अभिनय गर्दा आँखामा आँशु हैन, पीडा देखिनु पर्छ
(२१ औं शताब्दीमा रिलः नेपाली सिनेमाको विकास' विषयमा काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो दिन अभिनेत्री मनिषा कोइरालाले राखेको मन्तव्यको सम्पादित अंश। आइतबारदेखि ललितपुरको हिमालय होटलमा जारी महोत्सव सोमबारसम्म चल्नेछ।)
00000
मैले पहिलेदेखि नै भन्दै आइरहेको छु, आफ्नो वरपर भएको कथा होस् या सिनेमा, त्यो आफूसँग सम्बिन्धत हुनुपर्छ। कुनै पनि सिनेमाको कथा आफ्नो माटोसँग मिल्यो भने त्यहाँ आफ्नोपन आउँछ। दुःखसुख, मूल्यमान्यता, सोच, विचार लगायत पक्षमा सिनेमाले पनि हाम्रो जीवनमा केही योगदान दिन सक्छ, बाटो देखाउन सक्छ। सक्नुपर्छ जस्तो लाग्छ।
अहिले म नेटफिल्क्सको एउटा वेबसिरिज गर्दैछु। ओटीटीबाट प्रसारण हुने भएकाले यो कुनै निश्चित ठाउँको भएन, विश्वभरको हुन्छ। तर पनि ओटीटीका संञ्चालकहरु जुन देशको कथा हो, त्यहाँको माटोसँग जोडिनुपर्छ भन्छन्। अन्तर्राष्ट्रिय स्तरमा यदि नेपालको कथा भनेको हो भने यहाँकोे संस्कृति कस्तो छ, जीवन कस्तो छ भनेर हेर्न चाहन्छन्। त्यसैले जुनसुकै देशले पनि उसको देशको माटो सुहाउँदो फिल्म बनाउन जरुरी छ।
जब म बलिउडको सिने उद्योगसँग जोडिएँ, त्यो नब्बेको दशकको नजिकको समय थियो। अहिलेसम्मको ३० वर्षे अनुभवमा धेरै परिवर्तन आएका छन्, विकास भएका छन्। त्यो समयमा धेरै मेलो ड्रामाका फिल्महरु बन्थे। पुराना फोटोहरु हेर्दा त्यो समयको ड्रेसिङ सेन्स देखेर मलाई अहिले हाँसो लाग्छ। अहिले धेरै कुराहरु विकास भइसकेका छन्।
अहिले सिनेमामा वास्तविकता चित्रण गर्ने अभ्यास धेरै बढेको छ। विश्वभर नै वास्तविक विषयमा बनेका सिनेमाहरु मन पराउँछन्। प्रस्तुतीकरण जति वास्तविक भयो त्यति मन पराउँछन्।
जब मैले सिनेमा सुरु गरेकी थिएँ, मेलोड्रामा धेरै चाहिन्थ्यो। रुँदा पनि एकदमै धेरै आँशु निकाल्नुपर्ने, अनुहार बिगार्नुपर्ने। जति धेरै चिच्यायो, त्यति धेरै वाउ, कति राम्रो अभिनय गरेको भन्ने हुन्थ्यो। तर अहिले त्यस्तो छैन। अभिनयहरु जति धेरै वास्तविक हुन सक्यो त्यति राम्रो मानिन थालेका छन्। अहिले अभिनय गर्दा आँखामा आँशु जरुरी छैन, आँखामा पीडा देखिनु पर्यो।
सिनेमा अहिले ग्लोबल भिलेजजस्तो बनेको छ। सबै सिनेमा मोबाइलमा, इन्टरनेटको पहुँचमा पुगेका छन्। त्यसैले नेपाली सिनेमा पनि विश्वभरका मानिसलाई नै लक्षित गरेर बनाइनु पर्छ।
गुणस्तरीय सोच, गुणस्तरीय मूल्यलगायत कसरी गुणस्तरीय तरिकाले सिनेमाको माध्यमबाट कथा भन्ने विषयहरु एकदमै महत्वपूर्ण छ। अझै यसमा ठूलो हृदय भएको कथा भइदियो भने कति राम्रो। त्यसैले सिनेमा विकास भइरहेको छ, राम्रो भइरहेको छ।
अहिले ५० कटेका कलाकारहरुले पनि मुख्य भूमिकामा प्रशस्तै काम पाएका छन्। पहिले त्यस्तो हुँदैनथ्यो। उमेर बढ्दै गएपछि आमाको भूमिका या अन्य सहायक भूमिकामा मात्रै कलाकारहरु अटाउँथे।
अब कुरा गरौं दुःखको ।
दुःख चारैतिर हुन्छ, आआफ्नो हुन्छ। दुःख आएपछि त्यसको समाधानतिर पनि मानिसहरु जानुपर्छ। आर्ट हाउस सिनेमाले जहिले पनि संघर्ष गरिरहेको हुन्छ। अहिले ओटीटी प्ल्याटफर्म आएपछि भने आर्ट हाउस सिनेमाहरुले नैतिक प्रोत्साहन पाएका छन्। किनभने उनीहरुले ओटीटीबाट पैसा कमाइरहेका छन्।
अर्को भनेको, नेपाल होस् या भारत, सबै देशले आफ्नो देशमा विभिन्न समस्या भोगिरहेका हुन्छन्। भारतमा पनि पहिले सिनेमा बनाउन क्रृण दिइँदैनथ्यो। पछि सुष्मा स्वराज विदेश मन्त्री भएपछि यो कुरा पहिचान गरेर ऋण दिन सुरु गरिएको हो। त्यसैले समस्या थाहा भइसकेपछि समाधान गर्ने जिम्मा युवा पुस्तालाई जान्छ।
अहिले युग ओटीटी प्लेटफर्ममा गएको छ। मैले सिंगल थियटर, मल्टिप्लेक्स हुँदै अहिले ओटीटीमा काम गरिरहेकी छु। सिनेमा हल र ओटीटी म दुवैमा रमाउँछु। यो र त्यो भन्ने नै हुँदैन। सबै क्षेत्रलाई स्थान दिनुपर्छ। मलाई सिनेमा घरमा गएर पनि सिनेमा हेर्न मन लाग्छ, घर बसेर ओटीटी प्ल्याटफर्ममा पनि हेर्न मन लाग्छ। आफूले रोजेको, खोजेको हेर्न मन लाग्छ। तर सिनेमा हलमा बसेर फिल्म हेर्दा मलाई अझै रमाइलो लाग्छ।
आउने दिनमा ओटीटीले धेरै ठाउँ लिन्छ जस्तो मलाई लाग्छ। किनभने ओटीटी प्लाटफर्मले कन्टेन्टमा लगानी गरिरहेको छ। एपहरु पनि धेरै बनिरहेका छन्। धेरै पैसा लगानी भएको छ। धेरै कलाकार, निर्देशकलगायतले काम पाएको पायै छन्। प्रविधिमा अपग्रडे भएकै राम्रो हो। अन्त्यमा, राम्रो स्टोरी, राम्रो स्क्रिप्ट भए म नेपाली सिनेमामा काम गर्न चाहन्छु। मलाई नेपाली सिनेमामा काम गर्ने तीव्र इच्छा छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया