सबैभन्दा कम समयमा खिचेको ‘श्री’ मा वर्षा र सन्दिपको जोडी
काठमाडौंः वर्षा सिवाकोटी, सन्दिप क्षेत्री, बुद्धि तामाङ आदि कलाकारको अभिनय रहेको ‘श्री’को फस्ट लुक सार्वजनिक गरिएको छ । फिल्मको निर्देशन सूर्य बोहराले गरेका हुन् । बोहराकै जन्मदिन पारेर बिहीबार फिल्मको पोस्टर सार्वजनिक भएको हो ।
फिल्मको सुटिङ ७२ घन्टामा सकिएको हो । निर्माण टिमले चलचित्रको इतिहासमै सबैभन्दा कम समयमा फिल्म खिचेको दाबी गरेको छ । ‘क्यामेरा रोल भएको ७२ घन्टामा फिल्मको सुटिङ सकिएको हो । एउटै लोकेसनमा भएकाले यो सम्भव भएको हो,’ बोहराले भनेका छन् ।
सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ एउटै लोकेसनमा सुटिङ गरेर तयार पारिएको फिल्ममा सन्दिप क्षेत्री, वर्षा सिवाकोटी, बुद्धि तामाङका अलावा राजाराम पौडेल, बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् । सूर्य बोहरासमेत निर्माता रहेको फिल्मलाई श्री पराजुली, सविता गुरुङ हयम बराल, सूर्य सिम्खडा (साइराम), बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम मिलेर निर्माण गरेका हुन् ।
‘विषम परिस्थितिमा पनि नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने हेतुले फिल्म बनाएका हौं । फिल्ममा लकडाउनका कारण एकैठाउँमा जम्मा हुनबाध्य चरित्रको कथालाई प्रस्तुत गरिएको छ ’ निर्देशक बोहराले भने ।
‘कोभिड–१९ को मारमा परेका कलाकर्मी तथा प्राविधिकलाई केही राहत होस् भनेर निषेधाज्ञाकै क्रममा यो फिल्म तयार पारिएको पनि बोहराले जानकारी गराएका छन् । ‘कम समय र लगानीमा निर्माण गरिएको भए तापनि वर्तमान परिस्थिति, बाध्यता र मानसिकतालाई यो फिल्ममा प्रस्तुत गरिएको छ ।’ निर्देशक बोहराको भनाइ छ । निर्देशक बोहरा र शिवम अधिकारीले लेखेको चलचित्रलाई शेरबहादुर तामाङले खिचेका हुन् । फिल्ममा सुजन बडालको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत र निरज केसीको साउन्ड मिक्सिङ छ । झण्डै दुई घण्टा लामो ‘श्री’ हल खुल्नासाथ दर्शकमाझ ल्याउने निर्माण टिमको योजना रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया