने जिकिर गरिन् ।
‘सारुकको बाबा जादुगर हुनुहुन्थ्यो । सारुक पनि हाम्रा लागि उस्तै जादुगर थियो । सबै साथीभाइलाई हौसला दिने र एकदमै सकारात्मक सोचको मान्छे थियो,’उनले भनिन्, ‘हामीलाई अहिले ऊ नभएको कुरा पत्याउन गाह्रो छ । तर पनि उसलाई अन्तिम समयमा के भएको थियो, हामी सबै जान्न चाहान्छौँ । प्रहरीले राम्ररी अनुसन्धान गरोस् ।’
कार्यक्रममा बोल्दै सारुककी आमाले पनि छोरा तीन वर्षदेखि फिल्म भन्दै हिडेको र राम्रै भइरहेको होला भन्ने सोचिरहेको समयमा उल्टै छोरा गुमाउनु पर्दा भाव विह्वल बनेको बताइन् । बोल्दा बोल्दै भक्कानिएकी उनले छोराका अन्तिम काम सबैलाई हेरिदिन आग्रह गरिन् ।यसअघि बोल्दै निर्देशक राजीव गुरुङले सारुकले तीन वर्षदेखि के काम गरिरहेको थियो भन्ने देखाउनलाई म्युजिक भिडियो सार्वजनिक गरेको बताए ।
‘मैले यही फिल्म बनाउने सिलसिलामा उसलाई भेटेको हो । उसको पूरा काम त हेर्न पाइएन तर कमसेकम तीन वर्षमा उसले कसरी काम गरिरहेको थियो भने शुभचिन्तकसँग बाँड्न हामीले म्युजिक भिडियो बनाएका हौँ । यो गीत सारुकको सबैभन्दा मनपर्ने गीत पनि थियो,’ उनले भने ।
यसरी गरी कार्यक्रममा बोल्दै कलाकार संघका अध्यक्ष मोहन निरौलाले प्रहरीले अनुसन्धानलाई चाँडो निष्कर्षमा पुर्याएर सत्यतथ्य बाहिर ल्याउन अनुरोध गरे ।
‘भवितव्य त भइहाल्यो । तर यो क्रममा धेरै मान्छेको भूमिकालाई लिएर प्रश्न उठेका छन् । तिनको सत्यतथ्य अनुसन्धान हुन पर्यो भन्ने कलाकार संघको जोडदार माग रहेको छ,’ निरौलाले भने ।
बिहीबार सार्वजनिक ‘माया’बोलको गीतमा एसडी योगीको स्वर–संगीत र राम अविरलको शब्द रहेको छ । भिडियोमा सारुक ताम्राकारबाहेक निकिता आचार्य, महेश मगर र सागर परियारको पनि अभिनय रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया